आफूसँगै अध्ययनरत साथीहरू विद्यालय जाँदै गर्दा फिकल परियार हलेसी पुग्न हतारिन्थे । त्रिधार्मिकस्थल हलेसी आइपुगेका पर्यटकलाई हलेसीबारे जानकारी गराउँदै घुमाउनु परियारको काम थियो ।
पर्यटकले स्वेच्छाले दिएको रुपैयाँले उनको पढाइ खर्च चल्थ्यो । त्यतिबेला उनी महेन्द्रोदय माध्यमिक विद्यालय हलेसीमा कक्षा एकका विद्यार्थी थिए । उनी आफूलाई चाहिने कापी, कलम आफैंले किन्थे । बचेको रुपैयाँ बुवाआमा (सञ्जीव परियार र लीला परियार) लाई दिन्थे । बुवाआमाले उनलाई औधी माया गर्थे ।
हलेसी आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई घुमाउन कार्यक्षेत्र तोकिएको थियो । एकले अर्काको कार्यक्षेत्रमा पर्यटक घुमाउन नपाइने उनले सुनाएका थिए । उनको कार्यक्षेत्र बसाहा गुफा परेको थियो ।
हलेसीमा रहेको बसाहा गुफाको उत्पत्ति कसरी भयो होला ? हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल भन्छन्, ‘बृकासुर भन्ने राक्षसले महादेव शिवजीलाई खुसी पार्न १२ वर्ष तपस्या गरे । उनले गरेको तपस्याप्रति शिवजी खुसी भएर वर माग्न लगाए । बृकासुरले म जसको टाउकोमा हात राख्छु उसको भष्म (मृत्यु) होस् भन्ने वर मागे । शिवजी वर दिए ।’
किंवदन्तीअनुसार, वर पाएपछि बृकासुरले शिवजीको टाउकोमा हात राखी पार्वतीलाई आफ्नो बनाउने विचार गरे । त्यो कुरा थाहा पाएपछि शिवजी भाग्न थाले । बृकासुरले लखट्न छाडेनन् । भाग्दाभाग्दै शिवजी हलेसीको बसाहागुफा आइपुगे । अहिलेको बसाहा गुफाको प्रवेशद्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेर उनी बसाहा गुफाभित्र प्रवेश गरे ।
बसाहा गुफा आइपुगेका पर्यटकलाई फिकल परियार यही किंवदन्ती सुनाउँथे । बसाहा गुफा प्रवेश गर्नसाथ बायाँपट्टि प्राकृतिक प्वालहरू छन् । जुन फुक्दा शंख फुक्दाको जस्तै आवाज निस्कन्छ । गुफाको पूर्वपट्टिको भित्तामा मानिसको पाइलाजस्तै आकृति छ, त्यसलाई शिवजीको पाइला भनिन्छ । गुफाको कुनाकाप्चाबाट पानी रसाइरहेको हुन्छ । कपितपय ठाउँमा गाईको थुनजस्तै आकृति देखिन्छ । फिक्कलले त्यतिबेला भनेका थिए, ‘जहाँ भक्तजनहरू दूध देऊ माई भन्दै हात थाप्छन् । जसको हातमा चौलानीजस्तै पानी खस्छ, ऊ भाग्यमानी हो ।’
संवत् २०६८ वैशाखमा भेट्दा फिकल परियार नौ वर्षका भए । उनले गाइड (प्रथप्रदर्शक) को काम गर्न थालेको आठ महिना भइसकेको थियो । उनका साथीहरू बसाहा गुफामै बत्ती बेच्थे । उनीहरूले पनि बत्ती बेचेरै पढाइ खर्च जोहो गर्थे । उनीहरू मिलेर आ–आफ्नो काम गर्थे । कहिल्यै झगडा गर्दैनथे । फिकल पनि कहिलेकाहीं साथीहरूसँग मिलेर बत्ती बेच्थे । पर्यटकलाई बसाहा गुफा घुमाउन फिकललाई साथीहरूले समेत सघाउँथे ।
पंक्तिकारले त्यतिबेला भेटेको फिकल परियारबारे स्वयम्सेवी पथप्रदर्शक राकेश परियारलाई उनी गाउँमा नभएको सुनाए । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङनिवासी उनी कहाँ पुगे होलान् ? कहिले फर्केलान् ?