मुक्तक प्रतियोगितामा प्रथम हुँदा २०० को रिचार्ज



दुर्छिम (खोटाङ) । काठमाडौंबाट सञ्चालित एक अनलाइनले मासिक रूपमा गर्दै आएको मुक्तक प्रतियोगितामा अम्बिर राई प्रथम भएका छन् ।

साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका राई व्यन्जन डटकमले मासिक रूपमा गर्दै आएको मुक्तक प्रतियोगितामा प्रथम भएका हुन् । कात्तिक महिनाको प्रतियोगितामा प्रथम भएका राईले पुरस्कारस्वरूप २०० को रिचार्ज र प्रमाणपत्र पाएको जानकारी गराए ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा झाप्पा खोटाङका मुक्तककार राई शिक्षण पेसामा संलग्न छन् । श्री कालिका आधारभूत विद्यालय हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा झाप्पामा अध्यापनरत शिक्षक राईले संवत् २०७२/०७३ देखि साहित्य लेख्न थालेका हुन् ।

एकताका चिकित्सक बन्ने सपना देखेका उनी शिक्षण र साहित्य लेखनमा रमाइरहेका छन् । दुवै विधमा रमाइरहेका उनले साहित्य बुझेर लेख्न थालेको धेरै भएको छैन । संवत् ०७४/७५ देखि साहित्य बुझेर लेख्न थालेका उनका साहित्यिक सिर्जनाले देश, काल, परिस्थिति बोल्दै आएका छन् ।

मुक्तक प्रतियोगितामा प्रथम भएका मुक्तक

(१)

हुँदैन सम्पत्ति, हुन्न कमाइ तनाव दिइरहन्छ
कुटुकुटु मन, मुटु खाई तनाव दिइरहन्छ,
धनीलाई त हर्ष, उल्लास दिन्छ होला दसैंले
तर, हरेक साल गरिबलाई तनाव दिइरहन्छ ।

(२)
सस्तो सामानझैं जिन्दगी टिकेन यही भन्नेछु
यसरी त पढाइको लगानी झिकेन यही भन्नेछु,
विदेश किन गएको ? भनी कसैले सोध्यो भने
धेरै पढियो तर प्रमाणपत्र बिकेन यही भन्नेछु ।

(३)
उमार्छु बरु तरकारी आफ्नै बारीमा
जताततै हरिया पारी आफ्नै बारीमा,
कृषिप्रधान देश भनी चिनाउनु छ मैले
जन्माइदिन्छु रोजगारी आफ्नै बारीमा ।

(४)
छोड्नै सकिनँ उसको प्यार गरिदेऊ भनिन्
आएर मकहाँ हतार–हतार गरिदेऊ भनिन्
डाक्टरसाब याद आउँछ विछोडपछि पनि
मलाई यसको चाँडै उपचार गरिदेऊ भनिन् ।

(५)
डर लाग्छ अनि हुन्छ थुरथुर बिजुली चम्किँदा तर्सन्छ
यो कुरा मान्नुस् बिन्ती हजुर बिजुली चम्किँदा तर्सन्छ,
बलात्कारीलाई एकचोटि मृत्युदण्ड दिनुहोस् सरकार
किनकि अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ ।

प्रतिक्रिया दिनुहोस्