सानो छँदै राजनीतिप्रति गहिरो चासो । त्यही चासोले साबिक सुरी गाउँ विकास समितिमा रहेको हलेश्वर माध्यमिक विद्यालयको अखिल क्रान्तिकारी कक्षा इकाइ कमिटीमा आबद्ध । १० कक्षाको टेस्ट परीक्षा दिने समयमा सशस्त्र जनयुद्धमा सामेल । पार्टीमा ‘होलटाइमर’ भएपछि पार्टी एसीएमको जिम्मेवारी । संवत् २०५७ बाट डीसीएम । ०५८ मा अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला सचिव हुँदै केन्द्रीय समिति सदस्य । उता, नेवाः राष्ट्रिय मुक्ति मोर्चाको समेत केन्द्रीय सदस्यसहितको तेहोरो जिम्मेवारी । युद्धकालीन समयको भूमिगत काम । भूमिगत भएर संगठन निर्माण गर्न त्यत्तिकै कठिनाइ ।
‘संवत् ०६१ सम्म जनसंगठन अर्थात् राजनीतिक क्षेत्रमा भूमिका निर्वाह गरेपछि पार्टीले जनसेनामा पठायो,’ अन्तरिम व्यवस्थापिका संसद् सदस्य भगवती प्रधान ‘प्रतिमा’ले सुनाइन्, ‘म जनमुक्ति सेनाको तेस्रो डिभिजन बेथान स्मृति ब्रिगेड ‘बी’ कम्पनीको सहकमिसारको भूमिकासहित सैन्यफाँट पुगें । केही समयपछि कम्पनी कमिसारको भूमिका पाएँ ।’
‘विश्व सैन्य इतिहासमा महिलाको उपस्थिति कमै देखिन्छ,’ प्रधानले गर्व गरिन्, ‘जनयुद्धका कारण आफूले साहसिक नेतृत्व गर्न पाएको महिला सिपाही हुँ भनेर गौरवान्वित थिएँ । जनसेनाको भूमिका निर्वाह गर्दा थुप्रै पटक मृत्युको नजिक–नजिक पुगेकी थिएँ ।’ उनले पहिलोपटक दोलखाको किरातीछाप इलाका प्रहरी कार्यालय र दोस्रोपटक सिन्धुपाल्चोकको ठोकर्पामा एसल्ट सदस्य भएर युद्ध लडिन् । ठोकर्पा युद्धमा जनसेनाले पूर्वमै पहिलोपटक सबैभन्दा धेरै हतियार कब्जा गरेका थिए ।
दोलखाकै मैनापोखरीमा ‘स्ट्र्याकिङ बेस वार’ भएको थियोे । त्यहाँ रेड स्टप ग्रुपमा सहभागी भएर लडिन् । दोलखा सदरमुकाम चरीकोटमा ‘रिजर्भ फोर्स’को कमान्डमात्रै गरिनन्, ‘मिनी रेड’ हमला गरेर जेल कब्जा गरी माओवादी आस्थाका सात बन्दीसहित ७० जना बन्दीलाई जेलमुक्त गरेको उनलाई हिजैजस्तो लाग्छ । ‘जनमुक्ति सेनाको कम्पनी सहकमिसार भएर तात्कालिक शाही सेनाको कमान्डो फोर्ससँग मकवानपुरको झुरझुरेमा लडें,’ उनले दुःख व्यक्त गरिन्, ‘त्यहाँ दुवैतर्फ ठूलो क्षति भयो ।’
संवत् ०६२ माघ २४ । काभ्रेको पनौतीमा तात्कालिक शाही सेनासँग रातभरि दोहोरो भिडन्त भयो । ‘दुस्मनको ढाडमा टेकेर टाउकोमा हान्ने’ योजनाअन्तर्गत उपत्यकाकेन्द्रित भएर राजधानी (टाउको)मा प्रहार गर्ने शक्ति (जनसेनाको पंक्ति)ले पनौती ब्यारेक आक्रमण गर्यो । त्यो फौजी आक्रमणको जिम्मा तेस्रो डिभिजनले पाएको थियोे । जसको कमान्ड कालीबहादुर खाम ‘विविध’ले गरेका थिए । ०६२ को पुछारबाट थालिएको शान्तिपूर्ण राजनीतिक आन्दोलनको सहयोगार्थ दुस्मनलाई बाहिर निस्कन नदिन धुलिखेलसम्म ‘ब्लकिङ’को काममा खटेको उनले सुनाइन् । यसको मतलब जनसेनाले राजधानी घेराउको कामसमेत गरेको थियोे ।
बेथान स्मृति ब्रिगेडले काभ्रे भञ्ज्याङमा आक्रमण गर्यो । त्यसपछि काभ्रेकै दारेगौंडामा भीषण भीडन्त भयो । सो भीडन्तमा जनसेनाले तात्कालिक शाही सेनाका मेजरले बोक्ने अत्याधुनिक (जी–थर्टी सिक्स)सहित दर्जनौं आधुनिक हातहतियार कब्जा गर्यो । दुई मोर्चामा प्राप्त उपलब्धि सार्वजनिक गर्न ०६२ चैत १४ गते ठोकर्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारकर्मीको उपस्थितिमा पार्टीले भव्य खुला कार्यक्रम गरी विजयोत्सव मनायो । ‘विजयोत्सव मनाउने सूचना पाएपछि तात्कालिक शाही सेनाले ६ वटा हेलिकोप्टरमार्फत हवाई आक्रमण गर्यो । दिउँसोको १ बजेदेखि साँझसम्मै हवाई आक्रमण गरिरह्यो,’ उनले प्रस्ट्याइन्, ‘जनमुक्ति सेनाले राजधानीनजिकको सबैभन्दा ठूलो हवाई हमलाको प्रतिरोध ठोकर्पामा गरेको थियो । हवाई आक्रमणमा एट्टी वानको छर्राले मेरो दाहिने खुट्टा भाँचिदियो ।’ सिन्धुपाल्चोकबाट नजिक भए पनि उनको उपचार काठमाडौंमा सम्भव थिएन । उनलाई स्ट्रेचरमा बोकेरै साथीहरूले वीरगन्ज पुर्याए । दाहिने खुट्टामा स्टील हालियो ।
जनसेना शिविरमा गयो । क्यान्टोनमेन्टमा जाँदा उनी तेस्रो डिभिजनको बेथान स्मृति ब्रिगेड १४औं बटालियन सहकमान्डरको भूमिकामा बढुवा भइन् । चितवनको शक्तिखोर शिविरमा तीन महिना बसेर अन्तरिम व्यवस्थापिका संसद् सदस्यको भूमिका पूरा गर्न पुनः राजनीतिक क्षेत्रमै फर्किइन् । अन्तरिम व्यवस्थापिका संसद् सदस्यको जिम्मेवारी थपियो ।
सिन्धुपाल्चोक पार्टी जिम्मेवारीमा सात वर्ष काम गरिन् । ०७० मा पुनः दोलाखा पुगिन् । ०६४ को संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट समानुपातिक सभासद्मा सिफारिस भए पनि अर्को पार्टीसँग एकता गर्नुपर्ने भएकाले आफूले पाएको सिफारिस अरूलाई दिन अप्ठ्यारो मानिनन् ।
पार्टीको विराटनगर महाधिवेशनमा दोलखाबाट प्रतिनिधित्व गरेकी भगवती प्रधान ‘प्रतिमा’ ०७० पछि आस्था र विचारबाहेक सक्रिय राजनीतिबाट टाढिइन् । लगत्तै बेपत्ता परिवारका सदस्य टीका बास्तोला ‘रेखा’सँग कम्युन अभ्यासमा कृषि उद्यममा लागिन् । आफन्तको सात नानीबाबुको अभिभावक बनेर ललितपुरको धापाखेलमा ६ रोपनी जग्गामा तरकारी तथा पुष्प खेती गरिरहेकी छन् ।
०५६ साउन १७ गते गौरीशंकर गाउँपालिका–६, जयन्तीपुर, दोलखाबाट माओवादीको पूर्णकालीन बनेकी प्रतिमाले त्यसको सवा दुई वर्षपछि सिन्धुपाल्चोकका कमलप्रसाद शर्मा ‘दिनेश’सँग ०५८ कात्तिकमा घ्याङसुका ठोकरकुनीमा जनसेनाको राजनीनिक प्रशिक्षण कार्यक्रममा जनवादी बिहे गरिन् । त्यसको चार वर्ष अर्थात् ०६२ वैशाख २६ को तात्कालिक शाही सेनाको सिरहा–बन्दीपुर ब्यारेक आक्रमणमा दिनेशले शहादत प्राप्त गरे । जनमुक्ति सेना बेथान स्मृति ब्रिगेड १३औं बटालियन कमिसारको बटालियन ‘होल कमान्ड’ गर्दागर्दै उनलाई दुस्मनको गोली लागेको थियोे । जनयुद्धमा प्रतिमाले श्रीमान् गुमाइन् । श्रीमान् गुमाएपछिका असहज परिस्थिति खनिखोस्री साध्य छैन । ‘तर पनि हार खाएकी छैन,’ उनले पुछारमा भनिन्, ‘जीवन संघर्ष हो । संघर्ष नै जीवन हो ।’
खिलबहादुर श्रेष्ठ र जनकुमारी श्रेष्ठको एकमात्र छोरीका रूपमा ०३४ पुस १ मा भगवती प्रधान ‘प्रतिमा’को जन्म भएको थियो । तीन दाजुका धनी प्रतिमाको कान्छी आमा आइतीमाया श्रेष्ठपट्टिका एक भाइ पनि छन् ।