‘आलोक प्रवृत्ति’ किनारा लगाइएपछि जुनबेंसीमा उर्लेको उत्साह


जुनबेंसी ।

रणनीतिक रक्षाबाट फौजी योजना रणनीतिक सन्तुलनमा अघि बढिरहेको थियो । ‘आलोक प्रवृत्ति’ले पूर्वमा अर्थपूर्ण तरिकाले काम–कारबाही अघि बढ्न सकेको थिएन । फौजी कारबाहीमा सोचेजस्तो लक्ष्य हासिल गर्नै सकेका थिएनौं ।

मेलुङ मोर्चामा असफल भएपछि केन्द्रीकृत रूपमा फौजी कारबाही अघि बढाउन सकिएन । मनोगत र अधिभूतवादी ‘आलोक प्रवृत्ति’का कारण असफल हुनुपरेको निष्कर्ष निकाल्न कुनै आइतबार कुर्नै परेन । आलोक स्वयम्ले मेलुङ मोर्चाको ‘म्याप ब्रिफिङ’ गरेका थिए ।

पार्टी केन्द्रले पूर्वी कमान्डमा रहेको ‘आलोक प्रवृत्ति’ किटान गरी किनारा लगाइसकेको थियो । जनयुद्धकै क्यान्सरका रूपमा देखिएको ‘आलोक प्रवृत्ति’ किनारा लगाइएपछि पूर्वले सम्भावनाका नयाँ–नयाँ ढोका खोल्दै जाने जमर्को गर्दै गयो ।

पूर्वाञ्चल कमान्ड इन्चार्जको भूमिकामा मोहन वैद्य ‘किरण’ पठाइयो । लगत्तै संवत् २०५६ चैत २, ३ र ४ गते दोलखाको सैलुङमा पूर्वी कमान्डको राजनीतिक प्रशिक्षण चलाइयो । प्रशिक्षणपछि धारिलो विचारको मसाल बोकेर ‘आलोक प्रवृत्ति’ र दुस्मनलाई समेत तह लगाउन आ–आफ्नो कार्यक्षेत्रतिर लाग्यौं । त्यसताका पार्टीले मलाई दोलखा जिल्ला संगठन समिति सदस्यको जिम्मेवारी दिएको थियो । फौजी रूपमा सेक्सन कमान्डरको जिम्मेवारीमा थिएँ ।

त्यतिबेलै हाम्रो स्पेसल टास्क फोर्स (एसटीएफ) ले चैत २४ गतेलाई दृष्टिगत गर्दै फायरिङ एम्बुसको योजना बनायो । योजना सफल पार्न अघि बढ्यौं । योजना सफल पार्न सकिएन । पार्टीको फौजी योजनामुताबिक शृंखलाबद्ध रूपले केन्द्रीकृत मोर्चा खोल्दै हेडक्वार्टरको निर्देशनबमोजिम रेकीमा लाग्यौं । हामीले पूर्वतिरै फौजी योजना ‘सेटिङ’ गर्यौं । त्यही योजनासाथ अघि बढ्यौं ।

डम्बर थामी ‘अनुपम’

पूर्वी पहाडी जिल्लातिर मोर्चा खोल्ने योजनासाथ हाम्रो एसटीएफ त्यतातिर केन्द्रित भयो । मोर्चाको आवश्यक युद्धसामग्री तयार पारेर घामपानी, झरी, रात, दिन, भोक, प्यास, थकाइ नभनी त्यता लाग्यौं ।हामीले सर्वप्रथम सोलुखुम्बुको किन्जामा रहेको इलाका प्रहरी कार्यालय ‘टार्गेट’मा राख्यौं । हाम्रो योजना ‘एक्सपोज’ भयो । दुस्मनले एक सयजना दंगा फोर्स तयारी अवस्थामा राखेपछि चौकीनजिकै पुगेका हामी फर्कनुपर्यो । योजना असफल हुँदा निराश हुनु स्वाभाविकै हो । तर, हेडक्वार्टरले वैकल्पिक योजना ‘सेटिङ’ गरेकाले सोही योजनामा अघि बढ्यौं । उता, पश्चिम कमान्डले जाजरकोटको पाँचकटिया इलाका प्रहरी कार्यालय कब्जा गरेर तहल्का मच्चाएको थियो । त्यसपछि पूर्वलाई चुनौती थपियो । पाँचकटिया इलाका प्रहरी कार्यालय जुलुस फर्मेसनमा कब्जा गरियो भनेर सुनाइयो । तसर्थ, हामी पनि वैकल्पिक ‘टार्गेट’लाई छिटोभन्दा छिटो सफल पार्न अघि बढ्यौं ।

बाटो लामै थियो । हिमाली भेगको इलाका पार गरेर जुनबेंसी पुग्नुपथ्र्यो । चौकी आक्रमण गरेर दुस्मनलाई तीनछक पार्ने सोचसहित यात्रामा ५९ जना थियौं । झमझम पानी परिरहे पनि यात्रा रोकिएन । सबैका झोलामा बमबारुद र सातु थिए । पानीमा सातु मुछेर खाँदै, हाँस्दै, रमाउँदै अघि बढिरह्यौं । बाटैभरि सुनपाती र धुपी मगमगाइरहेका थिए । नौरङी डाँफे आफ्नै लयमा नाचिरहेका देखिन्थे ।

नुम्बुर हिमालकै काखबाट अघि बढिरहेका थियौं । ५,००० फिट उचाइको काला भन्ज्याङ पार गर्दैगर्दा कतिपय कमरेडलाई लेक लाग्यो । कतिपय कमरेडको मुटुको धड्कन बढिरह्यो । कतिपयको खुट्टा बटारिइरहेका थिए । केहीलाई बोक्दै र केहीलाई डोर्याउँदै अघि बढ्नुको विकल्प थिएन । दुई दिन, एकरात हिँडेपछि साँझपख जुनबेंसी पुग्यौं । सेल्टर लिइएको शेर्पा दाजुको त्यो घर काठमाडौंको आलिसान महलजस्तै थियो । त्यही घरमा खाना खाएर सुत्यौं । जुन घरमा हामी सबै अटायौं । भोलिपल्ट साँझको खाना खाएर मोर्चातिर लाग्ने तयारीमा थियौं ।

हामी ‘टार्गेट’को नजिकै पुगेकाले गोपनीयताको असाध्यै ख्याल गनुपथ्र्यो । गोपनीयता ख्याल गर्दै हाम्रा पाइला मोर्चातिर अघि बढ्यो । हामीमा अथाह साहस थपिएको थियो । ‘टार्गेट’को नजिकै पुगेर फायर खोल्यौं । प्रहरी पुरानो तर खाली गुम्बामा आश्रय लिएका रहेछन् । हाम्रो निशाना गुम्बातिरै सोझियो । एकछिन दोहोरो फायरिङ चल्यो । प्रहरी चिच्याउन थाले । आधा घन्टामा मोर्चा ‘फाइनल’ भयो । माइन हानेर प्वाल पारेको ठाउँबाटै भित्र पस्ने जमर्को गर्यौं । दुस्मनले भित्रबाटै फायर गरिरहेका थिए । प्वाल परेको ठाउँबाट गोली हानिरहेकै थिए । दुई/चार ग्रिनेड हानेर गुम्बाभित्र पस्दा प्रहरी लडिरहेका थिए । राइफल छरपस्ट देखिन्थे । मैले सबैभन्दा पहिला दुई राइफल टिपें । दुस्मनको क्याम्पभित्र पसेर उनीहरूको राइफल समात्न पाउँदा खुसीको सीमा थिएन । प्रहरीका इन्स्पेक्टर भएकाले माउजर खोज्न थालें । तर, भेटिएन । अरूले पनि हतियार खोजिरहेकै थिए । माउजर खोज्दै जाँदा भर्याङमुनि एक प्रहरी काँपिरहेका थिए । मलाई देख्नासाथ हात जोडेर बिन्ती बिसाए, ‘हजुर म कामीको छोरा हुँ, मलाई नमार्नूस् । मेरो घरमा स्वास्नी, छोराछोरी छन् ।’ मैले उनलाई माउजर कहाँ छ भनेर सोधें । उनले सुनाए, ‘इन्स्पेक्टर साप हुनुहुन्न । उहाँले नै लिएर जानुभएको छ ।’

मोर्चा सफल भयो । त्यहाँबाट थ्रीनट थ्री राइफल चार थान, राउन्ड बुलेट ४००, केही संगीन र युद्धसामग्री लिएर मोर्चाबाट रिट्रिट भयौं । आकाशमा हेलिकोप्टर घुम्न थालिसकेको थियो । हामी भने नाक ठोक्किने बाटो उकालियौं । बोकेको खानेकुरा सकिसकेको थियो । भोकै बस्नुको विकल्प थिएन । बीच–बीचमा चौंरी र भेडीगोठ भेटिए । चौंरीको दूध र चीज खायौं । हिमालको काखैकाख अघि बढिरह्यौं । एक भेडीगोठमा ४०० रुपैयाँमा एक पाथी चामल किन्यौं । भेडासमेत किनेर चामलमा मिसाएर पकाएर अलि–अलि बाँडेर खाएपछि बाटो लाग्यौं । रात पर्यो । हिमाली भेगको चट्टाने ओढारमा बास बस्यौं । केही कमरेड ओढारमा सुते । ओढारमा सबै अटिएन । कोहीकोही ओढारबाहिर भुइँमा प्लास्टिक ओढेर सुते । कमान्डर रामजीले रातैभरि रोमाञ्चक गफ गरेर हँसाए । हिमालको चिसोले सताएपछि धुपीको स्याउला बालेर न्यानो पार्ने कोसिस गरियो । बिहानै उठेर हिमालको चिसो बतास ओढेर बाटो लाग्यौं । शेर्पा दाइले भनेको १८ घन्टाको बाटो हामीले तीन दिनमा छिचोलेर दोलखाको उत्तरी भेग (चङ्खु) पुग्यौं ।

(लेखक थामी, जनमुक्ति सेनाका ब्रिगेड सहकमान्डर हुन् ।)

प्रतिक्रिया दिनुहोस्