वडाध्यक्ष बस्नेतद्वारा सुत्केरीलाई खाद्यसामग्री



बडहरे (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे वडाध्यक्ष किशोरकुमार बस्नेतले सुत्केरी स्याहारका लागि खाद्यसामग्री सहयोग गरेका छन् ।

वडाध्यक्ष बस्नेतले स्वास्थ्यचौकी बडहरेबाट आइतबार डिस्चार्ज भएकी बुङ्देलनिवासी उर्मिला नेपालीलाई सुत्केरी स्याहारका लागि खाद्यसामग्री सहयोग गरेका हुन् ।

‘२० किलोग्राम चामल, १५ वटा अन्डा, दुई किलो नुन, एक लिटर खानेतेल र तीनवटा नुहाउने साबुन उपलब्ध गराएको छु,’ वडाध्यक्ष बस्नेतले खुसीको खबर सुनाए, ‘विश्वव्यापी महामारी कोरोनाले सुत्केरी स्याहारमा समस्या छँदै छ । यो समयमा प्रसूति हुने वडावासीलाई सहयोग गर्नेछौं ।’

‘स्वास्थ्यचौकीबाट घर फर्कंदै थियौं,’ नेपालीले पुलकित हुँदै सुनाइन्, ‘अध्यक्षज्यूले नजिकैको पसलबाट खाद्यसामग्री किनेर दिनुभयो । अप्ठ्यारो अवस्थामा यस्तो सहयोग पाइएला भनेर सपनामा पनि चिताएकी थिइनँ । कम्ती खुसीको लागेको छैन । गुन बिर्सने छैनौं ।’

‘बन्दाबन्दी (लकडाउन)ले सबैको जनजीवन अस्तव्यस्त पारेको छ,’ वडाध्यक्ष बस्नेतले भने, ‘त्यसमाथि बडहरेका दलित समुदायलाई झन् मर्कामा पारेको छ । त्यसलाई दृष्टिगत गर्दै वडाले सकेको सहयोग गरेको हो ।’

बन्दाबन्दीको समयमा सराहनीय काम गरेको भन्दै वडाध्यक्ष किशोरकुमार बस्नेतको प्रशंसा गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका नगर उपप्रमुख बिमला राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘ग्रेट वर्क ।’

हलेसी तुवाचुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेशबावु घिमिरे सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘उदाहरणीय कामका लागि नमन ।’

‘पवित्र कर्म,’ नेपाल विद्यार्थी संघ खोटाङ अध्यक्ष राजकुमार बस्नेत भन्छन्, ‘आमा र बच्चाको शुभलाभको कामना । सबैको जय होस् ।’

प्रतिक्रिया दिनुहोस्