काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न प्रत्येक स्थानीय तहमा स्तनपान कक्ष स्थापना गरिएको बताए ।
आमाको दूध बच्चाका लागि अमृतसमान मानिन्छ भने बच्चा जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । ‘शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेंलो बिगौती दूधमा रोगसँग लड्ने एकप्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ । जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपका रूपमा लिइन्छ । त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घन्टाभित्रमा उसलाई आमाको बिगौती दूध अनिवार्य रूपमा खुवाउनुपर्छ,’ सन्देशमा भनिएको छ, ‘आमाको बिगौती दूधले भविष्यमा बालबालिकालाई विभिन्नप्रकारका रोगको जोखिमबाट टाढा राख्छ । बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा सकारात्मक असर पार्छ ।’
सन्देशमा सरकारले स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न तथा सबै प्रकारका कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा धेरैजसो राष्ट्रिय विमानस्थलमा स्तनपान कक्ष स्थापना भएको जनाइएको छ । अस्पतालमा स्तनपानलाई प्रवद्र्धन गर्न तथा बट्टाको दूध निरुत्साहित गर्न मातृ, शिशुमैत्री अस्पतालका रूपमा विकास गर्ने अभियान पनि विस्तार भइरहेको उल्लेख छ ।
‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने मूल नारासाथ साउन १७ देखि २३ गतेसम्म विश्व स्तनपान सप्ताह २०७७ मनाइँदै छ । स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि सालिन्दा संसारभर अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइँदै आइएको छ ।
नेपालमा ९९ प्रतिशत आमाले कम्तीमा एकपटक आफ्ना शिशुलाई स्तनपान गराउने गरेका छन् ।
मन्त्री ढकालले स्तनपान गराइरहेकी कामकाजी आमालाई स्तनपानमैत्री वातावरण सिर्जना गरी सहयोग गर्न सबै सरकारी, गैरसरकारी कार्यालयलाई अनुरोध गर्दै सेवाग्राहीको भीडभाड हुने सार्वजनिक स्थलमा स्तनपान कक्ष स्थापना गरी स्तनपानलाई संरक्षण तथा सम्बद्र्धन गरिदिन सबै सरोकारवालालाई आह्वान गरे । उनले कुपोषण समस्या समाधान गर्दै स्वस्थ मानव पुँजी विकासमार्फत समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न पनि अपिल गरे ।