हिमालमा हिउँ नपरे हिमनदी बन्दैन । आकाशमा सूर्य नदाए अँध्यारो हट्दैन । समुद्र नभइदिए मोती भेटिँदैन । जनमुक्ति आन्दोलन नभए सर्वहारासँग मितेरी लगाइँदैनथ्यो । लाखौं नेता तथा कार्यकर्ता जनमुक्ति नामक समुद्रमा हेलिइँदैनथे । कमिलाजस्तै जुट्दैनथे । मृत्यु या मुक्तिको शपथ खाँदै दुस्मनसँग भिड्दैनथे ।
प्रसंग सातौं विस्तारित बैठकको हो । तर पनि द्वन्द्वात्मक टकरावबीच ऐतिहासिक कार्यक्रम रोकिँदै रोकिएन । साउने संक्रान्ति । साउन १ देखि हुने भनिएको सातौं विस्तारित बैठक स्थगित भयो । हाम्रा साथीहरू चढेको बस कृष्णभीर र सुनवलमा दुर्घटना हुँदा केहीको मृत्यु भयो । केही घाइते भए । विषम परिस्थितिबीच दुलहीझैं सिँगारिएको रातोतातो हलमा २ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातवटा मैनबत्ती बालेर बैठक उद्घाटन गरे । गडगडाहट ताली बज्यो । कलाकारका रागात्मक अनुगुञ्जनले गुञ्जिएको अन्तर्राष्ट्रिय गीतले हामीलाई तताइरह्यो । ‘हामी अन्तर्राष्ट्रिय जाति हौं’ भनेर फेरि जनयुद्धकालको झल्को दिइरह्यो ।
उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र डा. बावुराम भट्टराईले बैठकमा स्वीकारे, ‘पार्टी एक हुन्छ, कहिल्यै फुट्दैन । भूतले खाजा खाने बेला बनेको सरकारले केही गर्न नसकेकै हो । तर पनि सरकारले अर्थपूर्ण कामलाई प्राथमिकता दिन्छ ।’
अध्यक्ष प्रचण्डले ‘वर्तमानमा उत्पन्न संकट र सर्वहारावर्गको आगामी कार्यभार’ शीर्षाकृत दस्तावेज प्रस्तुत गरे । संक्षिप्त व्याख्यासमेत गरे । अध्यक्षको प्रस्ताव ३८ पेजको भएकाले वाचन गर्ने समय भएन । उनको रातो दस्तावेज कार्यान्वयन गरिए शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन सघाउ पुग्थ्यो । दस्तावेजले बैठकमा उपस्थित सबैलाई उत्साहित र रोमाञ्चित बनाउनुका साथै गम्भीरसमेत बनायो ।
प्रस्तुत दस्तावेज हुबहु कार्यान्वयन भए पुग्छ भन्ने सबैको मत थियो । यसअघि धेरै दस्तावेज लेखिए/प्रस्तुत गरिए पनि कार्यान्वयन भएनन् ।
बैठकको दोस्रो दिन बैठक कक्ष तातियो । जनमुक्ति सेनाले संसारै थर्काउनेगरी फौजी कारबाही गरेझैं पार्टी र शिविरमा भएको आर्थिक अनियमितताबारे चर्को आवाज उठाए । चर्को नारा लगाए । हजारौंको हस्ताक्षर संकलन गरेर मञ्च कब्जा गरे । यो हाम्रो त्याग, तपस्या, वीरता र बलिदानको शान थियो । राष्ट्रको स्वाभिमान थियो । जनमुक्ति सेनाले भ्रष्टाचार, विकृति, विसंगति र लाचारहरूले बनेको काला दिवार भत्काउने ‘फायर ओपन’ गरे । यो कसैको व्यक्तिगत आक्षेप नभएर सिंगो पार्टीको पारदर्शिताका लागि उठेको आवाज थियो । आक्रोशको राँको बालिएको थियो । आफ्नै टाउकोमा आफैं आगो सल्काउने मोर्चाबन्दी लडाइँ थियो । जनमुक्ति सेनासँग संगठित वाईसीएल र ‘माइनर’ साथीहरूको समर्थनसहित ११ बुँदे माग प्रस्तुत गरियो । जनमुक्ति सेनाले प्रतीकात्मक रूपमा रुपैयाँ जम्मा गरेर नेताका अघि थुपारे । यसर्थ, पार्टीलाई निष्पक्ष, जुझारु, क्रान्तिकारी र विप्लवी बनाउन जनमुक्ति सेनाले देखाएको वीरताको शान अपरम्पार थियो । त्यो दिन बैठक स्थगित भयो । अध्यक्षले माग पूरा गर्ने विश्वास दिलाए ।
बैठकको तेस्रो दिन अध्यक्षले दुई आयोग र तीन लेखा कमिटी बनेको र नैतिकताका आधारमा ६ जना डिभिजन कमान्डर र एक सहकमान्डरले राजीनामा दिए पनि स्वीकृत नभइसकेको जानकारी गराएपछि बैठक फेरि सुरु भयो । दस्तावेजमाथि तात्कालिक भोजपुरा राज्यको रिपोर्टिङ गर्ने सवालमा तनावपूर्ण स्थिति उत्पन्न भयो । गुटबन्दी अन्त्य गरिएको घोषणा गरेको नेतृत्वले त्यही दिन उदांगो रूप देखाए ।

मञ्चमै भाँडभैलो मच्यिो । फेरि पनि पोलिटब्युरो बैठक बसेर समस्या समाधान गरियो । ‘मुखमा राम राम बगलीमा छुरा’ भनेझैं नेताहरूको गुटबन्दी अन्त्य गर्ने प्रतिबद्धता बालुवामा पानी हालेजस्तै भइदियो । एउटै राइफल सिरानी हालेर बारुदको डस्नामाथि सुतेका सहयोद्धाबीचै यस्तो हुँदा कसको मन नदुख्ला ! पार्टीमा देखिएको भद्रगोल पहिल्यै थाहा हुने भए जनयुद्धमा लागिन्थ्यो, लागिदैनथ्यो यसै भन्न सक्ने अवस्था थिएन । साथीहरूबीच कटाक्ष भइरह्यो । सबैमा आ–आफ्नो स्वार्थ थियो । वैज्ञानिक र वस्तुवादी माक्र्सवादी साँचोमा ढाल्न अपरिहार्य थियो ।
बैठकको अन्तिम दिन पार्टी उपाध्यक्ष श्रेष्ठले बिप्पा सम्झौता र राष्ट्रियताबारे आवाज उठाए । गुटबन्दी अन्त्य गर्ने फेरि उद्घोष गरे । डा. भट्टराईले सुकुम्वासी समस्या, बिप्पा सम्झौता, विमानस्थल सुधार, घाइते, अपांग, सहिद, बेपत्ता परिवारलाई राहत दिने घोषणा गरे । सीपमूलक तालिम दिने, आयआर्जनका कामलाई प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरे । पार्टीलाई अझै मजबुत र एकताबद्ध बनाएर क्रान्तिको रथ हाँक्ने घोषणा गरे । (पूर्वप्रधानमन्त्रीसमेत रहेका बावुराम भट्टराईले माओवादी पार्टी परित्याग गरिसकेका छन् ।)
बैठकको अन्त्यमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तारित बैठकको संश्लेषण गरे । विस्तारित बैठक निरन्तरताको क्रमभंग भएको, बैठक संघर्ष, रूपान्तरण, विजय र एकताको बैठक भएको निष्कर्ष निकाले । जनमुक्ति सेनाले मञ्च कब्जा गरेको क्षणको सराहना गरे । सबैको मुहारमा खुसियाली छायो । सबैले मुखामुख गरे । अध्यक्षले दस्तावेजबारे आफ्ना विचार राखे । सबैले उठाएको विषय दस्तावेजमा समेट्ने प्रतिबद्धता व्यक्त गरे । ‘सबै संगठन भंग भयो । नेता बन्न आ–आफ्नो कमिटीबाट चुनिएर आउनुपर्छ,’ अध्यक्ष प्रचण्डको भनाइ थियो, ‘केन्द्रीय कमिटीमा समेत महाधिवेशन आयोजक कमिटी बनाइने, जुन कमिटीमा जाति, क्षेत्र, लिंग, जनजाति, दलित, महिला, मधेसी, मुश्लिमलगायत उत्पीडित समुदाय, क्षेत्रलाई समेट्दै जिल्ला सम्मेलन, राज्य सम्मेलन पूरा गरी आगामी माघमा महाधिवेशन गरिनेछ ।’ सबैले समर्थन जनाए ।
गुटबन्दी अन्त्यका लागि नेताहरूको सुविधा कटौती गर्ने, महँगा गाडी नलिने, गुबन्दी अन्त्य गर्न राज्य कमिटी इन्चार्जको कार्यक्षेत्र परिवर्तन गर्ने, कार्यालयका स्टाफ हेरफेर गर्नेजस्ता निर्णयले बैठकमा उपस्थित खुसी नहुने कुरै थिएन । त्यसपछि गगनभेदी नारा लगाउँदै बैठक हलबाट बाहिरियौं । हामी द्रविभुत भयौं । क्रान्तिको कार्यभार पूरा गर्न अभिभूत भयौं । क्रान्तिको बाँकी अभिभारा नेता कि कार्यकर्ताले पूरा गर्लान् ? सोचमग्न बनाएकै छ ।