हलेसी तुवाचुङ नगरपालिकाले ११ वडालाई १२ लाख ५० हजार राहत दिँदै



दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाले नगरको प्रोफाइलमा उल्लेख भएअनुसार ११ वडाका घरधुरी र जनसंख्याका आधारमा १२ लाख ५० हजार रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख तथा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समिति संयोजक इवन राईको अध्यक्षतामा बसेको बैठक यस्तो निर्णय गरेको हो ।

बैठकले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा १ लाख, २ नम्बर वडा डिकुवा १ लाख र ३ नम्बर वडा च्यास्मिटारका लागि १ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने नगरप्रमुख राईले जानकारी गराए । उनका अनुसार, ४ नम्बर वडा बडहरे ७५ हजार, वडा नम्बर ५ दुर्छिमका लागि १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

यसैगरी, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार १ लाख, ७ नम्बर वडा महादेवस्थान १ लाख ५० हजार, ८ नम्बर वडा धितुङ १ लाख, ९ नम्बर वडा सल्ले ७५ हजार, १० नम्बर वडा अर्खौले १ लाख ५० हजार र ११ नम्बर वडा राजापानीका लागि १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

समिति बैठकले राहत वितरण निर्देशिका २०७६ मापदण्डबमोजिम राहत लगत संकलन र वितरण वडास्तरीय सर्वदलीय समन्वय समितिलाई निर्देशन दिएको छ ।

‘सम्बन्धित वडाले राहत वितरण निर्देशिका २०७६ बमोजिम वस्तुनिष्ठ रूपमा सर्वदलीय सर्वपक्षीय रूपमा छनोट गरी राहत विवरण तयार गर्नुपर्नेछ,’ नगरप्रमुख राईले जानकारी गराए, ‘राहत वितरणका लागि ११ वटै वडाले तीन दिनभित्र समितिमा प्रतिवेदन पेस गर्नुपर्नेछ । प्रतिवेदन पेस गरेको तीन दिनपछि सबै वडाले राहत वितरण गर्नेछन् ।’

कोरोना संक्रमणको शंकामा मोरङको टाँडी क्वारेन्टाइनमा रहेका हलेसी तुवाचुङ नगरपालिकाका १८ जनालाई नगरपालिकाले नै घरसम्म ल्याइदिने भएका छन् । रोजगारीका लागि भारतका विभिन्न ठाउँमा कार्यरत उनीहरू गत चैत ११ गतेदेखि क्वारेन्टाइनमा रहेका थिए । नमुना परीक्षणको रिपोर्टमा नेगेटिभ देखिएपछि उनीहरूलाई घरसम्म ल्याउन नगरले नगरका स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरे र नगर प्रमुखका स्वकीय सचिव देवराज केसीलाई टाँडी पठाइसकेका छन् ।

क्वारेन्टाइनमा बसेर शुक्रबार घर फर्कनेमा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका ६, वडा नम्बर ५ दुर्छिम तीन, ६ नम्बर वडा मंगलटार तीन र ८ नम्बर वडा धितुङका ६ जना रहेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा रहेका नौमध्ये एकजनाको स्वाब परीक्षणका लागि सुनसरीको धरान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्