पानी उत्पत्तिसम्बन्धी किराती लोककथा–२



उहिले–उहिले पृथ्वीमा ठूलो खडेरी पर्यो । खडेरीले खोलानाला, वन–जंगल सुकेपछि पोरोक्मी यम्भामी (तागेरा निङ्वाभुमाङको मानस पुत्र, जसले सृष्टिको सम्पूर्ण कामहरू गरे) ले तागेरा निङ्वाभुमाङलाई सोधे, ‘संसार सुकेर गयो । सृष्टि असफल भयो । मैले अब के गर्नु ?’

सृष्टिकर्ता तागेरा निङ्वाभुमाङले पोरोक्मी यम्भामीलाई जवाफ दिए, ‘मत्र्यलोक पृथ्वीको सात तलामध्ये एक तलामा मेन्दाही फक्नाम जातको मान्छे पाइन्छ । उसलाई लुङहोरुङ सिङहोरुङ पक्लुङ (छेलो) हान्न लगाउनू । पक्लुङ हानेपछि पूर्वमा ठोकिन्छ र थर्किन्छ । अनि बादल उड्छ, धूवाँ आउँछ । त्यसपछि पानी बर्सिन्छ । पानी बर्सेपछि रूखपात, बिरुवा उम्रन्छन् ।’

तागेरा निङ्वाभुमाङले भनेबमोजिम पोरोक्मी यम्भामी मत्र्यलोक पृथ्वीमा फर्किएर मेन्दाही फक्नामसँग कुराकानी गरे । मेन्दाही फक्नामले लुङहोरुङ सिङहोरुङ पक्लुङ (छेलो) हान्यो । पहिलोचोटि छेलो हान्दा केही पत्तो चलेन ।

दोस्रोचोटि हान्दा अलि–अलि थर्कियो । तेस्रोचोटि हान्दा पहाडमा ठोक्कियो र धूवाँ उड्यो । बादल उठ्यो । अनि आकाश गर्जिएर पानी पर्न थाल्यो । त्यति भइसकेपछि पृथ्वीमा वन–जंगल, झारपात, उम्रिएर हरियाली छायो भन्ने बूढापाकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्