‘लिब्जु–भुम्जु पुरस्कार’ जिज्ञासुलाई



काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७६ को ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि उदय जिज्ञासु राईलाई प्रदान गर्ने निर्णय गरेको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले कवि जिज्ञासुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिँदै आएको छ ।

संवत् २०५० देखि प्रकाशित ‘लिब्जु–भुम्जु’ त्रैमासिक (इक लिब्जु–भुम्जु) वर्ष ६, अंक ४ र ५ संयुक्त पूर्णांक ७७, २०७६ वैशाख–असोजमा प्रकाशित ‘थाच्चुमस्याङ पाङ्तिम’ (अस्तिझैं लाग्छ) शीर्षक कविता छनोट भएको हो । कवितामा किराती वाम्बुले राई जातिको मुन्दुम परम्परा खाउमो पितृकार्यमा भेटिएका एक तन्नेरी पुरुषले र एक तरुनी नारीको स्वभावलाई पे्रमिल भावको चर्चा रहेको छ ।

ग्रामीण जीवनमा हुर्केकी एक नारीको सुकोमल हृदय अनि उसको सहनशील स्वभाव, समाजप्रतिको समर्पण कवितामा अभिव्यक्त गरिएको छ । सृष्टिको मूल मानिने नारीको सौन्दर्यप्रति आकर्षित हुनेले गर्ने अपेक्षा सुललित ढंगले बयान गरिएको छ । पुरस्कृत कविताले वाम्बुले सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्य–मान्यता, चालचलन प्रतिनिधित्व गरेको पाइन्छ ।

मानेभन्ज्याङ गाउँपालिका–५ उदयपुर ओखलढुंगावासी जिज्ञासु वाम्बुले साहित्यका अभियन्ता हुन् । उनको रचना ‘वाम्बुले राडुयोरल्वाम कवितातिड्’ (वाम्बुले राई भाषाका कविताहरू, २०६५) संयुक्त संग्रहमा प्रकाशित छ । उनले वाम्बुले मातृभाषा र खस–नेपाली भाषाका कविता, गीत, निबन्ध विधामा कलम चलाउँदै आएका छन् ।

नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पा राईले ‘लिब्जु–भुम्जु’ पत्रिकाको नाममा २०५५ मा पुरस्कार स्थापना गरेका हुन् । क्याम्पा राईले आफ्नो सिर्जना गीत, साहित्यबाट हात पारेका पारिश्रमिक तथा पुरस्कारबाट ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरिँदै आएको हो ।

पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ । उक्त पुरस्कार २०७७ मंसिर २० गते हुने ‘२२औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ समारोहमा प्रदान गरिने छ ।

यस पुरस्कारबाट अहिलेसम्म १८ जना कवि पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्