देशलाई मगन्तेविहीन बनाउने अभिप्रायले चीनका कम्युनिस्ट सरकारले माग्नेलाई प्रतिबन्ध लगाएको थियो । तर, असफल रह्यो चीन सरकारको प्रयास । चीनमा मात्रै होइन, मागेर गुजारा चलाउनेहरू संसारमै विद्यमान छन् ।
सडक–पेटी, मठ–मन्दिर, मस्जिदलगायत सार्वजनिक स्थलमा लस्करै देखिन्छ मगन्तेहरू । यी ठाउँमा बसेर आफ्नोे धर्म निर्वाह गर्दा अरूलाई परेको असरसँग उनीहरूलाई वास्ता छैन । पछिल्लो समयमा बाटो छेकेर माग्नेहरूको बाहुल्य पनि बढ्दै गएको छ, काठमाडौंको व्यस्त सडकमा ।
कोही भन्छन्, ‘माग्नेलाई प्रोत्साहन गर्नुहुन्न ।’ ‘चोरेर खानुभन्दा माग्नु बेस, माग्नेले अरूको त खोस्दैन,’ भन्छन् अर्काथरि । हो जस्तो पनि लाग्छ, चोरेर खानुभन्दा मागेर खानु धेरै उत्तम । बालबालिका, बृद्धबृद्धा, अपाङ्ग–सबलाङ्गलगायतका माग्नेहरू छन् हाम्रो देशमा ।
बेरोजगारको सङ्ख्या सालिन्दा चार प्रतिशतले वृद्धि भइरहेछ । नेपालको कूल जनसंख्याको १७.४ प्रतिशत पूर्ण रूपमा बेरोजगार छन् । जसभित्र पर्छन् माग्नेहरू पनि । नेपालका प्रमुख सहरहरूमा देखिएका कतिपय मगन्तेहरू भने भारतीय नागरिक छन् । जसलाई भारतीय सरकारको सुराकीको रूपमा पठाएको हो भन्ने एक खालको मत छ ।
नेपालमा जस्तै पश्चिमा मुलुकहरूमा मगन्तेहरूको माग्ने काइदा आ–आफ्नैखालका छन् । मूर्तिझैं देखिएका १ र २ नम्बरका यी तस्बिर वास्तविक मूर्ति नभएर मगन्तेहरू हुन् । आफूले लगाएको कपडा र अनुहार रङ्गरोगन गरेर माग्न बसेका यिनीहरू फ्रान्सका राजधानी पेरिसका सडकमा विगत बीस वर्ष अघिदेखि यसरी नै माग्दै आएका छन् भने ३ नम्बर तस्बिरका चार्ली च्याप्लिनको भेषधारण गरी माग्न बसेका यी मगन्ते विगत तीस वर्षदेखि स्ट्रासवर्ग सहरमा यसरी आफ्नोे धर्म निर्वाह गरिरहेका छन् । यत्ति हो, हाम्रा देशका मगन्तेहरू मुखै फोरेर रुपियाँ माग्छन् भने पेरिसका मगन्तेहरू चुपचाप बसेर ।
स्मरण रहोस्, मगन्तेहरूको समस्या समाधानका लागि केही समयअघि नाइजेरियामा सम्मेलन भएको थियो । चीनका कम्युनिस्ट सरकारले जस्तै संसार मगन्तेविहीन बनाउने अभिप्रायले माग्नेलाई प्रतिबन्ध लगाउने हो भने बङ्गलादेशका सरकारले मगन्तेलाई सहुलियत दरमा ऋण उपलब्ध गराएझैं प्रभावकारी योजना तर्जुमा गर्दै उनीहरूलाई श्रमको गीत गाउन सिकाउँदै गएमा माओत्सेतुङ अख्तियार गरेको मगन्तेविहीन देश बनाउन सकिएला ।
तस्बिरहरू : पुष्प केसी, लीना श्रेष्ठ, लेखक