सोलुखुम्बु । विनाअक्सिजन दसपटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पर्वतारोही आङ्रिता शेर्पाको निधन भएको छ ।
पर्वतारोही शेर्पाका सोमबार १० बजे आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए ।
सोलुखुम्बुको थामेमा जन्मेका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीर शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बौद्ध धर्मानुसार बुधबार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।
सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई, विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौं हिमालको उनले पटक–पटक आरोहण गरेका थिए ।
आङ्रिताको आरोहण यात्रा
सन् १९४८ मा जन्मेका आङ्िरताको पुख्र्यौली पेसा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । २० वर्षका उमेरमा पहिलोपटक चोयु हिमाल आरोहण गरेका शेर्पाले विनाअक्सिजन पहिलोपटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।
आरोहणक्रममै रहेका आङ्रिता बिरामी परेपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बसेका शेर्पालाई भेट्न पुगेका दीपेन्द्रले ‘बुवा (वीरेन्द्र)ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ ।
त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले ‘दरबार आउनू’ भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहुबाट भने सम्मानित भएका थिए ।
दसपटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने उनलाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन् ।
यद्यपि, उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण संघले नियमित सहयोग गर्दै आएको थियो । छोरीका अनुसार पर्वतारोहण संघले मासिक १५ हजार दिँदै आएको थियो । आङ्रिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेसामै छन् । माइला छोरा छेवाङ दोर्जे भने अमेरिकामा छन् । कान्छा छोरा फुरानुरु खुम्बुमै चौंरी धपाउने काम गर्छन् । छोरी डोमा जोरपाटीमा छिन् । आङरिता छोरीको घरमा बस्दै आएका थिए । शेर्पाकी पत्नीको सात वर्षअघि निधन भएको थियो ।
प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार अपराह्न ट्वीट गर्दै शोक–सन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
‘विनाअक्सिजन दसपटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङ्रिता शेर्पाको निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ , प्रधानमन्त्रीले ट्वीटरमा लेख्नुभएको छ, ‘उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ ।’
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पर्यटनमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हिमचितुवा’ शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।