काठमाडौं । मंसिरे पूर्णिमा (उँधौली)को अवसर पारेर किरात राई लेखक संघले साकेला साहित्यिक महोत्सव गर्ने भएको छ । साकेला साहित्यिक महोत्सव आगामी पुस ११ र १२ गते गरिने संघले जनाएको छ ।
संघले गर्न लागेको महोत्सवमा पहिलो दिन साहित्यकार भूपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’, मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङले ‘साहित्यमा आदिवासी साहित्यकारको भूमिका’ र अध्यापक तथा संघका पूर्वअध्यक्ष प्रकाश राईले ‘जनगणनामा जनसंख्याको राजनीति’ विषयमा प्रकाश पार्नेछन् ।
महोत्सवको दोस्रो दिन मुन्धुम अध्येता भोगिराज चाम्लिङले ‘साकेलाको गरिमा’बारे प्रस्ट्याएपछि ‘साकेला खुला कविता प्रतियोगिता’ गरिने किरात राई लेखक संघ अध्यक्ष खुक्सङ खम्बूले जानकारी गराए ।
साकेला खुला कविता प्रतियोगिता प्रथम, द्वितीय, तृतीय र सान्त्वना (तीनजना) हुनेलाई २०, १५, १० र ५ हजारसहित प्रमाणपत्र, मेडल (प्रतीक चिह्न) र पुस्तकसमेत पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुनेले साकेलासम्बन्धी कविता लेख्नुपर्नेछ । लेखिएका कविता मंसिर २५ गतेभित्र संघको इमेलमा पठाइसक्नुपर्ने संघले आह्वान गरेको छ । इमेलमा प्राप्त कवितामध्ये उसले प्रतियोगिताका लागि ३० कविता छनोट गर्नेछन् ।
छनोट भएका कविता सम्बन्धित सर्जकले वाचन गरेको भिडियो आगामी पुस ५ गतेभित्र पठाइसक्नुर्नेछ । प्रथम, द्वितीय, तृतीय हुने प्रतियोगीलाई गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई, हास्यकलाकार विल्सनविक्रम राई र साहित्यकार राजन मुकारुङले पुरस्कार प्रायोजन गरेका छन् । कविता राई ‘गाउँले’, बलिराज खम्बू, प्रकाश दुमी राई र गोम राई/नमन राईले सान्त्वना पुरस्कार प्रायोजन गरेका छन् ।
यसैगरी, गायिका मेलिना राई, अभिनेत्री एलिसा राई र कलाकार समृद्धि राईको तर्फबाट समेत शिर उभ्याउने गरिनेछ ।