जाँड खाएर यानप्रसाद गौतम ‘आलोक’ रुँदाको दृश्य हाँसउठ्दो


यानप्रसाद गौतम ‘आलोक’

गौरीशंकर र नुम्बुरबीचमा पर्ने पाथीभरा । उसको काखमा लडिबुडी खेल्दाको स्फुर्ति । त्यहाँबाट चेर्दुङ र हनुमन्तेलाई फन्को मार्दै श्यामा, माली, जिरी हुँदै ठुलोपातालतिर लाग्यौं । ठूलोपातालको सुनुवार बस्तीमा सेल्टर लियौं । रात कटाउन गाह्रो भयो । त्यो सेना र प्रहरीको गाउँ रहेछ । स्थानीय सुनुवार बूढाले राति नै जिरी प्रहरी चौकीमा खबर पुर्याएकाले बाटो लाग्यौं । पूर्वाञ्चलका तात्कालिक इन्चार्ज यानप्रसाद गौतम ‘आलोक’ हामीसँगै थिए । नेतृत्व असुरक्षा अनुभूति गरेर हिँड्यौं । हिँड्दाहिँड्दै पूर्वतिर मीर फाट्यो । बिहानीको आभा झल्मलायो । रविकिरणको न्यानो स्पर्शमा पाइला चालिए । बाटामै शंकास्पद दुई मानिस भेटिए । आलोकले दुवैलाई भाटा हानेर रगताम्य बनाए । हामी साबिक हावाँ गाउँ विकास समितिको एक घरमा खाना खान लाग्दा माथिबाट प्रहरी आएको खबर पायौं । हाम्रो शक्ति तयारी अवस्थामा थिएन । लगत्तै बाटो लाग्यौं ।

तामाकोसी तरेर आधार इलाका सैलुङतिर लाग्यौं । त्यहाँ मोर्चा खोल्ने योजना बन्यो । एक चौकीमाथि धावा बोल्न आलोकले बैठक बसाले । स्पेसल टास्क फोर्स (एसटीएफ)को हेडक्वार्टर (एचक्यु) र जिल्लाको एचक्युबीच बैठक बस्यो । बैठकले दोलखामै मोर्चा खोल्ने योजना बनायो । योजनाअनुसार मेलुङ इलाका प्रहरी कार्यालयमाथि धावा बोल्ने निधो भयो । सर्वप्रथम रेकीमा खटियौं । रेकी पूरा गरेपछि आवश्यक तयारी गर्यौं । लगत्तै म्याप ब्रिफिङमा लाग्यौं । आलोकले म्याप कोचिङ गराए । उनले म्याप ब्रिफिङ गराउँदा लाग्थ्यो– हाम्रा नेता पनि फौजी काममा दक्ष रहेछन् । सैन्यविज्ञानमा दख्खल रहेछन् । नेता हुनु त यस्तो पो ।

मोर्चामा पूर्वाञ्चलका जिल्ला सेक्रेटरीहरू सहभागी थिए । उनीहरूको सक्रिय सहभागिता रहेको मोर्चा रोमाञ्चक थियो । संवत् २०५६ मंसिर १४ गते एक जुवा घाम हुँदै खाना खायौैं । त्यसपछि अन्तिम रोलकाल भयो । आलोकले मोर्चा विजयको शुभकामना दिए । एसल्ट कमान्डरहरूलाई त अंकमालै गरे । उनको कुरा सुन्दा तत्काल दुस्मनमाथि जाइलागिहालौं लाग्थ्यो । घाम घर फर्किसकेको थियो ।

अँधेरी रातमा एसल्ट–एसल्टमा विभाजित एसल्ट कमान्डरको पछि लाग्यौं । सैलुङ डाँडा छिचोल्यौं । गह्रुँगो झोला र पाँचफुुटे राइफल बोकेर मोर्चा सम्पन्न गर्ने उत्कट अभिलाषा छँदै थियो । हाम्रो पदचाप सुनेर बास बसिसकेका चराचुरुंगी भुर्रभुर्र उड्थे । मिर्ग जोडजोडले चिच्याउँथे ।

मोर्चा जितियो भने अर्को कदममा पुग्न सकिन्छ भन्ने लागेकै थियो । फौजी गुणात्मकताको समेत आस गर्यौं । घ्याङसुकाठोकरको मुकुने र भिरकुनाबाट हिँडेर रातभरिमा साबिक डाँडाखर्क गाविस पुग्यौं । उज्यालो नखस्दै मगर बस्ती टेक्यौं । बाटाको साँघुरो दुई घरमा कोचियौं । मानिस दिनभरि यही बाटो भएर हिँड्थे । ‘टार्गेट’ नजिकै । योजना खुल्ने खतरा त्यत्तिकै । दिनभरि आ–आफ्नो एसल्टको छलफलमा बस्यौं ।

दिन ढल्दै गयो । साँझपख छुट्टैखालको अनुभूति भयो । मोर्चा सम्हाल्न अघि बढ्नु थियो । शनैः शनैः रात छिप्पिँदै गयो । हाम्रो यात्रा सुरु भयो । मेलुङतिर हान्नियौं । मंसिरे चिसोले सताएकै थियो । सैलुङ गजधुम्म परेको थियो । कालिञ्चोकले मन्द मुस्कान र गौरीशंकरले देखाएको सेता दाँतले ऊर्जा भरेको अनुभूति गर्यौं । हात्तीसुँढे र हनुमन्तेचाहिँ अँध्यारोमै पनि आफ्नो छायाँ देखाइरहेका थिए । गह्रुँगो झोला, राइफल अनि आफैं पुरिन साबेल, गैंती, कोदालो, बाँस बोकेर हिँडिरह्यौं । रुघाखोकीले मुखमा रुमाल कोचेर हिँडेको थिएँ । आफ्नै कारणले योजना खुल्छ कि भन्ने उत्तिकै चिन्ता । कतिखेर फायर खुल्छ र धितमरुन्जेल खोकौंला भन्ने प्रतीक्षामा थिएँ ।

डम्बर थामी ‘अनुपम’

रातको ११ बज्यो । १ नम्बर एसल्टले फायर खोल्यो । दुस्मनले पनि अन्धाधुन्ध फायर गरिरह्यो । दोहोरो भिडन्त चल्यो । हामीले पनि सशक्त आक्रमण गर्यौं । रातभर दोहोरो भिडन्त चलिरह्यो । भिडन्त लम्बिँदा प्राविधिक सामग्रीले काम गरेन । एउटा पनि माइन विस्फोट भएन । डिटोनेटरमात्रै विस्फोट भयो । प्रयोग गरिए पनि एलकेडीले सोचेजस्तो काम गरेन । दुस्मनको मनोबल बढ्दै गयो ।

त्यतिन्जेलसम्म सेक्सन कमान्डर उत्तरबहादुर ठाडामगर ‘शर्मा’ र कमलप्रसाद चौलागाईं ‘विशाल’ले शहादत पाइसकेका थिए । ‘शर्मा’ र ‘विशाल’ पूर्वका होनहार कमान्डर थिए । उनीहरूले अन्तिम सास फेर्नअघि नेकपा (माओवादी) जिन्दावाद । वीर सहिदहरू लालसलाम भनेर नारा लगाए । योद्धाहरू मोर्चामै थिए । लडिरहेका थिए । सैलुङ जंगलमा बसेर आलोक र रुकु चौलागाईं ‘रचना’ लडाइँको रमिता हेरिरहे । योद्धाहरू ढल्दै जाँदा, बन्दुक पड्किंदै गर्दा उनीहरू कुन रामलीलामा थिए ? स्थिति विडम्बनापूर्ण थियो । उनीहरूले विश्वलाई बडीगार्ड राखेर युद्धोन्मादी शैलीमा जिन्दगीका प्यास मेटाइरहे । सर्वहारा फलामे अनुशासनलाई धोती लगाउँदै सीमित स्वार्थमा लिप्त भए । आलोक र रचना प्रतिक्रान्तिकारी स्वार्थक्रीडामा लीन थिए । आलोकलाई रातको सन्नाटाबीचको त्यो जंगलसमेत मसक्क मस्केकी सुन्दरीजस्तै लाग्थ्यो होला । तात्कालिक ब्युरो इन्चार्जको त्यस्तो निकृष्ट कार्य देख्दा मूकदर्शक हुनुको विकल्प थिएन । आलोकबारे कुरा उठाए अनुशासनको कठघरामा उभिनुपथ्र्यो । उनलाई सनक चढ्यो भने ‘डम्पिङ’ गर्न पनि बेर लगाउँदैनथे । तसर्थ, हामीभन्दा उपल्लो तहका नेताले समेत आलोकबारे कुरा उठाउन हिम्मत गर्दैनथे ।

लडाइँ लम्बिँदै जाँदा जित्न सकिएन । उता, कृष्णप्रसाद दाहाल ‘कृपाश्वर’को कमान्डले राष्ट्रिय वाणिज्य बैंक कब्जा गर्ने जिम्मा पायो । उनको कमान्डले त्यो काम पूरा गरिसकेको थियो । बैंकबाट पाँच लाख नगद र चार थान बाह्रबोर बन्दुक कब्जा भयो । हाम्रो आर्कले केही पनि गर्न सकेन । अन्तिममा चौकीमा आगो लगायौं । परालको सहारामा लगाइएको आगोले चौकीमा क्षति पुगेन । चौकीसँगै जोडिएको दलित समुदायको घरचाहिँ दन्दनी बल्यो । घरधनी रुँदै, चिच्याउँदै सपरिवार बाहिर निस्के । युद्धको नियम यस्तै हुन्छ । युद्धले आफन्त र पराई भन्दैन । मोर्चा सफल पार्न नसके पनि दलित परिवारलाई सान्त्वना दिएर रिट्रिट भयौं । होनहार दुई योद्धालाई गुमाउँदासमेत मोर्चा जित्न नसक्दाको दुःख शब्दमा व्यक्त गर्न कठिन थियो । रितबहादुर खड्का ‘प्रताप’ डाँको छोडेर बाटामै रोए । नेतृत्वको हिसाबले प्रतापलाई सही नसक्नु भयो । हामी पनि अमिलियौं । बाटोमै उज्ज्वल भाइ भेटिए । उनी सानैमा क्रान्तिमा लागेका थिए । उनले सबैले छाडेको ग्रिनेड झोला बोकेका रहेछन् । झोला गह्रुँगो भएकाले केही ग्रिनेड झिकेर मैले बोकें । कलिलैमा युद्धको घाउ बल्झँदा मेरो मुटु पिलोजस्तै दुख्यो । पीडामाथि पीडा थपियो । एकातिर सानो भाइको ग्रिनेडको भार र अर्कोतिर आफ्नै जन्मभूमिमा लडेको मोर्चामा असफल हुनु । सैलुङ डाँडा चढेपछि चारैतिबाट हेलिकोप्टर उडिरहे । हामी उसको बीचमा पर्यौं । चिलले चल्ला छोपेझैं हेलिकोप्टरले हामीलाई छोप्न थाल्यो । रुख, लहरा, पहराको कभर बनाउँदै दुधपोखरीतिर लाग्यौं । ताम्चेतमा दुस्मनले एम्बुस थापेको रहेछ । छल्दै रामेछापको दार्खा पुग्यौं ।

त्यहाँ पुगेपछि मेलुङ मोर्चाको समीक्षा गर्यौं । ‘मोर्चा किन हारियो ? भन्ने कुरा मलाई थाहा छ,’ आलोकले झाँको झारे, ‘प्रेमी अघि बढे प्रेमिकाले तान्ने, प्रेमिका अघि बढे प्रेमीले तान्नाले मोर्चा हारियो ।’ जस्तो आफू त्यस्तै च्यापु भन्ने नेपाली उखान प्रचलित छ । कागको नाम कागैले काढ्छ भनेजस्तै लाग्यो । हामी थिलथिलो भयौं । हाम्रो केही सीप चलेन । होनहार योद्धा गुमाउँदा समीक्षामा सहभागी सबै–सबै १५ मिनेटसम्म रोयौं । हरिबहादुर मगरको घरमा गरिएको समीक्षामा आँसुको भल बग्यो । आलोक जाँड खाएर रोएका थिए । हामी भने भावुक भएर भक्कानियौं । ‘स्याल घाइते हुँदा स्यालहुइँया फिँजाउँछ भने बाघ घाइते हुँदा गर्जन्छ’ भन्ने संश्लेषणको जगमा उभियौं ।

आलोकको सधैंको रामलीला हेर्दाहेर्दै आँखा टट्टाए । सर्वहारा आचरण र अनुशासनको कुरा गरेर कहिल्यै नथाक्ने उनी कहिले महिला र पुरुषको ब्यारेक छुट्टै बनाउँथे । महिला र पुरुषको सेक्सनसमेत छुट्टै बनाएर सेक्सन तोकिदिन्थे । हतियार विन्न्यास गरिदिन्थे । शहादत प्राप्त गरिसकेका साथीहरूलाई जलाएको खरानीको टीका लगाउन लगाउँथे त कहिले राति–राति साथीहरूलाई जलाएको ठाउँमा श्रद्धाञ्जली कार्यक्रम राख्थे । कहिले चौंरीको बाँझेलाई आधार इलाका घोषणा गर्थे । कहिले बाँझेमै तीर्थ गौतम, फत्त स्मालीमगर र दिलमाया बम्जन (तिफदि) स्मारकको शिलान्यास गर्थे ! कहिले तीर्थ गौतम, फत्त स्मालीमगर र दिलमाया बम्जनलाई सम्झेर रुन्थे ।

बेथान चौकी आक्रमण गर्न अन्तिम सेल्टरमा पुग्दा आलोक जाँड खाएर रुनसम्म रोए । सनककै भरमा तीर्थ, फत्त र दिलमायाको अस्थिपञ्जर खोज्न पठाउँथे । कहिले आफैं राइफल बोकेर सेन्ट्री बस्न जान्थे । यसरी नै हामीलाई हैरान पार्थे । उनले यस्ता हर्कत किन गरिरहेका छन् ? आलोकभित्र गैरसर्वहारा चिन्तनले घर गरेको, सर्वहारा मूल्य–मान्यता, संस्कार र संस्कृतिबाट विचलित भइसकेकाले यस्तो हर्कत गरेको पछि मात्रै अवगत भयो ।

मेलुङ मोर्चाको घाउ आलै थियो । तत्कालै अर्को मोर्चाको माग गर्यौं । मोर्चा सफल बनाउने हाम्रो ‘मक्सद’सहितको माग पूरा भएन । माग किन पूरा भएन ? पत्तो लगाउन सकिएन । सिन्धुली जिल्लाका इन्चार्ज शेरमान कुँवर ‘विशाल’ र बलराम तिमिल्सिना ‘विप्लव’लाई पुर्याउन हाम्रो टोली महाभारततिर लाग्यो । हामीले उनीहरूलाई सिन्धुलीको कोखाजोरखोलासम्म पुर्यायौं । हामी भने महाभारतमै जिल्ला पार्टीसँग जोडिएर काम थाल्यौं ।

(लेखक जनमुक्ति सेनाका ब्रिगेड सहकमान्डर हुन् ।)

प्रतिक्रिया दिनुहोस्