जलेश्वर । महोत्तरीका एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीय त्रसित भएका छन् । महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घन्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीय त्रसित भएका हुन् ।
धानखेतमा काम गरिरहेका बेला गत बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो । गत शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई एउटै सर्पले टोकेको भन्दै गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए । अहिले स्थानीय आ–आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताए ।
गत शुक्रबार सात मुस्लिम महिला र एक सरदार पुरुषलाई सर्पले टोकेको भन्दै सर्पदंश उपचार केन्द्र बर्दिबासमा भर्ना गराई उपचार भइरहेको छ भने अन्य सातजनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।
नगरप्रमुख साहले बर्दिबास र स्थानीयस्तरमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।