टेलिफोन गर्न दिउँसोको घाम पर्खनुपर्ने समस्या अन्त्य


खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिनुडाँडामा रहेको जीएसएम र सीडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान गरिएको छ ।

नियमित विद्युत् अभावमा पटक–पटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घन्टा टेलिफोन सञ्चालनमा आएको हो ।

विद्युत् अभावमा गत चैतदेखि अवरुद्ध टेलिफोन टावर मर्मतपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

‘विद्युत् अभावमा टेलिफोन गर्न दिउँसोको घाम पर्खनुपर्ने थियो,’ अध्यक्ष राईले भने, ‘केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान भएपछि जुनसुकै समयमा टेलिफोन सम्पर्क गर्न सकिने भएको छ ।’

धिनुडाँडाको अवरुद्ध टेलिफोन टावर सञ्चालनमा आएपछि जिल्लाको उत्तरी क्षेत्रका टेलिफोनका सेवाग्राहीलाई सहज भएको छ । दुई वर्षअघि जडान गरेर सञ्चालनमा ल्याइएको टेलिफोन टावर यसअघिसम्म दैनिक बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो ।

थ्रीजी सेवा सञ्चालन हुँदै आएको उक्त टेलिफोन टावरमा केही दिनभित्रै फोरजी सेवासमेत सञ्चालन गर्ने तयारी गरिएको नेपाल टेलिकम खोटाङ प्रमुख खगेन्द्र मगरले बताए । ‘फोजी सेवा सञ्चालनका लागि प्राविधिक काम बाँकी नै छ,’ प्रमुख मगरले भने, ‘प्राविधिक समस्या हल गरेर चाँडै फोजी सेवासमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।’

धिनुडाँडाको टेलिफोन टावरले केपिलासगढी गाउँपालिकाको सबै वडा तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, रावाबेंसी गाउँपालिका र ऐंसेलुखर्क गाउँपालिकामा समेत काम गर्ने टेलिकमले जनाएको छ । जिल्लामा सञ्चालित सबै टेलिफोन टावरमा फोजी सेवा सञ्चालन गर्नेगरी तयारी भइरहेको टेलिकमले जनाएको छ ।

स्थानीय हाइड्रोपावरमार्फत दुई वर्षअघि सञ्चालनमा ल्याइएको उक्त टेलिफोन टावरमा गत चैतदेखि पावर पुर्याउन नसकिएको जनाइएको छ । टेलिफोन टावरमा जडान गरिएको सोलारले समेत दिउँसोबाहेक अन्य समयमा काम गर्न छाडेपछि सेवाग्राहीले छ महिनादेखि टेलिफोन समस्या झेल्दै आएका थिए ।

यसैगरी, दस स्थानीय तह रहेको जिल्लामा यस वर्ष १४ ठाउँमा टेलिफोन टावर जडानको काम भइरहेको टेलिकमले जनाएको छ । बाम्राङ, वराहपोखरी, बतासे, बुइपा, डाँडागाउँ, दिक्तेल, खार्पा, पाथेका, दुबेकोल, ऐसेलुखर्क, देवीथान, बाँझेच्यानडाँडा, दोर्पा आहाले र डम्बर्खुशिवालयमा जडान भइरहेको हो ।

डाँडागाउँ र ऐंसेलुखर्कबाहेक अन्य स्थानमा जडान गरिएको टावरको काम अन्तिम चरणमा पुगेको टेलिकमले जनाएको छ । अहिले जडान भइरहेको टावरमा फाइबरमार्फत फोजी सेवाको कामसमेत भइरहेको जनाइएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसअघि १४ ठाउँमा जडान गरिएको टेलिफोन टावरमार्फत टेलिफोन सेवा सञ्चालनमा छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, हलेसी, बाक्सिला, खोटाङबजार, ऐंसेलुखर्क र सिम्पानीमा ल्यान्डलाइन सेवासमेत सञ्चालनमा रहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्