गाउँमा नामुद जुत्ता बनाउने कुमाले देशी सार्की थिए । सार्कीले धान, कोदो, मकै, पैसामा गाउँलेलाई जुत्ता बनाइदिन्थे । अधिकांश गाउँले खाली खुट्टै हिँड्थे । गाउँमा धेरै लाहुरे । उनीहरूले पल्टनबाट ल्याएको बुट र छालाका जुत्ता लगाउँथे ।
मेरो बुवा (पापा)सँग दाजु, भतिज र भान्जाहरूले लाहुरबाट ल्याइदिएको टिकटिक बुट्टा भएको ६/७ नम्बरको छालाको दुई/तीन जोर जुत्ता थिए । घरमा बस्दा लगाउने गाउँकै सार्कीले सिलाएको काने (तना बाँध्नु नपर्ने) छालाको जुत्ता थियो । तर, चप्पल थिएन ।
आमाहरूले पनि लाहुरबाट ल्याइएको कपडाको जुत्ता र गाउँकै सार्कीले सिलाएको छालाको जुत्ता लगाउँथे । उनीहरूले चाडबाडमा मात्र लगाउँथे । घरवरिपरिको काम खाली खुट्टै गर्थे ।
गाउँका क्षेत्री, बाहुन र हुनेखानेले लाहुर अनि मधेसबाट ल्याइएका कपडा र प्लास्टिकका जुत्ता लगाउँथे । गाई, गोरु, भैंसीका छालाको जुत्ता लगाउन पाप ठान्थे । घृणा गर्थे । त्यसैले लगाउँदैनथे ।
हामी अधिकांश केटाकेटीले खाली खुट्टा स्कुल जाने, गाउँघर डुल्ने, लेकबेंसी गर्थ्यौं । जुत्ता नहुँदा खुट्टामा ठेस लाग्थ्यो । काँडा बिझेर घाउ लाग्थ्यो । बर्खामा हिलोले औंला खाएर घाउ बनाउँथ्यो ।
एक दिन स्कुलमा चोर–पुलिस खेल्दा भाग्नेक्रममा लिडे भुजेलको बारीको ठुलो कान्लाबाट तोरीबारीमा हामफाल्दा लडेर घाइतेमात्रै बनिनँ, काठको फलेकमा गाडेर उत्तानो परेको चार इन्चको फलामे किला पैतालामा गाडियो ।
मलाई भामाला टोलका साथीहरूले उचाल्दै घिसार्दै घर पुर्याए । विशेषतः माझाघरे कान्छा भाइ रुद्र अधिकारी ‘धोती’ले सहयोग गरे । पापाबाट सहानुभूति पाउँछु भन्ने मेरो अनुमान गलत साबित भयो । चकचके गोरुको चार ठाउँ डाम भन्दै पापाबाट कटबाँसको लौरो ममाथि बज्रियो ।
मैले टोल थर्कने गरी कराएपछि आमाले पापालाई बिरामीलाई उपचार गर्ने कि कुट्ने ? कस्तो विवेक नभएको मानिस हँ भन्दै कराउँदै भित्र लगिन् । म आमाको गुन्युभित्र बेरिएँ । भित्र लगेर घाउमा तोरीको तेल र बेसार दलिदिइन् । मेरो अनुहार हेर्दै हाँसिन् । म छक्क परें । आमाले खोपाबाट ऐना झिकेर देखाइन् । वनमारा, तीतेपाती र उन्युले कोरेर मेरो अनुहार घाउ नै घाउ बनाएछ । ऐना हेर्दा झन्डै आफैंलाई चिनिनँ । दम्को मार्ने, झारफुक, पूजा, भाकलको केही सीप लागेन । घाउ निको पार्न एक खुट्टाले उफ्रँदै सुत्केरी माइला जैसी दाजुसँग एरिया वेलफेयर अफिस भोजपुर पुगें । कम्पाउन्डर भतिज बोमप्रसाद मुकारुङ राईले ‘माइनर अप्रेसन’ गर्दा म चिच्याउनेमात्र होइन, धरधरी रोएँ ।
आमाले सार्की बोलाइन् । सार्कीले जुत्ताका लागि मेरो नापो लिए । १५ दिनपछि जुत्ता लिएर सार्की घर आए । मलाई जुत्ता ? यति आनन्द र खुसी मेरो जीवनमा कमै आएको होला ।
जुत्ता लगाएर हिँड्दा दैनिक बीसौंपटक लड्थें । कहिले सुरुवालको घुँडा छैन । कहिले कोटको बाहुला त कहिले दौराको कुहिना हुँदैनथ्यो । ढुंगा, माटो, झार देख्नै नहुने चिप्लेर लड्दा लजाउँथें । जुत्ताले बनाएको घाउले उस्तै पीडा दिन्थ्यो । तैपनि पापाआमाको करले घरबाट लगाएर हिँड्थें । ग्वालीले छेकेपछि फुकालेर हातमा बोकेर स्कुल पुग्थें । साइज मिल्ने साथीहरूलाई जुत्ता लगाउन दिन्थें । भोगटे, झुम्रोको फुटबल खेल्नेलाई दिन्थें । तर, ज–जसले जुत्ता लगाउँथे उनीहरूको खुट्टा सद्दे रहँदैनथे ।
कति बोक्नु देशीको त्यो जुत्ता । दमाई लडिमरेको भीरमाथि खरबारीमा लुकाएर स्कुल पुग्थें । घर फर्कंदा बोकेर झर्थें । ग्वाली घरको सुरबाट चाहिँ जुत्ता लगाएर मान्यजनलाई घुमीघुमी टाउकोले ढोग्नै पथ्र्यो ।
जुत्ता लुकाउनेक्रम जारी थियो । एक दिन ४ बजेपछि खरबारी पुग्दा लुकाएको ठाउँमा मेरो जुत्ता थिएन । परेन फसाद ! यताउता खोज्दाखोज्दै घर ढिलो पुगें । गेम खेल्दा फुकालेको जुत्ता कसैले लुकाइदियो । अलि–अलि गाली खाए पनि कटबाँस आइलागेन । पछिसम्म पनि जुत्ता फेलापरेन ।
धरान हो कि बेल्टार जानेले ल्याएको टायरको चप्पल १ रुपैयाँ २५ पैसामा किनेर लगाएँ । सस्तो बेसाहाले पखाला चलाउँछ भनेजस्तो त्यसले पनि लडायो । खुट्टा दुखायो । त्यसपछि मेरा खुट्टामा बाटा कम्पनीका फित्तावाल जुत्ता पर्यो । गह्रौं, पसिना आएपछि चिप्लिने, फित्ता चुँडिरहने हुँदा कैयौंपटक पिन्सियो (हुप्स्यो)ले उनेर पनि लगाएँ ।