राई विद्यार्थी संघले ‘मातृभाषामा शिक्षा’ विषयक अनलाइन वक्तृत्वकला गर्ने



काठमाडौं । किरात राई विद्यार्थी संघले २२औं स्थापना दिवसको अवसर पारेर ‘अनलाइन वक्तृत्वकला’ गर्ने भएको छ । संघले ‘मातृभाषामा शिक्षा’ विषयक अनलाइन वक्तृत्वकला गर्न लागेको हो ।

मातृभाषामा पठनपाठन गर्ने अधिकार संविधानमा व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो रहेकाले ‘मातृभाषामा शिक्षा’ विषयक वक्तृत्वकला गर्न लागिएको संघ अध्यक्ष जितेन राईको भनाइ छ ।

विश्वव्यापी महामारी कोभिड–१९ संक्रमित बढ्दै गएपछि सरकारले भेला, बैठक, छलफल गर्न निषेध गरेकाले संघले आगामी भदौ १७ मनाउने स्थापना दिवसमा अनलाइन वक्तृत्कला गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी हुने विद्यार्थीले भिडियो रेकर्ड गरेर पठाउनुपर्नेछ । ‘भिडियो एक टेकमा खिचिएको (सम्पादित नगरिएको) हुनुपर्नेछ । भिडियो बढीमा ५ मिनेटको हुनुपर्नेछ,’ संघ महासचिव रवीन राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘प्रतिस्पर्धीद्वारा सम्पे्रषित भिडियो विषयवस्तु र प्रस्तुतीकरणका आधारमा मूल्यांकन गरिनेछ ।’

अनलाइन वक्तृत्वकलामा प्रथम हुनेले ३०, दोस्रो हुनेले २०, तेस्रो हुनेले १० र सान्त्वना हुनेले ५ हजार पुरस्कार पाउनेछन् ।

अनलाइन वक्तृत्वकलामा सहभागी हुनेले इमेल तथा फेसबुकमार्फत भिडियो पठाउनुपर्नेछ । भिडियो भदौ १३ गते भित्र पठाइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्