जुम्ला । जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा पर्दा पाँच सय भेडा मरेका छन् ।
बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरामा सोमबार परेका चट्याङले स्थानीय विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेडा मरेका हुन् ।
चरण क्षेत्रमा परेको चट्याङबाट गाउँपालिकाका भेडापालक किसानको पुख्र्याैली पेसामा वज्रपात परेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए । पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भेडापालन हो ।
प्रमुख प्रशासकीय अधिकृत बुढथापाले भने, ‘सबै भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुस्किल पर्ने अवस्था आएको छ ।’
जुम्लामा २०७० मा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले सात सय भेडा मरेका थिए ।