बादलसँग तस्बिर खिच्ने हिटलरको रहर



समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौं हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ ।

वर्षाको समयमा जुकाको समस्या । हुस्सु र कुहिरोले ढाकिने भए पनि हिउँदमा हिउँले घुम्टो नहालुन्जेल हाँडीकोट पर्यटक पर्खिरहेको हुन्छ । प्रचार–प्रसारको अभावकै कारण प्रकृतिको अनुपम उपहार भएर पनि हाँडीकोटले गाईबाख्रा हेर्ने गोठालामात्रै भेटेर वर्षौं बितायो ।

बाइसे चौबीसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडीकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । जैमिनी नगरपालिकाका ३ नम्बर वडाको संगममा रहेको टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भुत लाग्छन् । हिजोआज हाँडीकोट पुग्नेको भीड नै लाग्न थालेको जैमिनी–१० राङ्खानीका स्थानीय मित्र थापाले बताए ।

जैमिनीको राङ्खानी–७ जैदी र ८ नम्ब। छिस्तीको संगमस्थल हाँडीकोट टापु साँच्चिकै सुन्दर छ । त्यहाँ पुगेर ‘आहा ! हाँडीकोट टापु’ नभनी सुखै छैन । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिला सुसज्जित हाँडीकोटमा पुगेर पहाड खोंचमा मडारिएको बालदसँग तस्बिर खिचाउने हिजोआज दिनदिनै हाँडीकोट पुग्छन् । “एकपटक हाँडीकोटको सुन्दरतासँग तस्बिर खिचाउन त्यहाँ पुगें,’ पर्वतको फलेवासबाट हाँडीकोट पुगेका हिटलर थापा भन्छन्, ‘छेउछाउमा धेरै घुमियो, मुख्य ठाउँमा बल्ल पुगियो ।’

हिउँदे वर्षा भएको भए यतिबेला हाँडीकोट टापु हिउँले पुरिएको हुन्थ्यो । यो वर्ष हिउँदे वर्षा नभएकाले आन्तरिक पर्यटकको रोजाइमा हाँडीकोट परेको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल बताउँछन् । वनभोज खान, भेला, गोष्ठी र सेमिनारका लागि हाँडीकोट पुग्नेसमेत बढेका छन् । हाँडीकोट टापुको चर्चा सुनेका बिदा मनाउनसमेत त्यहाँ पुग्ने गरेका छन् । कोरोना महामारीले बिस्तारै तङ्ग्रिँदै गरेका विद्यालय अवलोकन भ्रमण र वनभोजका लागि विद्यार्थी लिएर हाँडीकोट पुग्ने गरेको स्थानीय बताउँछन् ।

पर्यटकको आवागमन बढ्दै जान थालेपछि राङ्खानीका तिलक क्षेत्री यतिबेला कतारको काम छाडेर हाँडीकोट पुग्नेलाई खाजाको प्रबन्ध गर्न थालेका छन् । कमाइ र सेवा दुवै हुने भएपछि टापुनजिकै होटल सञ्चालनमा ल्याएका उनले सेवा दिन थालेका हुन् । क्षेत्रीले आफ्नै ठाउँ विहारथलामा परम्परागत रूपमा सञ्चालन हुँदै आएको होटललाई स्तरवृद्धि गरी ‘हाँडीकोट टापु रेष्टुराँ एण्ड लज’का रूपमा विकास गर्नुभएको छ ।

हाँडीकोट पुग्ने पर्यटकले स्थानीय कोदोको ढिँडो, स्थानीय कुखुरा र खसीको मासु खोज्ने गरेका छन् । जैमिनी नगरपालिकाले बनाएको पदमार्ग र कच्ची सडकले पनि हाँडीकोटमा पर्यटक पुर्याउन सघाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्