मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिका–७ मोरङमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत तीनकोठे ३४ घर एकीकृत नमूना बस्ती सुकुम्वासी परिवारलाई हस्तान्तरण गरे ।
मुख्यमन्त्री राईले ग्रामथान गाउँपालिका–७ नयाँबस्तीका ३४ सुकुम्वासीलाई जस्तापाता लगाएको शौचालयसहित तीनकोठे नयाँ पक्की घर हस्तान्तरण गरेका हुन् । सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत नहरको डिलमा बसेका सुकुम्वासीको घर आयोजनाले भत्काएपछि घरवारविहीन भएका उनीहरूलाई घर हस्तान्तरण गरिएको हो ।
सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रम तराई–मधेस समृद्धि कार्यक्रम र ग्रामथान गाउँपालिकाको तीन करोड चार लाख ४१ हजारको लागतमा घर निर्माण गरिएको हो । दुई घर निर्माणधीन अवस्थामा रहेकाले पछि हस्तान्तरण गरिनेछ ।
मुख्यमन्त्री राईले घर हस्तान्तरण गर्दै आवासविहीन सुकुम्वासीलाई सरकारले सुरक्षित बसोवासका लागि घर निर्माण गर्ने बताए । उनले भूमिहीन किसानलाई जग्गा दिन भूमि आयोगले काम थालिसकेको जानकारी गराए ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार जनताको जीवनस्तर अगाडि बढाउन शिक्षा, स्वास्थ्यमा उनीहरूको पहुँच पुर्याएर स्वरोजगार बनाउन कटिबद्ध रहेको बताए ।
यसैगरी, सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुकुम्वासी, आदिवासी र सीमान्तकृत जनताको जीवनस्तर उकास्न सीपमूलक रोजगार कार्यक्रम ल्याइएको सुनाए ।
सांसद अमनलाल मोदीले तीन तहको सरकारले निर्माण गरेको नमूना बस्तीमा उचित रेखदेख गरी बसोवास गर्न आग्रह गरे ।