हलेसी (खोटाङ) । स्वीस सरकारको आर्थिक सहयोग, हलेसी तुवाचुङ नगरपालिका दुर्छिम खोटाङ, कारितास नेपालको सहकार्य र नवकिरण सेवा समाज नेपालको समन्वय तथा सहजीकरणमा सञ्चालित जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत हलेसीमा कृषि सामग्री तथा बीउविजन वितरण गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष चइन्द्र राईको अध्यक्षता, नगरप्रमुख इवन राईको प्रमुख आतिथ्य र नगर उपप्रमुख बिमला राईको विशेष आतिथ्यमा कृषि सामग्री तथा बीउविजन वितरण गरिएको हो ।
नवकिरण सेवा समाज नेपाल अध्यक्ष दीपबहादुर राई, कारितास नेपालअन्तर्गत खोटाङको नगरपालिका संयोजक झग्गु चौधरीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितलाई वडासदस्य डिल्ली चाम्लिङले न्यानो स्वागत गरेका थिए ।
कारितास नेपालले प्रदेश नं. १ को इलाम, झापा, मोरङ, धनकुटा र खोटाङ काम गरिरहेको छ । खोटाङमा एसडीसीको आर्थिक सहयोगमा कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहयोगमा हलेसी तुवाचुङ नगरपालिकाका ४ हजार ५३ घुरधुरीलाई कृषि सामग्री तथा बीउविजन वितरण गरिएको छ ।
हिलटेक पाउनेले प्रतिव्यक्ति ६ हजार २० रुपैयाँबराबरको सामान र प्लास्टिक टनेल पाउने व्यक्तिले ६ हजार १९ रुपैयाँबराबरको सामान पाएका थिए । २ करोड ४३ लाख रुपैयाँबराबरको सामान वितरण गरिएको कारितास नेपालअन्तर्गत खोटाङ नगरपालिका संयोजक चौधरीले जानकारी गराए ।
१० रोपनीभन्दा जग्गा कम भएका र १० रोपनीभन्दा बढी जग्गा भए पनि खेतीयोग्य जमिन १० रोपनीभन्दा कम भएकाले कृषि सामग्री तथा बीउविजन पाएका हुन् । यसैगरी, जागिर तथा व्यापार व्यवसायमा रहेका किसानले पनि कृषि सामग्री तथा बीउविजन पाएनन् । किसानले तरकारी खेतीका लागि प्लास्टिक टनेल, तरकारी खेतीका लागि पानी छिट्न आवश्यक पर्ने हजारी, भिटामिन तथा कीटनाशक औषधि छर्ने एक्सप्रेयर र विभिन्न जातका तरकारीका बीउ पाएका थिए ।
महादेवस्थानमा ६ सय २६ घरपरिवारमध्ये ३ सय ३३ परिवारले कृषि सामग्री तथा बीउविजन पाएका छन् । नगरपालिकामा ५ हजार ५३ सय ८ घरधुरी रहेकोमा चार हजार ५३ घरलाई कृषि समाग्री वितरण गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले कृषि सामग्री तथा बीउविजन पाएकाले सदुपयोग गर्न अनुरोध गरेका छन् । नगरप्रमुख राईले आवश्यक परेमा प्रत्येक टोल–टोलमा पुगेर नगरका कृषि कर्मचारीले किसानलाई सघाउने वचन दिए । कृषि सामग्री तथा बीउविजन नपाउनेले नगरले अर्को कार्यक्रम राखी पुनः वितरण गर्नेछ ।
नगर उपप्रमुख बिमला राईले तरकारी खेती गरेर बिक्री गरी आर्थिक अवस्था उकास्न किसानलाई सुझाइन् । ‘हामी बजारबाट किनेर ल्याएर खाँदाचाहिँ आफूलाई ठूलो मान्छे ठान्ने तर बजारमा लगेर बिक्री गर्दा हेपिएको अनुभूति गर्छौं,’ उनले भनिन्, ‘त्यस्तो बानीले हामी पछि परेका हौं । अबउप्रान्त यस्तो बानी त्यागौं ।’
वडाध्यक्षले चइन्द्र राईले ७ नम्बर वडावासी किसानले कृषि सामग्री तथा बीउविजन पाउँदा आफू गौरवान्वित भएको बताए । वडाका कतिपय किसानले धनीपुर्जा देखाउन नमान्ने र कतिलाई कृषि सामग्री तथा बीउविजन पाइन्छ र भन्ने विश्वास नलागेकाले तथ्यांक संकलनक्रममा धेरैले नाम नटिपाएको जानकारी गराए ।
वडाका ३ सय ३३ घरपरिवारलाई कृषि सामग्री तथा बीउविजन वितरण गर्नुपर्ने भए पनि ३८ घर परिवारलाई यथाशीघ्र कृषि सामग्री तथा बीउविजन वितरण गरिनेछ ।