चार छोटा कविता



अन्तर
उसले हाँसेर हेरिरहँदा
म रोइरहेको थिएँ
ऊ उठेर भनिरहँदा
म ढलिरहेको थिएँ
म घायल थिएँ
किनकि घाइते मुटु अत्यधिक दुख्छ !
(२०६१)

चुलेसी
जति टल्काउन खोज्यो
उति टल्किन्छ – चहकिलो भएर
जति धार लगायो
उति धारिन्छ – धारिलो बनेर
चुलेसी
तर, साहिँला याद राख !
चुलेसीले तिमी आफैंलाई पनि काट्छ !
(२०६०)

निर्णय
प्रत्येक दिन आरुका फूलहरू फुल्छन्
तर, हराउँछन्
सिमल भुवाहरू माथिमाथि आकाशमा उड्छन्
तर, निस्सासिन्छन्
र त साँहिला
तिमी झुलो, चकमक ठीक गर
म दलसिङ ढुंगा खोजेर ल्याउँछु
मायाको यो पाठा हुर्काउन
राँको त चाहिने नै भयो नि ।

आँट
सडकमा लम्पसार यात्रुलाई
उठाएर पन्छाउने कुरा कसैले गरेनन्
त्यहाँ रमितेहरू जम्मा भएर हेरिरहँदा
एउटा ‘आँट’ आयो
र, कुदायो पजेरो छाती माथिबाट
उसबेला कसैले श्रद्धाका गीतहरू गाएनन्
बरु सन्तोषको श्वास फेरे–
‘बल्ल बाटो खुल्यो’

–खोटाङ

(कवि लेखन र शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्