सिउरुङ गए ५ हजार, बास बसाए ३० हजार जरिवाना



लमजुङ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ पर्यटकीय सिउरुङ गाउँमा अनुमतिविना गाउँ प्रवेश गरेमा पाँच हजार र घरमा बसाए घरधनीलाई ३० हजार जरिवाना तोकिएको छ ।

विश्वमा तीव्र र महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिनबाट बचाउन गाउँका आमा समूह, युवा क्लब स्थानीयले संयुक्त रूपमा उक्त निर्णय गरेको हो ।

गाउँमा कोरोना संक्रमित आउन सक्ने र यसको रोकथामका लागि उक्त जरिवाना निर्णय गरिएको सिउरुङ गाउँका आमा समूह अध्यक्ष तोमाया गुरुङले बताइन् । उनले भनिन्, ‘हाम्रो यहाँ घरवाससमेत सञ्चालन रहेकाले विभिन्न ठाउँबाट गाउँ प्रवेश गर्न सक्ने भएकाले जरिवानाले गाउँ प्रवेशमा रोक हुने अपेक्षा गरेका छौं ।’

गाउँपालिकाको कार्यापालिका सदस्य एवम् सोही वडा सदस्य रहेकी स्थानीय ताराकाशी गुरुङले भनिन्, ‘विश्वमा कोरोनाको त्रास बढ्दै जानेक्रममा यहाँ पनि स्थानीयमा जोखिम बढ्यो स्थानीय त्रासमा रहन थालेपछि हामीले गाउँ प्रवेश गर्ने चार ठाउँमा काँडेबारसमेत लगाएका छौं ।’

संवत् २०६५ बाट सुरु भएको सिउरुङ घरवासमा १९ घरवास रहेका छन् । सिउरुङमा १२० घरधुरी छन् । मनास्लु हिमालको काखमा रहेको उक्त घरवास समुद्री सतहदेखि एक हजार ८५४ मिटरको उचाइमा छ ।

गाउँकै सामुन्ने ऐनाजस्तै देखिने मनास्लु हिमशृंखलामा पर्ने हिमालचुली, ङादीचुलीलगायत हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । घरवास पुग्ने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको मासु, गाउँमै उत्पादित साग–सब्जीलगायतको परिकार खुवाउने गर्छ । साथै गुरुङ समुदायको सांस्कृतिक कृष्ण चरिण, घाँटु, सोरठीलगायतका नाच हेर्न पाइन्छ । उनीहरूको परम्परागतदेखि चलिआएको रोघीँ बस्नेसमेत चलन छ ।

बेंसीसहरबाट पर्यटकका लागि सिउरुङ गाउँ घरवास पुग्न २४ किलोमिटर जिपमा पार गर्नुपर्छ । पैदलयात्रुका लागि भने करिब एक दिनभरि नै लाग्छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीयले यस घरवासमा यतिबेला पर्यटकलाई रोक लगाइएका कारण सुनसान बनेको छ ।

प्रतिक्रिया दिनुहोस्