पाल्पा । गाउँघरमा दसैं–तिहारजस्ता पर्वमा परम्परादेखि नै चलनचल्तीमा आएको चर्खेपिङ लोप हुँदै गएको छ । गाउँमा दसैं सुरु हुनु महिना अघिदेखि चर्खेपिङ बनाउनेको निकै उत्साह हुन्थ्यो । अहिले भने परम्परागत चर्खेपिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको हो ।
झन्डै दुई दशकअघि गाउँ–गाउँमा अनिवार्यजसो चर्खेपिङ बनाइने गरे पनि अहिले पिङको नाम मात्र लिनुपरेको पूर्वीपाल्पाका बूढापाकाहरू बताउँछन् । चारदेखि आठजनासम्म बस्न मिल्नेखालको काठैकाठले बनेको यो पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको रामपुरका मित्रलाल ढकाल बताउँछन् । ढकाल आफूले जानेबुझेदेखि नै गाउँका साथीभाइ जम्मा भएर जंगलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतै पनि देख्न नपाएकोमा गुनासो गर्छन् ।
चर्खेपिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले लोप हुँदै गएको हो । एकपटकमा धेरैजनासम्म खेल्न सकिने यो पिङको छुट्टै विशेषता रहेको रामबहादुर सोमैको भनाइ छ । पहिले चर्खेपिङ नराखेसम्म गाउँघरमा दसैंको रौनक नै नहुने सोमै बताउँछन् ।
कतिपय स्थानमा भने काठ अभावमा चर्खेपिङ राख्न छाडिएको स्थानीयको ठम्यााइ छ । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खेपिङ राख्न छाडेको उनीहरूले बताए ।
पूर्वीपाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ, गल्धालगायतका स्थानमा टाढाटाढाबाट दसैंका बेला चर्खेपिङ खेल्न आउनेको घुइँचो लाग्थ्यो । पछिल्ला वर्षहरूमा यो पिङको चलन हट्दै गएको छ । यस वर्ष त झन् लिंगेपिङ निकै कम रहेको तथा गाउँघर नै सुनसान बनेको निस्दी गाउँपालिका–१ बाकामलाङका स्थानीय चिन्तामणि पाण्डेयले बताए ।
गाउँघरमा चर्खेपिङ मात्र होइन, लिंगेपिङ पनि कमै मात्रामा देख्न पाइन्छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिंगेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यसपटक भने रौनक छैन ।
युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दसैंले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह देखिँदैन । अर्कोतर्फ कोरोना महामारीले पिङ राख्ने र खेल्न स्थानीयको सहभागिता देखिँदैन ।
हिजोआजको पुस्ताको पिङप्रति त्यति आकर्षण छैन । बालबच्चाका लागि बजारमा आएका प्लास्टिकको डोरी बाँधेर घर–घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । तर, बाबियो काटेर पिङ बाट्ने चलन पछिल्लो समय रामपुर क्षेत्रमा बिस्तारै पातलिँदै गएको छ ।
गाउँघरमा चनचल्तीमा आएको चर्खेपिङ, लिंगेपिङ र घुमाउनेपिङ खेलेर मज्जा लिँदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदान–प्रदान गर्ने चलन रहेको थियो । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडबाड झल्किने संस्कृति लोप हुँदै गएको देखिएको छ ।