‘नेपाल प्रहरीमा कार्यरत थिएँ । छँदाखाँदाको जागिर छाडें । जागिरमात्रै होइन, गाउँ छाडेर काठमाडौं पसें । काठमाडौं बसाइ उन्नत लागेन,’ एमाले कोसी प्रदेश कमिटी सदस्य कमलबहादुर बुढाथोकीले वास्तविकता सुनाए, ‘गाउँ (राजापानी, खोटाङ) फर्कने योजना बनाएँ । नभन्दै बाटो लागें । गाउँ फर्कंदै गर्दा बाटो (खोटाङ–उदयपुरबीच पर्ने रसुवा)मा तात्कालिक माओवादी सैन्य कमान्डर लीलबहादुर थापा ‘होग्ले’, कुमार पौडेल, ज्योति रसाइलीलगायत थुप्रै नेता भेटिए । दोहोरो चिनजानपछि म घर नगई माओवादी सशस्त्र जनयुद्धमा होमिएँ ।’
आवश्यक परे देश र जनताका लागि बलिदानी दिने संकल्पसहित बुढाथोकीले बाटो मोडे । यो संवत् २०५७ पुस १३ गतेको कुरा हो । सशस्त्र जनयुद्ध चरमोत्कर्षमा पुगेको थियो । जनयुद्धको एकपछि अर्को शृंखलाले तीव्र गति लिँदै गयो । राज्यतर्फ सुरक्षाकर्मीले समेत दमन बढाएकै थिए ।
‘माओवादी जनसेना र सुरक्षाकर्मीबीच भएका भिडन्त सम्झँदामात्रै पनि आङ सिरिङ–सिरिङ हुन्छ,’ एमाले कोसी प्रदेश कमिटी सदस्य बुढाथोकीले अतीत सम्झे, ‘नेपाल प्रहरीको जागिर छाडेर राजनीतिमा लाग्दा आनन्द लागेको थियो । घरको वास्तविक दुःख सम्झँदा कता–कता दुःख लाग्थ्यो । तर, सम्हालिन्थें ।’
विभिन्न जिम्मेवारीमा रहेर जनयुद्धलाई तार्किक निष्कर्षमा पुर्याउन उनले पुर्याएको योगदानलाई बिर्सन मिल्दै मिल्दैन । तर, माओवादीसम्बद्ध जिम्मेवार नेताको विचलन र ओह्रालो यात्राले उनलाई दुःखी बनाउनु स्वाभाविकै थियो । र पनि, माओवादीकै असल कार्यकर्ता बनिरहे ।
‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन’ भन्ने भनाइ प्रचलित छ । प्रचलित भनाइ पुष्टि गर्दै नेकपा एमाले र माओवादीबीच चुनावी एकतादेखि पार्टी एकतासम्म भयो । दुई पार्टी मिलेर बनेको नेकपा लामो समय टिक्न सकेन । तर, लीलबहादुर थापा, लेलिन विष्ट, तेज ढुंगाना, कमल बुढाथोकीलगायत ७०/७५ जना माओवादीमा फर्केनन् । एमालेमै रहे । नेता बुढाथोकी त्यहाँदेखि एमाले कोसी प्रदेश कमिटी सदस्यको भूमिकामा छन् ।
एमालेनिकट अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्यबाट थालेको राजनीतिक यात्राले निरन्तरता पाएकै छ । जुद्धबहादुर बुढाथोकी र बिन्दामाया बुढाथोकीका जेठा छोरा कमल बुढाथोकीले ०५६ को आमनिर्वाचनसम्म एमालेलाई मतदान गर्न आह्वान गर्दै पार्टीको गीत गाउँदै हिँडेका थिए । उनको जन्म २०३६ वैशाख १० गते भएको हो ।
ज्योति माध्यमिक विद्यालय राजापानीबाट एसएलसीसम्मको अध्ययन पार लगाएका उनको गाउँमा माओवादी नेता तथा कार्यकर्ताको उपस्थितिमात्रै होइन, राजनीतिक कार्यक्रमसमेत बाक्लै हुन थाल्यो । माओवादीमा लागेकामध्ये कतिपय उनकै साथीहरू थिए । गाउँमा भेटिँदा राजनीतिक तथा वैचारिक छलफल हुने नै भए । माओवादीले व्यापक परिवर्तनको शंखघोषसहित जनयुद्ध थालेको थियो । उनलाई माओवादी बन्ने उत्कट अभिलाषा थियो । तर, उनको रहर पूरा हुन सकेन । ‘घरपरिवारले माओवादी बन्ने अनुमति दिएन,’ उनले भने, ‘आमा क्यान्सरको बिरामी थिइन् । तर, माओवादीले आयोजना गर्ने सबैजसो कार्यक्रममा सहभागी हुन्थें ।’ तत्काल माओवादीको पूर्णकालीन नबने पनि उनले सबैखाले सहयोग र समर्थन गरिरहे ।
घरको आर्थिक अवस्था कमजोर । उनी घरको जेठा छोरा । भाइबहिनी सानै । सबै–सबै समस्या दृष्टिगत गर्दै जाँदा तत्काल जनयुद्धमा सामेल हुन सकेनन् । गाउँमा ठूलाबडा, धनीमानी भनाउँदाले निर्धामाथि हेलाहोचो गर्थे । नजानिँदोपाराले दमन गर्थे । समुदाय–समुदायबीच विभेद र असमानताको पीडादायी आगो दन्किरहेको थियो । विभेद र असमानताको पीडादायी आगो निभाउन उनलाई पनि माओवादीले थालेको जनयुद्धमा संलग्न हुने असाध्यै रहर थियो । त्यसैताका उनको माइला भाइ रमेश बुढाथोकी ‘किरण’लाई काम गरिरहेको रेग्मीटार खेतबाटै माओवादीमा हिँड्न बाध्य बनाइयो । भाइलाई माओवादीले हिँडाएपछि कमल प्रहरीको जागिर छाड्न बाध्य भए ।
प्रहरीको जागिर छाडेर माओवादी बने । माओवादी छाडेर एमाले बने । माओवादी बन्नअघि उनी एमाले नै थिए ।