संवैधानिक दायित्व कार्यान्वयनार्थ बजार अनुगमन



बडहरे (खोटाङ) । नेपालको संविधान २०७२ को अनुसूची ८ बमोजिम उपभोक्ता हित संरक्षणार्थ हलेसी तुवाचुङ नगरपालिकाले बजार अनुगमन गरेको छ । बजार अनुगमनको जिम्मेवारी स्थानीय तहले पाएपछि नगरले संवैधानिक दायित्व कार्यान्वयनका लागि बजार अनुगमन गरेको हो ।

उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न उपभोग्य वस्तु वा सेवाको उत्पादन स्थल वा भन्सार बिन्दु, ढुवानी मार्ग, भण्डारण तथा सञ्चय स्थल, थोक तथा खुद्रा बिक्री स्थल, उपभोग स्थललगायतका ठाउँमा वस्तु वा सेवाप्रदायक वा बिक्रेताको व्यवसायिक कारोबार दर्ता, नवीकरण आपूर्ति मूल्य, गुणस्तर नाप तौल विज्ञापनलगायतका व्यापारिक क्रियाकलाप नियमन गर्न स्थानीय तहबाट नियमित बजार अनुगमन गर्न आवश्यक रहेकाले नगरले नियमित रूपमा बजार अनुगमन गर्दै आएको नगरप्रमुख इवन राईले बताए ।

बन्दाबन्दीको मौका छोपी कृत्रिम अभाव सिर्जना गरी कालो बजारी हुने भएकाले बजार अनुगमन गरिएको नगर उपप्रमुख तथा अनुगमन संयोजक बिमला राईले बताइन् ।

हलेसी तुवाचुङ नगपालिकाका शाखा अधिकृत रविकिरण आचार्यको संयोजकत्वमा गठित बजार अनुगमन समितिले हालै बजार अनुगमन गरेको हो ।

इलका प्रहरी कार्यालय हलेसीको समन्वयमा च्यस्मिटार प्रहरी चौकी च्यास्मिटार प्रहरी प्रमुखलगायतको टोलीले बजार अनुगमन गरेको थियो । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका बडहरे बजार, बोझेओडार, मन्दिरडाँडा बजारको अनुगमन गरिएको थियो ।
अनुगमनमा होटल व्यवसायी तथा किराना पसलेले ग्राहकलाई गर्ने व्यवहार तथा सरसफाइ सन्तोषजनक पाइएको थियो ।

छिटपुटबाहेक ‘म्याद’ नाघेका सामग्री नरहेको अनुगमनमा खटिएकाले जनाएका छन् । केही व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण नगरेको पाइए पनि तत्काल सुधार्ने प्रतिक्रिया दिएका थिए ।

कमीकमजोरी गर्ने व्यवसायीलाई सुधारिन परिपत्र गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्