सूर्य र सयपत्रीको शक्ति, बोटमै ओइलायो सयपत्री


सयपत्रीले आफ्ना पातहरू चारैतिर फैलाउँछ
किनकि, सूर्य र सयपत्रीको शक्ति समान छ
–हेनरी कन्स्टेबल

रामपुर (पाल्पा) । परीक्षणका रूपमा लगाइएको सयपत्री फूलले पहिलो उत्पादनमै राम्रो आम्दानी दिएपछि रामपुर नगरपालिका–४ पाल्पानिवासी दिलबहादुर थापाले पुष्प व्यवसाय विस्तार गरे । बन्दाबन्दीले गर्दा दुई रोपनी जग्गामा लगाइएको सयपत्री बोटमै ओइलाएर खेर गएको छ । लकडाउनले बजारमा बिक्री गर्न नपाउँदा तीन लाखभन्दा बढी नोक्सान भएको थापा बताउँछ ।

पुष्प व्यवसायी थापाले बुटवलमा एक हप्ताको तालिम लिएर वर्ष दिन अघिदेखि व्यावसायिक तवरले पुष्प व्यवसाय सुरु गरेको हो । एक रोपनी क्षेत्रफलमा लगाइएको फूलबाट एक लाख ५० हजारबराबरको आम्दानी भएपछि व्यवसायमा हौसिएका थापा फूल बिक्री गर्ने समयमा बन्दाबन्दीले गर्दा ओइलाएर झर्न थालेपछि चिन्तित छन् ।

पहिलोपटक यहाँ फूल खेती सुरु भएपछि स्थानीयको फूल खरिद तथा अवलोकनमा आकर्षण बढ्यो । थापा नेपालगन्ज, बुटवल, पाल्पा सदरमुकाम तानसेन बजारलगायत स्थानमा फूल बिक्री गर्थे । यहाँ उत्पादित फूल प्रतिकिलो चार सय र प्रतिमाला एक सयमा बिक्री भइरहेको छ ।

तानसेन नगरपालिका–९ स्थित अर्खलेमा माडी माण्डव्य कृषि समूहले करिब १२ रोपनी क्षेत्रफलमा पुष्प व्यवसाय र तरकारी खेती गर्दै आइरहेको छ । सयपत्री, मखमली तथा विभिन्न जातका फूल उत्पादन गरी बिक्री गर्ने गरिएको समूहका अध्यक्ष दिनेश बस्याल बताउँछन् । समूहमा आबद्ध १५ फरक क्षमता भएका व्यक्तिले मात्र व्यवसाय चलाएका छन् ।

नर्सरीमा फुलेका फूल बिक्री गर्ने ठाउँ नहुँदा बोटमै ओइलाएर झर्न थालेको अध्यक्ष बस्यालले बताए । फूल बिक्री गर्न नपाउँदा सात लाखबराबरको नोक्सान हुने अध्यक्ष बस्यालको अनुमान छ । यहाँ उत्पादित फूल सदरमुकाम तानसेन र बुटवल बजारमा खपत हुँदै आएको छ । जिल्लामा पछिल्लो समय फूलमा आकर्षण बढे पनि व्यावसायिक कृषक अत्यन्तै न्यून रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् ।

थोरै जग्गामा पनि फूल खेती गरेर राम्रो कमाइ गर्ने अवसर भए पनि जिल्लाका अधिकांश किसानले खाद्यान्न र तरकारी बालीमा जोड दिने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्