३० वर्षमै पीचएडी


प्रत्येक विद्यार्थीको सकेसम्म धेरै पढ्ने चाहना हुन्छ । तर, परिस्थिति सोचेझैं नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् ।

गलकोट नगरपालिका–७ मल्मका ३० वर्षीय रेशम थापाले भने पढाइलाई लिएर कहिल्यै पछाडि फर्कनुपरेन । सानैदेखि पढाइमा तेज थापाले सफलताका लागि जति मिहिनेत र जाँगर चलाए, उसैगरी परिवारले आड र ढाडस दियो । वातावरण बनाइदियो ।

गाउँकै जनहित माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका उनलाई उच्च शिक्षा अध्ययनको हुटहुटीले बुटवल, भारतको तामिलनाडू, अमेरिकाको नर्थ ड्याकोटा हुँदै मेरिल्यान्ड राज्यसम्म डोर्यायो । उनले जनहित माविपछि कक्षा ५ सम्म मल्मकै न्यु स्टेप इङ्ग्लिस बोर्डिङ स्कुलमा पढे ।

द्वन्द्वको प्रभावले गाउँको बोर्डिङ बन्द भएपछि परिवारले जेठो बुवा चन्द्रबहादुरसँग बसेर पढ्न उनलाई बुटवल पठाए । सन् २००६ मा बुटवलको क्यानन इङ्ग्लिस बोर्डिङ स्कुलबाट प्रवेशिका परीक्षा दिएका उनले बुटवलकै गोलोरियस कलेजबाट कक्षा १२ को अध्ययन पूरा गरे । त्यसपछि स्नातकमा कृषि विज्ञान पढ्न भारत सरकारबाट छात्रवृत्ति पाए ।

भारतको ‘तामिलनाडु कृषि विश्वविद्यालय’मा कृषि विज्ञानमा स्नातक सकेर सन् २०१३ मा थापा नेपाल फर्के । नेपाल फर्केपछि उनले कृषिमै स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने सोच बनाए ।

सन् २०१४ मा थापा पढ्नकै लागि अमेरिका पुगे । दुई वर्षपछि ‘नर्थ ड्याकोटा स्टेट युनिभर्ससिटी’बाट माटोविज्ञानमा स्नातकोत्तर हासिल गरे । सन् २०१६ मै विद्यावारिधिका लागि उनले ‘युनिभर्ससिटी अफ म्यारील्यान्ड’मा बालीविज्ञान पढ्न थाले ।

चार वर्षसम्मको पढाइ र शोधपछि थापाले हालै सो युनिभर्ससिटीको डिपार्टमेन्ट अफ प्लान्ट्स साइन्स एन्ड ल्यान्डस्केप आर्किटेक्चरबाट विद्यावारिधिको उपाधि हासिल गरेका हुन् । आउँदो डिसेम्बर २२ मा उनी विश्वविद्यालयबाट दीक्षितसमेत हुँदै छन् । उनले ‘मोडलिङ डिकम्जोजिसन एन्ड नाइट्रोजन रिलिज फ्रम सरफेस कभर क्रप रेसिड्यु इन नो–टिल सिष्टम इन द मिड एट्लान्टिक एन्ड साउथ इस्टर्न युएसए’ विषयमा शोध गरेका हुन् । छोप्ने बाली (कभर क्रप) ले कहिले र कति मात्रामा माटोमा नाइट्रोजन बढाउँछ भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको उनको भनाइ छ ।

वर्षको एक बालीमात्र खेती हुने ठाउँमा जमिन बाँझै नरहोस् र माटोको उर्वरा शक्ति ननासियोस् भनेर छोप्ने बाली लगाउने गरिन्छ । त्यस्तो बालीले माटोमा जैविक पदार्थ बढाउने गर्छ । विभिन्न बिरुवा मिसाएर छोप्ने बाली लगाइन्छ । अनुसन्धानले कृषि क्षेत्रको विकासमा नयाँ आयाम थप्ने उनको विश्वास छ ।

विद्यावारिधिपछि पनि उनी विद्या वाचस्पति (पोस्ट डक)का लागि अनुसन्धानमा सक्रिय छन् । ‘विद्यावारिधि गर्छु भन्ने त यसअघि सोचेकै थिइनँ । पढ्दै जाँदा बाटो खुल्दै गयो,’ उनले भने, ‘अहिले पढाइमात्र सकिएको छ । व्यावहारिक ज्ञान लिन त बाँकी नै छ ।’ उनले नेपालमा कृषिविज्ञानको पढाइ हुन्छ भनेर भारत गएपछि मात्र थाहा पाएको सुनाए ।

बीचमा अरू थोक नसोची लगातार पढाइमा लागेकाले विद्यावारिधिको अध्ययन छिट्टै पूरा भएको उनको भनाइ छ । पछि कुनै परियोजना हुन्छ या अनुसन्धानमार्फत जन्मभूमि नेपालको कृषि क्षेत्रलाई योगदान गर्ने सोच रहेको उनको भनाइ छ । पढाइमा निरन्तरको लगावले कम उमेरमै भाइले सफलता पाएको उनका दाजु दिनेश थापाले बताए ।

‘भाइ सानैदेखि पढाइमा अब्बल थिए । सुरुदेखि अहिलेसम्मै छात्रवृत्तिमा पढ्न पाए,’ दिनेशले भाइको प्रशंसा गर्दै गर्व गरे । भाइले आफूले आर्जेको ज्ञान, सीप र दक्षता देशका लागि खर्चने योजना सुनाउने गरेको उनले बताए । डा. रमेश थापाका बुवा हीराबहादुर थापा शिक्षण पेसा र आमा थुमकली सामाजिक क्रियाकलापमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्