रेडियो नेपालमा ‘करेन्ट अफेयर्स’ : विगत र आगतको बाटो



पृष्ठभूमि

संवत् २००७ को प्रजातन्त्रसँगै सुरु भएको रेडियो नेपाल जनमानसमा राम्रो छाप पार्न सफल ऐतिहासिक सञ्चारमाध्यम हो । रेडियो भन्नासाथ ‘रेडियो नेपाल’ भनेर बुझ्नेहरूको संख्या अहिले पनि ठूलो छ । विगतमा ‘समाचार’ भन्ने शब्द धेरै नेपालीले रेडियो नेपालबाटै सुनेका हुन् । अंग्रेजी भाषाको ‘न्युज’बाट नेपालीमा अनुवाद गरिएको ‘समाचार’ शब्द संस्कृत भाषाको ‘नव’ शब्दबाट बनेको हो भनी कतिपय भाषाविद्ले भनेका छन् । कतिपयले ‘न्युज’ शब्द ल्याटिन भाषाको ‘नोवो’ शब्दबाट बनेको भनेका छन् । अंग्रेजी शब्द एन अर्थात् नर्थ (उत्तर), इ अर्थात् इस्ट (पूर्व) डब्लु अर्थात् वेस्ट (पश्चिम) र एस अर्थात् साउथ (दक्षिण) यी चारै दिशा बुझाउने भएकाले चारैतिरका घटना विवरण समाचार हुन् भनी परिभाषित गर्ने गरेको पाइन्छ । समाचारको सैद्धान्तिक पक्ष र परिभाषा जे भए पनि समाचार सबैका लागि चासोको विषय हिजो पनि थियो र आज पनि छ । नेपालमा रेडियो समाचारको इतिहास संवत् २००७ माघ २० गते विराटनगरबाट प्रसारित भएको ‘प्रजातन्त्र नेपाल रेडियो’को सुरुवातसँग जोडिएको छ । उक्त रेडियोले समाचारमार्फत नै आफ्नो प्रसारणको सुरुवात गरेको थियो भनी रेडियोको इतिहाससँग सम्बन्धित विभिन्न दस्तावेजमा उल्लेख छ । ००७ चैत २० गते स्थापित रेडियो नेपालको सुरुवातमैं बिहान, बेलुका नेपाली र अंग्रेजीमा समाचार दिने गरिएको थियो । ०१७ देखि जिल्लाका गतिविधिलाई समेटेर जिल्ला समाचार दिन थालेको रेडियो नेपालले अहिले २१ वटा भाषामा समाचार दिइरहेको छ । सुरुवाती समयदेखि नै समाचार दिँदै आए पनि ‘करेन्ट अफेयर्स’का कार्यक्रम भने ०४७ देखि मात्रै प्रसारण गर्न थालेको हो ।

बहुप्रतीक्षित तर चुनौतीपूर्ण

अंग्रेजी शब्दको ‘करेन्ट’ र ‘अफेयर्स’ मिलेर बनेको ‘करेन्ट अफेयर्स’ को अर्थ समसामयिक मामिला या विषय भन्ने हुन्छ । ०४७ मा सुरु गरिएको ‘घटना र विचार’ रेडियो नेपालको समसामयिक विषय समेटिएको पहिलो ‘करेन्ट अफेयर्स’ कार्यक्रम थियो, जहाँ यो पंक्तिकारले फरक–फरक समयमा गरी करिब साढे तीन वर्ष काम गर्ने अवसर पाएकी थिएँ । आवाजबाट जनतामा जोडिने हुँदा रेडियो नेपालप्रतिको आकर्षण जनमानसमा सुरुदेखि नै ब्यापक थियो । ०४७ सम्म पनि घरमा रेडियो हुनु शानको विषय मानिन्थ्यो । समयक्रममा कसको घरमा रेडियो छ भन्ने कुरा यसरी गौण बन्न पुग्यो कि इन्टरनेट र मोबाइलका कारण रेडियो सेट मानिसको स्मृतिबाट क्रमशः टाढा हुँदै छ ।

पढ्न नजान्नेले पनि सुन्न सक्ने भएकाले गाउँघर, सहर–बजार, गाउँ–बस्ती सबैतिर रेडियो उत्तिकै लोकप्रिय थियो । समाचारदेखि लोकगीत, नाटक, आधुनिक गीत हुँदै कृषि कार्यक्रमसम्म मानिस झुरुप्प जम्मा भएर सुन्ने गर्थे र ती कार्यक्रमको चर्चा हुने गथ्र्यो । एसएलसीको नतिजालगायतका बहुप्रतीक्षित समाचार रेडियोमार्फत नै जानकारी पाउने हुँदा गाउँका मानिसका लागि रेडियो नेपाल नै जानकारीको एकमात्र माध्यम थियो । गोरखापत्र हुलाकमार्फत गाउँमा पुग्न लामो समय लाग्ने भएकाले रेडियो नै एकमात्र विश्वसनीय सञ्चारमाध्यम थियो । समाचार सुन्दासुन्दै सकिन्थ्यो, त्यसपछि के भयो ? जानकारी पाइँदैनथ्यो । त्यस्तो बेलामा समाचार विश्लेषणसहित समसामयिक विषयमा कार्यक्रम आउँदा ‘घटना र विचार’ले उच्च लोकप्रियता प्राप्त गर्यो । राजनीतिक घटनाक्रमको विश्लेषण र राजनीतिक व्यक्तिसँगका कुराकानीसमेत दिइने हुँदा उक्त कार्यक्रम मानिसले सुन्न खोजिरहेको कार्यक्रम बन्यो । यद्यपि, ‘घटना र विचार’ राजनीतिक हस्तक्षेपमुक्त भने थिएन ।

घटना र विचारपछि ‘करेन्ट अफेयर्स’का रूपमा परिवेश, परिक्रमा, आजको सन्दर्भलगायतका कार्यक्रम रेडियोबाट प्रसारण भए । विश्वव्यापी रूपमा रेडियोमा ‘करेन्ट अफेयर्स’ कार्यक्रमको सुरुवात ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)बाट भएको हो । बीबीसीका करेन्ट अफेयर्स ब्रोडकास्टर माइकल ग्रिनले ७० को दशकमा रेडियोमा बढी माग भएको करेन्ट अफेयर्स कार्यक्रम गर्न त्यत्तिकै चुनौतीपूर्ण पनि थियो भनी आफ्ना लेख र भनाइमा उल्लेख गरेका छन् । दोस्रो विश्वयुद्धपछि सुरु गरिएको समसामयिक विषयको विश्लेषण र छलफल गर्ने कार्यक्रममा त्यतिबेला राष्ट्रवाद, युद्ध र मृत्युका कुरा गर्ने गरिएको मिडियाको इतिहासका विज्ञ प्राध्यापक ह्यु चिग्नेलले ‘करेन्ट अफेयर्स रेडियो : रियलाइजिङ न्युज एन्ड कमेन्ट’ शीर्षकको लेखमा लेखेका छन् । बीबीसीमा मात्र होइन, रेडियो नेपालमा पनि सुरुवातबाटै समसामयिक विषयका कार्यक्रम बहुप्रतीक्षित तर चुनौतीपूर्ण थिए । राजनीतिक हस्तक्षेप त छँदै थियो, कार्यक्रम प्रस्तोताको प्राविधिक ज्ञानदेखि विषयवस्तुको गहन अध्ययन कमीका कारण पनि चुनौतीलाई बढाएको थियो ।

घटना र विचार : आफ्नै अनुभव

०५२ को असोज महिनाबाट मैले रेडियो नेपालको घटना र विचार कार्यक्रममा काम गर्न सुरु गरें । रेडियो नेपालमा घटना र विचारको चौथो टम थियो त्यो । त्यसअघि ०४७ मा पुरुषोत्तम दाहाल, ०५१ मा देवप्रकाश त्रिपाठी र ०५१ मै कुन्दन अर्यालको टिमले सञ्चालन गरिसकेको उक्त कार्यक्रमको चौथो टीमको सञ्चालकका रूपमा पुनः पुरुषोत्तम दाहाल हुनुहुन्थ्यो । ०४७ मा देशव्यापी चर्चा पाउँदापाउँदै हठात निकालिनुभएका पुरुषोत्तम दाहालको पछिल्लो टीममा उहाँसहित हामी नौजना थियौं । करिब आधा घन्टाको कार्यक्रमका लागि नौजनाको टीम । कसले कुन स्टोरी गर्ने र उसले कति समय लिने भन्ने कुराको बाँडफाँड गर्न कति गाह्रो थियो अनुमान गर्न सकिन्छ । समाचार विश्लेषण र समसामयिक घटनाबारे नेतृत्वमा रहेकाको अन्तर्वार्ता लिन राम्रै प्रतिस्पर्धा चल्थ्यो ।

छापा पृष्ठभूमि र त्यसमा पनि साप्ताहिक पत्रिकामा कार्यरत भएकाले विषयवस्तुप्रतिको बुझाइ र टिप्पणीका लागि मलाई खासै गाह्रो भएन । सुरुमा केही प्रेस विज्ञप्तिमा सीमित गरे पनि मैले गर्न सक्छु भन्ने विश्वास भएपछि पुरुषोत्तम दाइले पटक–पटक प्रमुख सामग्री निर्माण गर्ने जिम्मा दिनुभयो । केही साथीहरू पहिलो घटना र विचारमै काम गरिसक्नुभएको र मिडियामै कार्यरत भएकाले चुनौती त्यति थिएन । तर, केही साथीको भने मिडियामा काम गरेको अनुभव थिएन । अन्य मुलुकका विभिन्न मिडिया र रेडियो नेपालका समसामयिक कार्यक्रमबीच फरक के थियो भने अरू देशमा व्यावसायिक पत्रकारबाट यसप्रकारका कार्यक्रम निर्माण गरिएका हुन्थे भने हामीकहाँ एकप्रकारको राजनीतिक नियुक्तिजस्तो हुने गथ्र्यो । जसकारण विद्यार्थी नेता शत्रुघनप्रसाद गुप्तादेखि गीत–संगीतमा चर्चित नन्दकृष्ण जोशीसम्म हाम्रो टीममा हुनुहुन्थ्यो । टीममा अलमल्ल देखेर एक दिन मैले नन्दकृष्ण जोशीलाई भनेकी थिएँ, ‘जोशीजी, तपाई संगीतको दुनियाँमा चर्चित मान्छे तर तपाईंका लागि यो सही ठाउँ भएन ।’ उहाँले केही नबोली चुपचाप टाउको हल्लाउनुभएको थियो । उहाँले अहिले पनि बेलाबेलामा उक्त प्रसंग निकालिरहनुहुन्छ ।

हामीले घटनालाई विश्लेषण गर्ने आधार प्रायः अघिल्लो दिन भएका राजनीतिक घटनाक्रम हुन्थे । ठूलो टीम भएकाले लेख्दा लामै लेखे पनि पढ्ने बेलासम्ममा छोट्याएर सानो बनाउनुपर्ने हुन्थ्यो । हामीले त्यतिबेला सामग्री छिटोछिटो पढ्नुका कारण पनि समय नै हो । छोटो समयमा धेरै कुरा दिन खोज्दा हतारहतार पढ्नुपथ्र्यो । अहिलेझैं घटना विश्लेषणका कार्यक्रम नभएकाले जसरी पढे पनि घटना र विचारको लोकप्रियता यति धेरै थियो कि बाहिर कतै जाँदा मानिस प्रस्तोतालाई हेर्न आउँथे । घटना र विचारमा मेरो प्रस्तुति सुनेर त्यतिबेला जन्मिएकी आफ्नी छोरीको नाम बबिता राख्ने एकजना बाबुलाई मैले केही वर्षअघि दोलखामा भेटेकी थिएँ ।

बबिता बस्नेत

सरकार परिवर्तन भएपछि घटना र विचारको टीम फेरिनु नयाँ कुरा थिएन । ०५३ चैतमा नेकपा एमालेको सरकार आएपछि हामीले बिदा पायौं । ०५४ को असोजमा नेपाली काँग्रेसको सरकार बनेपछि कृष्ण कँडेल सञ्चालक रहेको टीममा म फेरि प्रस्तुतिकर्ता बनेर गएँ । घटना र विचारको मेरो दुवै कालमा नेपाली काँग्रेस, राप्रपा र सद्भावनाको संयुक्त सरकार थियो । ०५५ मा नेपाली काँग्रेस र राप्रपासँग नेकपा माले सरकारमा आयो । सूचना तथा सञ्चार मन्त्रालय नेकपा मालेको भागमा पर्यो । भदौ महिना थियो जस्तो लाग्छ, म एउटा कार्यक्रमको सिलसिलामा फिलिपिन्स गएकी थिएँ । फर्कंदा उक्त टीमबाट मलाई हटाइसकिएको रहेछ । त्यसपछि सञ्चालक फेरिए र अर्कै टीमले कार्यक्रम चलाउन थाल्यो । अहिले सम्झँदा नयाँ टीमले अलिकति अनुभव बटुल्न पाएको हुँदैन सरकार परिवर्तन हुनासाथ अर्को टीम आउने कुरा कति धेरै अव्यावसायिक थियो भनेर आफैंलाई अप्ठ्यारो लाग्छ । आउने–जानेक्रम राजनीतिक र अव्यावसायिक भए पनि घटना र विचारले पत्रकारिताको व्यावसायिक जीवनमा धेरै कुरा सिकायो ।

पर्यवेक्षकलाई कसरी भेट्नुहुन्छ ?

घटना र विचारमा काम गर्दा खोटाङको सालम्बुस्थित घर गएको बेला गाउँका मानिसहरू मलाई भेट्न आए । जहाँ काम गरे पनि नगरे पनि गाउँघरमा बाहिरबाट कोही घर जाँदा भेट्न जानु सामान्य कुरा थियो । हामी पनि सानो छँदा कोही लामो समय बाहिर बसेर घर जाँदा दौडिएर भेट्न जान्थ्यौं । वरिपरि राई बस्ती भएको त्यो सुदूर गाउँमा छिमेकीलाई काका, मामा, फुपू, बैनी, दाइ नाता लगाएरै बोल्ने चलन छ । म गएको थाहा पाएपछि गाउँका एक भदा मलाई भेट्न आए । सन्चो–बिसन्चो, कहिले फर्कनेलगायतका कुरा सकिएपछि उनले रेडियो कार्यक्रमको कुरा सुरु गरे । रेडियोमा काम गर्ने मान्छे, गीत गाउने गायक, विभिन्न कायक्रमका सञ्चालकलगायतको कुरा गरिसकेपछि उनले सोधे, ‘अनि फुपू, पर्यवेक्षकचाहिँ रेडियोमा आफैं आउँछन कि तपाईंहरू उनीहरूलाई भेट्न जानुहुन्छ रु’ बडो उत्साहसाथ कुरा गरिरहेकी मलाई उनको प्रश्नले स्तब्ध बनायो । के जवाफ दिनु रु एकछिन त म अलमल्ल परें र गोलमोटल जवाफ दिएँ । ओहो।।। हामीले सामान्य रूपमा आफूले भन्न चाहेको निष्कर्ष पर्यवेक्षकको नाममा श्रोतासम्म पुर्याउने गरेको कुरालाई सर्वसाधारणले कति गम्भीर रूपमा लिएका हुँदारहेछन् भन्ने कुराले मलाई असहज बनाएको थियो । रेडियोप्रति अगाध लगाव भएका गाउँका ती युवाको उक्त प्रश्नले मलाई पछिसम्म घोचिरह्यो । आफ्नो प्रस्तुतिलाई पुष्टि गर्नका लागि हामी प्रायः अन्तिममा पर्यवेक्षकले बताएका छन् भन्ने गथ्र्यौं । उक्त घटनापछि मैले पर्यवेक्षक भन्ने शब्द सकेसम्म प्रयोग नगर्ने कोसिस गरें, गरिरहेकी छु ।

उच्च ओहदाबाट मुद्दातर्फ

के ‘करेन्ट अफेयर्स’मा राजनीतिक मुद्दामात्रै हुन्छन् रु सधैं राजनीति वरिपरि घुमिरहने समाचार विश्लेषण र समसामयिक विषयलाई सुनेर मानिसको मनमा यस्तो प्रश्न आउन सक्छ । विगतमा जे भए पनि अबका दिनमा रेडियो नेपालले विषयवस्तुमा पुनरावलोकन गर्नुपर्ने देखिन्छ । ‘हाइ¥यार्की’बाट ‘इस्यु’मा कसरी जाने रु समसामयिक कार्यक्रमका लागि रेडियो नेपालले आन्तरिक नीति बनाउनु आवश्यक छ । नीति नै बनेपछि प्रस्तोता जो आए पनि नीतिलाई मुख्य आधार मानेर कार्यक्रम गर्नुपर्ने हुन्छ । लामो समयसम्म समाचार र समाचारमूलक कार्यक्रममा उच्च पद र ओहदालाई मुख्य आधार मानेर समाचार र कार्यक्रम निर्माण भए । कुन ओहदामा भएको मानिसले के बोल्यो भन्ने कुरा समाचार विश्लेषणको पनि आधार बन्यो, बनाइयो । ०४७ पछि जब घटना र विचार सुरु भयो सरकारले नियुक्त गरेका पत्रकारले विपक्षीको तीव्र आलोचना गर्दै सरकारका कुरालाई बढाइचढाइ गरे । प्रधानमन्त्री र मन्त्रीका मन्तव्य प्रमुख मुद्दा बने । राजनीतिक दलहरूको सरकार बनेपछि सत्तापक्षीय दलका गतिविधिले स्थान पाउँदै जाँदा अन्य विषय छाँयामा परे । समाचारमात्र होइन, समाचार विश्लेषणका कार्यक्रमले पनि उच्च ओहदालाई नै महत्व दिए । समय त्यस्तै थियो, कसले के बोल्यो भन्ने समाचार आएपछि हामीले ‘उसले त्यस्तो किन बोल्योरु’ भन्नेबारे विश्लेषण गर्यौं। विनातालिम, विनाजानकारी एक्कासि हामी समसामयिक कार्यक्रमका सञ्चालक भएका थियौं । जे गर्न सक्यौं, समयअनुसार कोसिस गर्यौं । तर, अहिलेको समय र परिस्थिति फरक छ । आजभन्दा ३० वर्षअघि रेडियो नेपालको कोही प्रतिस्पर्धी थिएन । अहिले ६ सयभन्दा बढी एफएम रेडियोले समाचारसँगै समाचार विश्लेषण र समसामयिक विषयमा अन्तर्वार्ता तथा कार्यक्रम दिइरहेका छन् । यो रेडियो नेपालका लागि ठूलो प्रतिस्पर्धाको समय हो । त्यसैले दिने सामग्री र सामग्री पस्किने पुरानो शैली बदलेर रेडियो नेपालका करेन्ट अफेयर्स कार्यक्रम जनउपयोगी बनाउन जरुरी छ । करेन्ट अफेयर्समा गरिबी, हिंसा, स्वास्थ्य, शिक्षा, विकास, सुशासन, विपत् व्यवस्थापनलगायतका कुराले पनि स्थान पाउनुपर्छ । रेडियो नेपाल पब्लिक सर्भिस ब्रोडकास्टिङ (पीएसबी)तर्फ उन्मुख भएकाले समानता, समता, समावेशीकरणका साथै स्थानीय समुदायका आवाजलाई महत्व दिइनुपर्छ । वर्तमानमा भएका, घटेका घटना र आफूवरिपरिका मुद्दालाई करेन्ट अफेयर्सका मुद्दा बनाइनुपर्छ । समसामयिक विषयको विश्लेषण गर्दा कुनै पनि विषयमा भविष्यमा केसम्म हुन सक्छ भनेर आँकलन गरिने हुँदा जनसरोकारसँग सम्बन्धित मुद्दाले ठाउँ पाउँदा फलदायी हुन्छ ।

अहिले राजनीति मिडियाको वरिपरि घुमिरहने विषय हो । अस्थिर राजनीतिक परिवेशका कारण उथलपुथल भइरहने हुँदा राजनीतिक विषयवस्तु अहिले पनि ‘करेन्ट अफेयर्स’को प्रमुख विषय हो । उस्तै विषयमा मात्र केन्द्रित नभएर सडकदेखि संसद्सम्मका विषय विश्लेषणका मुद्दा हुनुपर्छ । समाचारमा सबै कुरा दिन सकिँदैन तर करेन्ट अफेयर्सको दायरा फराकिलो हुन्छ, सम्बन्धित विषयको विगत, वर्तमान र भविष्यबारे आँकलन गरेर सामग्री दिन सकिन्छ । विगतमा ओहदाअनुसारका वाणी दिने गरिए पनि अब रेडियो नेपालले आफ्ना समसामयिक कार्यक्रमलाई मुद्दामा आधारित बनाउनुपर्छ ।

लक्षित समूह को हुन् ?

‘करेन्ट अफेयर्स’ कार्यक्रमका लक्षित समूह को हुन् रु लक्षित समूहबारे सर्वेक्षण भएको छैन । सामान्यतया राजनीति र मुलुकको समसामयिक विषयमा सरोकार राख्ने समूहलाई लक्षित समूह मानेर कार्यक्रम निर्माण गर्ने गरिएको छ । तर, मिडिया र प्रविधिको तीव्र विकासका कारण सर्वसाधारण मानिस सबै अहिले समससामयिक विषयका लक्षित वर्ग हुन् । विभिन्न समयमा विकास हुने राजनीतिक घटनाक्रममा सर्वसाधारणको धारणा के हो रु अबका करेन्ट अफेयर्समा सर्वसाधारण जनताका आवाज पनि त्यत्तिकै महत्वसाथ समेटिन जरुरी छ । हिजोआज लामो कुरा सुन्ने मान्छेलाई समय र चाहना दुवै नभएकाले अब वर्षौंदेखि उस्तै भाषाशैली र विषयवस्तुबाट ‘सिफ्ट’ भई ‘स्मार्ट’ कार्यक्रम दिन सक्नुपर्छ । ‘करेन्ट अफेयर्स’मा गरिएका टिप्पणी र विश्लेषण ‘कन्फ्युजन’ बढाउने नभई विषय बुझ्न सहज हुनेखालका हुनुपर्छ । नकारात्मक सन्देश दिने र द्वन्द्व बढाउने कुरालाई घटाउँदै सकारात्मक सन्देश दिने र समस्याको समाधानतर्फ उन्मुख कार्यक्रम अहिलेको आवश्यकता हो । नकारात्मक हुनु र आलोचनात्मक हुनु फरक कुरा हो । समग्रमा करेन्ट अफेयर्स कार्यक्रमले अब सबै समुदायलाई आफ्ना लक्षित समुदाय ठानी अघि बढ्नुपर्छ ।

(बस्नेत घटना र विचार साप्ताहिककी सम्पादक र मिडिया एड्भोकेसी ग्रुपकी निर्देशक हुनुहुन्छ ।)

सन्दर्भ–सामग्री

अधिकारी कृष्ण ‘काठमाडौंका एफएम रेडियोमा समाचार’ मार्टिन चौतारी, विसं २०६२

अधिकारी डा। निर्मलमणि ‘आधारभूत पत्रकारिता तालिम पुस्तिका’ मिडिया एड्भोकेसी ग्रुप (म्याग) युनेस्को सन् २०१४

चिग्नेल प्रा. ह्यु ‘करेन्ट अफेयर्स रेडियो : रियलाइजिङ न्युज एन्ड कमेन्ट’ सन् २०१३

चापागाईं प्रज्ज्वल ‘कार्यक्रम घटना र विचारलाई खोतल्दा’ मार्टिन चौतारी, विसं २०६२

प्रतिक्रिया दिनुहोस्