केदार माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत छात्रा अखिल क्रान्तिकारी कक्षा इकाइमा आबद्ध भइन् । बुवा विष्णुप्रसाद बास्तोला सीपी मैनालीले नेतृत्व गरेको मालेमा सक्रिय रहे पनि छात्राले आफूलाई माओवादी पार्टीमा उभिइएको प्रस्ट्याइन् ।
विद्यार्थी राजनीतिले निरन्तरता पाएकै थियो । हिमाल दर्शन माविबाट २०५४ मा एसएलसी उत्तीर्ण गरेपछि ०५५ मा काठमाडौं झरिन् । ०५६ पछि महेन्द्र रत्न क्याम्पस ताहाचलमा भर्ना भइन् ।
सोलुखुम्बुबाट भरत ढुंगेल ‘कुसुम’ उनलाई लिन काठमाडौं झरे । सोलुखुम्बुबाटै माओवादीमा ‘होलटाइमर’ बनाउन ढुंगेल उनलाई लिन काठमाडौं झरे । ‘अध्ययन छाडेर जिल्ला फर्कन्न,’ उनले ढुंगेललाई उत्तर दिइन्, ‘म अध्ययन गर्दै काठमाडौंबाट पार्टीमा जोडिन्छु ।’
कुसुम माओवादी सोलुखुम्बुको नेतृत्वमा रहँदारहँदै सहिद भए । उनले काठमाडौंबाट सोलुखुम्बु आएको एक हेलिकोप्टर अपहरण गरेर हेलिकोप्टरमै जिल्लाभरि घुमघाम गरेको घटना त्यतिखेर निकै चर्चामा थियोे ।
आफू अध्ययनरत क्यापसमा उनी लोकप्रिय थिइन् । ०५७ को स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीतर्फबाट स्ववियु कोषाध्यक्षमा उम्मेदवारी दिइन् । तर, पराजित भइन् । हारले समेत सवक सिकायो । नेकपा (माओवादी) पार्टीको पूर्णकालीन बनेर भूमिगत भइन् ।
त्यसपछि ?
अखिल क्रान्तिकारी जिल्ला सदस्यका साथै पार्टी उपत्यका एसीएमको जिम्मेवारी पाइन् । ०५८ बाट जिल्ला कमिटी सदस्यको भूमिका थपियो । पार्टीले जनमुक्ति सेनाको संरचनामा पनि उनी र उनीहरूलाई नै जिम्मेवारी दियो । उनलाई उपत्यका पीएलएको एसटीएफ स्क्वाड सदस्यसमेतको भूमिका दिइयो ।
‘म ०५९ देखि काठमाडौं उपत्यकाअन्तर्गत चक्रपथभित्रको एरिया इन्चार्ज भएर काम गरें,’ उनले जानकारी गराइन्, ‘त्यतिबेला दुस्मनले धेरै साथी गिरफ्तार गरिसकेका थिए । म कोठाबाट निस्केलगत्तै दुस्मनले छापा मारेको कैयन घटना छन् । बालबाल बचेर हिँडेकी थिएँ ।’ त्यसताका पार्टीको अग्र, मध्य र पृष्ठ मोर्चाको संरचना थियो । उनी अग्रमोर्चाकी सदस्य थिइन् । उपत्यकामा क्रियाशील तर गिरफ्तार नहुने नेतृत्वमध्ये उनी एकमात्रै थिइन् ।
साबिक मटेला गाउँ विकास समिति–१ बझाङका भीम गिरीसँग उनको जनवादी बिहे भयो । यो ०५९ को शुभखबर हो । मटेला छबिसपाथीभेख गाउँपालिका–१ मा पर्छ । गिरी अखिल क्रान्तिकारी उपत्यका एसटीएफ जनमुक्ति सेनाको प्लाटुन कमान्डर थिए । अनि जिल्ला पार्टी सचिवालय सदस्य पनि । तात्कालिक शाही नेपाली सेनाको युनिफाइड कमान्डोले गिरीलाई काठमाडौं क्षेत्रपाटीको कुसलेचौबाट ०६० मंसिर १७ गते गिरफ्तार गरी कर्णेल राजु बस्नेतको कमान्डमा रहेको भैरवनाथ गण पुर्याइयो । त्यसपछि उनी बेपत्ताको सूचीमा छन् ।
बिहे गरेको वर्ष दिन नपुग्दै टीका बास्तोला ‘रेखा’की श्रीमान् भीम गिरी गिरफ्तारीमा परे । गिरीसँगै समदृष्टिका सम्पादक भाइकाजी घिमिरेसमेत पक्राउ परे । ‘पार्टीको सामान लिन घिमिरेसँगै हिँड्नुभएको थियोे । एक गद्दारले सेनालाई सघाछन्,’ बास्तोलाले विगत सम्झिन्, ‘सामान रिसिभ गर्न भनी बोलाइएको ठाउँमा पुग्दा युनिफाइडले घेरा हालेर गिरी र घिमिरेलाई गिरफ्तार गरे ।’
गिरी र आफूलाई अलग–अलग राखिएको रिहा भएपछि भाइकाजी घिमिरेले सुनाए । ‘भीमजीलाई भैरवनाथ गण लैजाने निधो गरिएको थियो,’ प्रहरी हिरासतबाट नौ महिनामा छुटेपछि घिमिरेले थपे, ‘कमरेड निश्चललाई पनि बेपत्ता बनाइयो । उहाँ जनमुक्ति सेनाको कम्पनी कमान्डर हुनुहुन्थ्यो । उहाँलाई पनि गिरफ्तारपछि बेपत्ता पारिएकाले भीमजी गिरफ्तार पर्नुको रहस्य खुल्न सकेन ।’
त्यतिबेला राज्यले गिरफ्तार गरेको जीवनसाथी भेटिइन्छन् कि भेटिँदैनन् टीकालाई थाहा छैन । ‘तर, आउनुहुन्छ भन्ने मनोदशाले भने कहिलेकाहीं निकै पीडाबोध गराउँछ । भीम पक्राउ पर्नुभएपछि पार्टीले मलगायत उपत्यकामा सक्रिय सबै नेता तथा कार्यकर्तालाई राजधानी छाड्न निर्देशन दिइयो,’ टीकाले थपिन्, ‘त्यसपछि भीमजीलगायत बेपत्ताको अवस्था सार्वजनिक गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका मानवअधिकारकर्मी र पत्रकारसँग राजधानी बाहिरैबाट पार्टीले थुप्रै पहल गर्यो । तर, सफल भएन ।’
‘भीमजी र मेरो टाउकाको मूल्य तोकिँदासमेत अविचलित रहेर पार्टी काममा लाग्यौं,’ उनले त्यतिबेलाको अवस्थाबारे प्रस्ट्याइन्, ‘मुख्य–मुख्य क्रियाशील नेता तथा कार्यकर्ताको धरपकडले राजधानी बसिसक्नु थिएन ।’
र, पार्टी निर्देशनअनुसार उनी सेनच्याङ संस्कृतिक परिवारको इन्चार्ज भएर मकवानपुर, धादिङ, काभ्रेपलान्चोकलगायत उपत्यकाआसपासका जिल्लामा सक्रिय रहिन् । ०६२ मंसिरमा पुनः काठमाडौं फर्किन् । ललितपुर उपमहानगरपालिकाको चक्रपथ क्षेत्र इन्चार्जको भूमिका पाएपछि उनी राजधानीमै क्रियाशील भइन् । पाएको भूमिका निर्वाह गर्दागर्दै ललितपुर पार्टी संयोजक अमर गिरफ्तारीमा परे । अर्को निर्णय नभइन्जेलका लागि उनलाई पार्टीले कार्यवाहक संयोजकको जिम्मेवारी दियो । यसपछि १९ दिने जनआन्दोलन सफल बनाउने आन्दोलन परिचालन समितिको समेत कमान्ड गरेकी उनी जनआन्दोलनमा सहभागी भइन् ।
जनसंगठन निर्माणमा क्रियाशील भएर अघि बढिन् । १२ बुँदे समझदारीपछि उच्च ओहोदाको एक प्रहरी अधिकृत र टीकाको भेटघाट भयो । ती अधिकृतले टीकाको फोटो देखाउँदै तपाईंलाई पक्राउ गर्ने निर्देशन थियोे । तर, पक्राउ पर्नु भएन भनेर तीन छक परेको उनले जानकारी गराइन् ।
ललितपुरको ३ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज हुँदै जिल्ला सहसेक्रेटरीसम्मको भूमिका निर्वाह गरेर ०६४ मा पम्फा भुसाललाई विजयी गराउनेसम्ममा उनको अहम् भूमिका थियो । ०६४ सम्म नेवाः प्रदेश कमिटी सदस्यसमेत थिइन् । ०७० मा ललितपुरबाट समानुपातिक उम्मेदवारमा उनको नाम सिफारिस भए पनि सिंहदरबारको यात्रा गर्न सफल भइनन् । उनलाई गुनासो पनि छैन ।
०७१ सम्म नेकपा माओवादीको सक्रिय राजनीतिमा रहेकी उनले १७ वर्ष पार्टीमा पसिना बगाइन् । त्यसपछि भगवती प्रधान ‘प्रतिमा’सँग माओवादी पार्टीमै आस्था राख्नेगरी सक्रिय राजनीतिबाट टाढिए । हिजोआज बास्तोला र प्रधान मिश्रित खेतीमा रमाइरहेका छन् । १० वर्षदेखि कृषिकर्ममा रमाइरहेकी उनी खाली हात पार्टीबाट बिदा भइन् । देश छाडेर विदेशमा भविष्य खोज्ने सोचसम्म बनाइनन् । ‘जे गरे पनि आफ्नै देशमा बसेर मिहिनेत गर्ने नयाँ विकल्प सोच्यौं । आत्मनिर्भर बन्ने अठोटसाथ २० लाख रुपैयाँ संयुक्तमा ऋण लिएर ललितपुरको धापखेलमा जग्गा लिजमा लिएर तरकारी र पुष्प खेतीमा गर्दै छौं,’ उनले खुसी व्यक्त गरिन्, ‘कता हो कता नाफा छैन । डुबानमा पनि परिहालेको छैन । दुःख–सुख कृषि कर्ममा रमाइरहेकी छु ।’
एकल नारीप्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन । ‘तर, त्यसको गतिलो उत्तर दिने गरी हामी उपस्थित हुनेछौं,’ उनले सुखद खबर सुनाइन्, ‘सहिद तथा बेपत्ता परिवारले भोगेको पीडामा मलम होइन, उसको सपना पूरा गर्न निकट भविष्यमा अर्को अभियान सञ्चालन गर्दै छौं । समूह बनिसकेको छ । चाँडै घोषणा गर्दै छौं ।’
नेकपा मालेको पीबीएम तथा सोलुखुम्बु–ओखलढुंगा इन्चार्ज विष्णुप्रसाद बास्तोला र थरकुमारी बास्तोलाकी छोरी टीका बास्तोला ‘रेखा’को जन्म २०३८ साउन १९ गते साबिक नेचा बेतघारी गाउँ विकास समिति–१ मा भएको हो । नेता बेतघारी नेचा सल्यान गाउँपालिका ४ नम्बर वडामा पर्छ ।