शंकर भण्डारीलाई पौवादुङ्मा गाउँपालिका अध्यक्ष राईको खरो जवाफ



पौवादुङ्मा (भोजपुर) । पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईले नेकपा नेता भीम रावलप्रति गरेको टिप्पणीलाई आधार मानेर शंकर भण्डारीले लगाएको आरोपको कडा जवाफ दिएका छन् ।

‘किरण राईले जनताको सेवा गरेका छन् कि छैनन् ? कुनै नेताको चम्चागिरी गर्नेले मूल्यांकन गर्ने होइन । समग्र पौवादुङ्मा र भोजपुरवासीले त्यसको उचित मूल्यांकन गर्नेछन्,’ अध्यक्ष राईले जिकिर गरे, ‘अमूक नेताको चम्चागिरी गरेर भण्डारीको दिनचर्या बित्छ । तर, हामीजस्ता सच्चा कार्यकर्तालाई आफूभन्दा धेरै पार्टीको माया लाग्छ । पार्टीलाई विवादमा धकेल्ने रावलमात्र होइनन्, जोकोहीविरुद्ध ऊर्जाशील सच्चा कार्यकर्ता भण्डाफोर गर्न कुनै आइतबार कुर्दैनन् ।’

गाउँपालिका अध्यक्ष किरण राईले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत नेता रावललाई पार्टीलाई दुर्घटनातर्फ लैजान खोजेको आरोपसहित अपराधीको संज्ञा दिएका थिए । त्यसपछि नेकपा कार्यकर्ता शंकर भण्डारीले राईलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको निर्देशनमा निष्ठावान नेता रावलप्रति गालीगलौजमा उत्रेको आरोप लगाए । त्यसपछि राईले भण्डारीलाई विभिन्न सञ्चारमाध्यमबाट कडा जवाफ दिएका हुन् ।

‘भण्डारीले जस्तो किरण राईले अमूक शक्तिलाई खुसी बनाउन बोलेका होइनन् । मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता चाहिन्छ,’ उनले चुनौती दिए, ‘यो स्थिरतालाई अस्थिर परिस्थितितर्फ धकेलेर आफूनिहित र कुण्ठित स्वार्थ प्राप्तिका निम्ति लाग्नेप्रति मेरो आक्रोश र चेतावनी हो ।’

पौवादुङ्मा गाउँपालिका अध्यक्ष राई संविधान जारीपछि भएको स्थानीय तह निर्वाचनबाट ७५३ स्थानीय तहमध्ये एकमात्र कार्यपालिका सदस्यसहित निर्वाचित स्थानीय तह अध्यक्ष हुन् । ‘७५३ स्थानीय तहको गहिरो अध्ययन गरेर उनले काम गरेका छन् कि छैनन्,’ उनको तर्क छ, ‘यसैबाट भण्डारीले जवाफ पाउनेछन् । उनी इमानदार युवा कार्यकर्ता हुन् भने गाँस–वासका लागि भन्दा माथि उठेर पार्टी हितका लागि लाग्दा कल्याण हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्