दाङ । कोभिड–१९ लाई दृष्टिगत गरी सरकारले गरेको ‘लकडाउन’ले खाद्यान्न अभाव बेहोर्नुपरेको दाङको नाका क्षेत्रका जनतालाई राजपुर गाउँपालिका–१ दाङका वडाध्यक्ष सद्दाम सिद्धिकीले खाद्यान्न सहयोग गरेका छन् ।
वडाध्यक्ष सिद्धिकीले नेपाल–भारत सीमानाकाका नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन् । ‘लकडाउनले त्यहाँ खाद्यान्न ढुवानी हुन सकेन । त्यसैले स्थानीयलाई खाद्यान्न जोहो गर्न समस्या परेको थियो,’ वडाध्यक्ष सिद्दिकीले भने, ‘तसर्थ, मैले सहयोग गरेको हुँ ।’
वडाध्यक्ष सिद्दिकीले ३५ हजार मूल्यबराबरको खाद्यान्न सहयोग गरेका छन् । उनले तीन क्वीन्टल चामल, २४ लिटर खानेतेल, १५ पोका पीठो, एक पेटी अण्डा, पाँच हजारबराबरका रिचार्ज कार्ड, ३० किलो आलु, ३० लिटर दूध, १० किलो टमाटर र अन्य तरकारी सहयोग गरेका हुन् ।
दाङ प्रशासनले दैनिक आवश्यकीय सामग्री किन्न बिहान ६ देखि ९ बजेको समय दिए पनि सीमानाकामा बस्ने नेपालीलाई गढवा, राजपुर र लमही पुग्न चार घण्टा समय लाग्छ ।