राष्ट्रपति भन्नासाथ कस्तो महँगो जीवनपद्धति होला भन्ने हामीलाई लाग्छ । अझै अमेरिकाजस्तो मुलुकको राष्ट्रपतिको लवाइ, खुवाइ तथा बसाइ कस्तो महँगो होला ? उनीहरूको विलासिताप्रति हामीलाई जिज्ञासा लाग्नु स्वाभाविकै हो । तर, अमेरिकाकै राष्ट्रपति भएर पनि सामान्य मानिससरह बाँचेका राष्ट्रपतिहरू पनि छन् । त्यसध्येका थोमस जेफर्सन पनि एक हुन् ।
अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफर्सन साह्रै साधारण पहिरनमा हिँड्थे । उनी बाटोमा हिँड्दा सामान्य किसानजस्तै देखिन्थे । उनको सुरक्षागार्ड प्रायः हुँदनथे ।
एकपटक उनी ठूलै होटलमा बस्नुपर्ने भयो । जेफर्सन सामान्य किसानको पहिरनमा त्यहाँ पुगेका थिए । होटल मालिकले उनलाई साधारण मानिस सम्झेर बस्न कोठा दिएनन् । जेफर्सन कोठा नपाएपछि त्यहाँबाट हिँडे । उनी हिँडेपछि होटलमा आएका एक व्यक्तिले मालिकलार्ई राष्ट्रपति हुन् भनेर सुनाए । त्यस्तो थाहा पाएपछि होटल मालिकले तुरुन्तै जेफर्सनलाई बोलाउन नोकर पठाए । राष्ट्रपति त्यतिबेलासम्म निकै पर पुगिसकेका थिए । निकै हिँडेपछि नोकरले राष्ट्रपतिलाई भेट्टाए । उनले आफ्नो मालिकले गल्ती गरेकोमा माफी माग्दै होटल फर्कन अनुनय विनय गरे ।
जेफर्सन फर्केनन् । उनले नोकरलाई सम्झाउँदै भने, ‘तिमीले गएर आफ्नो मालिकलाई भन, तिम्रा होटलमा एउटा साधारण किसानका लागि कोठा पाइँदैन भने त्यो होटलमा अमेरिकाको राष्ट्रपति जेफर्सन कसरी बस्न सक्छन् ?’ यति भनिसकेपछि उनी दोस्रो होटलमा बस्न गए ।
वकिल, शिक्षकका साथै थोमस जेफर्सन भर्जिनियाका दोस्रो गभर्मेन्ट पनि हुन् । भर्जिनिया प्रान्तमा १७४३ अप्रिल १३ मा जन्मेका जेफर्सनलाई मजदुर तथा किसनको ठूलो समर्थन थियो । उनको मृत्यु १८२६ जुलाई ४ मा भएको थियो । उनी अमेरिकालाई आदर्श कृषिमुलक बनाउन चाहन्थे ।