भीसी विजेता पुनका नाममा बेलायतमा रेलसेवा



लन्डन । बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेल्वेले भिक्टोरिया क्रस प्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ ।

दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको अवसरमा स्वर्गीय भीसी पुनको सम्मानस्वरूप नाम उल्लेख गर्ने रेलसेवाले जानकारी दिएको छ ।

दोस्रो विश्वयुद्धमा बहादुरी देखाएका पुनले भीसी पाउँदा २१ वर्षका थिए । उक्त रेलसेवाका सञ्चार शाखाका अधिकृत डान पान्सले यसअघि अन्य व्यक्तिलाई सम्मान गरिसकेकाले यसपटक तुलबहादुर पुनलाई सम्मान गर्ने जानकारी गराए । उनले पुनलाई सम्मान गर्न पाउँदा हर्षित भएको सुनाए ।

गोर्खा वेलफेयर ट्रस्टका एडम वेन्थमले गोरखा सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । वेन्थमले बर्मामा मात्रै सातवटा भीसी प्राप्त भएको भन्दै भीसी पाउनेमा तुलबहादुर पुन पनि एक रहेको स्मरण गरे । उनले भने, ‘हाम्रो देशले गोरखाको धेरै ऋण तिर्न बाँकी छ । यो सम्मानलाई सच्चा सम्मानका रूपमा लिएका छौं ।’

गोरखाको मागलाई बेलायत सरकारसामु राखी त्यसलाई निरन्तर दवाब दिने ट्रस्ट संरक्षक जोअना लुम्लेले आफ्ना बुवासँग बर्मामा एकसाथ लडेका भीसी तुलबहादुर पुन र लछिमन गुरुङसगँको भेट कहिल्यै भुल्न नसक्ने र स्वतन्त्रताका लागि आफ्नो जागिरभन्दा माथि उठेर गरेको योगदानप्रति बेलायती ऋणी रहेको बताइन् ।

जीवनको पछिल्लो समय भीसी पुनले भूपू गोरखा परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपङ्तिमा रहेर काम गरेका थिए । पुनको जन्म १९२३ मार्च २३ मा म्याग्दी जिल्लामा भएको थियो । २०११ अप्रिल २० पर्वतमा उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्