दुधराज तामाङ ‘निर्मल’ । साबिक खिदिमा गाउँ विकास समिति–६ ढाँडे, निगालेनिवासी निर्मल संवत् २०५६ मंसिरमा नेकपा (माओवादी) पार्टीको पूर्णकालीन कार्यकर्ता बन्दा १८ वर्षका थिए । पूर्णकालीन कार्यकर्ता बनेका उनीसँग जनयुद्धका कैयौं फौजी अनुभव छन् ।
पूर्णकालीन भएको केही समयपछि एसीएमको जिम्मेवारी पाएका उनी जिल्ला जनमिलिसिया कमान्डर भए । पूर्णकालीन भएको वर्ष दिनसम्म जिल्ला पार्टीमै रहँदा पार्टीले जनसेनाको जिल्ला प्लाटुन निर्माण गर्यो । उनलाई प्लाटुनको स्क्वायड कमान्डरको भूमिकासहित जनसेनामा पठायो । त्यतिबेलादेखि शान्ति प्रक्रियासम्मको १२ वर्ष जनसेनाको भूमिकामा रहे ।
नेपालको पूर्वी पहाडमा जनयुद्धको झिल्को सल्कँदै गयोे । पार्टीले सेना निर्माणमा बहस गरेर ०५७ को राष्ट्रिय सम्मेलनबाट नीतिगत अवधारणा ल्याएपछि जनसेना गठन गर्यो । सुरुमा १, २, ३ भनेर पार्टीको तीन पूर्वी कम्पनी थिए । यस कम्पनीमा सोलु–सल्लेरी आक्रमणपछि गठन भयो ।
भकुन्डेबेंसी आक्रमणसम्म आइपुग्दा निर्मलले पहिलोपटक एसल्टबाट युद्ध लडेका थिए । सो मोर्चा लडेर फर्केपछि पुनः जनसेनाको सैन्य संरचनामा हेरफेर भयो । तीन कम्पनी मिलाएर बटालियन घोषणा भयो । ‘बटालियन बन्दा मैले प्लाटुन कमान्डरको जिम्मेवारी पाएँ,’ उनले सुनाए, ‘सो जिम्मेवारीमा रहँदा रुम्जाटार (ओखलढुंगा) मोर्चा लड्यौं । रुम्जाटार मोर्चामा एसल्ट कमान्डरको भूमिकामा थिएँ ।’
रुम्जाटार युद्धपछि पुनः जनसेनाको ब्रिगेडस्तरीय फोर्स गठन भयो । ब्रिगेडको नाम सोलु–सल्लेरी नामाकरण भयो । पूर्वमा सैन्य योजना कार्यान्वयन गर्ने जनताको पहिलो र शक्तिशाली सेना गठन भएको थियो । ‘यो संरचना निर्माण हुँदा मैले जनसेनाको कम्पनी कमान्डरको जिम्मेवारीमा थिएँ,’ उनले थपे, ‘कम्पनीमा तीन प्लाटुन हुन्छन् । भरपर्दो, विश्वासिलो र योग्य योद्दा भएकै कारण मलाई त्यतिबेला प्लाटुन र कम्पनी सहकमान्डर नबनाई सिधै कमान्डरको जिम्मेवारी दिइयोे ।’ तीन प्लाटुनलाई युद्धमा लड्ने फोर्सका रूपमा दक्ष बनाउनु र मोर्चामा लडाउनुपर्ने चुनौती पार्टीले सुम्पेको उनले गहिरो अनुभूति गरे ।
मालेमावादको वैचारिक आलोकमा सहिदको रगतले पोतिएको महान् सपना साकार पार्ने उत्प्रेरणाले युद्धमा कहिल्यै कमजोर अनुभूति गरेनन् । जस्तोसुकै अप्ठ्यारो सामना गर्न जुझारु उनी कम्पनी कमान्डर भएपछि असंख्य युद्धमोर्चामा सरिक भए । त्यसमा पनि चेकपोस्ट हमलामा धेरै सरिक थिए । जलजले चेकपोस्ट, कल्याणपुर चेकपोस्ट (उदयपुर), महेन्द्रनगर प्रहरी चेकपोस्ट र बलान खुट्टी मोर्चा सर्वाधिक चर्चित र सफल कमान्डो एटेक युद्ध मोर्चा हुन् ।
जिल्ला सदरमुकाम दिक्तेलनजिकै रहेको मुढे ब्यारेकको सेना माओवादी खोज्न निस्कन्छन् । उनीहरू ‘आउट मुभ’ गर्दै गरेको खबर जनसेनाले सूचना पाउँछ । जनसेना नुनथलाको महुरेगढी थुम्कोमा पुग्छन् । केही समयपछि तात्कालिक शाही सेना त्यहीं पुग्छ । शाही सेना र जनसेनाबीच डेढदेखि दुई घन्टा युद्ध हुन्छ । ‘युद्धमा मेरो कम्पनीका एसल्टले तीन थान अत्याधुनिक इन्सास खोस्छ,’ निर्मलले विगत सम्झे, ‘यो पूर्वमा भएको दुस्मनमाथिको कमान्डो आक्रमण थियो । त्यतिमात्रै होइन, अत्याधुनिक हतियार कब्जा गरिएको पहिलो हो ।’
लाप्चाने मोर्चा (रामेछाप), झ्याँउपोखरी, पाँचधारे मोर्चा (भोजपुर), रामपुर, गाईघाट, गाईखुर मोर्चा (उदयपुर), दिक्तेल, याम्खा मोर्चा (खोटाङ), पैंया, सोताङ मोर्चा (सोलुखुम्बु), चुप्लु भन्ज्याङ (ओखलढुंगा), लहान मोर्चा (सिरहा) र मलंगवा मोर्चा (सर्लाही) जस्ता बाहिरी मोर्चामा समेत उनले अर्थपूर्ण सहभागिता जनाए । जनसेनाले मलंगवामा हेलिकोप्टरसमेत खसालेका थिए ।
त्यसपछि ?
‘खुला मोर्चाबन्दी युद्धचाहिँ रुम्जाटार र खानी भन्ज्याङ युद्ध मोर्चा (ओखलढुंगा), धोबी मोर्चा (रामेछाप) र ऐंसेलुखर्क मोर्चा (खोटाङ) मा त १२ घन्टा लड्यौं,’ उनको भनाइ थियो, ‘त्यहाँको युद्धमा मेरो देब्रे तिघ्रामा गोली लागेको थियोे । त्यसपछि भोजपुर रिपिटर टावर र सदरमुकाम मोर्चा भिड्यौं । मोर्चाले पूर्वी क्षेत्रमा जनमुक्ति सेनाको विकासक्रम सुधारोन्मुख देखाएको थियोे । रिपिटर टावरभित्र जाने एसल्ट ग्रुप मेरै कमान्डमा थियोे । जाँदाजाँदै गेट कब्जा गर्यौं । भित्र छिरेपछि दुस्मनको बम लागेर पिठ्युँको देबे्र पाटा छियाछिया बनायो ।’
देब्रे पाखुरामा चार र खुट्टामा ६ ठाउँ बमको छर्रा बोकेर उनले जीवनको लय समातिरहेकै छन् । ‘रिपिटर टावर युद्ध सफलता र मेरो उपचारपछि १६, १७ र २८औं बटालियनमा सीमित जनसेनामध्ये मलाई २८औं बटालियनको सहायक कमान्डरको जिम्मेवारी सुम्पियो,’ उनले गौरवगाथा सुनाए, ‘र, पार्टीको योजनामुताबिक हामी तराईकेन्द्रित कमान्डो आक्रमण तथा मोर्चाबन्दी युद्ध लड्न तयार भयौं ।’
जनकपुर–ढल्केबर राजमार्गबीचमा महेन्द्रनगर बजारको चेकपोस्टमा दरबन्दीमा रहेका २५ प्रहरीमाथि आक्रमण पूर्ण रूपले सफल भयो । त्यसपछि पार्टीको जनकपुर–सगरमाथा व्युरोस्तरीय प्रशिक्षण कार्यक्रम रामेछापको गुदेलमा भयो । ‘त्यसको सुरक्षार्थ हाम्रो बटालियन रामेछाप उक्ल्यो,’ उनले भने, ‘त्यस कार्यक्रममा जनताले लडेको जनयुद्ध ‘रणनीतिक प्रत्याक्रमणको पहिलो चरण दुस्मनको ढाडमा टेकेर टाउकोमा हान्ने’ नीतिबारे प्रशिक्षण हुँदै थियो । कार्यक्रम विफल बनाउन तात्कालिक शाही सेना आए । हामीले उनीहरूको शक्तिलाई तहसनहस बनायौं । कार्यक्रम सफल भयो ।’
लगत्तै देशैभर जनमुक्ति सेनाको थप तीन नयाँ थपिएर ६ डिभिजन फोर्स बन्यो । यही संरचनाअनुसार उनी सोलु–सल्लेरी ब्रिगेड ‘ए’ बटालियन कमान्डरको जिम्मेवारीमा बढुवा भए । सो बटालियनमा रहँदा पार्टीको विभिन्न फौजी कारबाहीमा सहभागी हुँदै शान्ति प्रक्रियावरिपरिबाट राम–वृक्ष स्मृति ब्रिगेडको ब्रिगेड सहकमान्डर भए । त्यसपछि शान्तिपूर्ण जनआन्दोलन २०६२/०६३ र माओवादी पार्टी शान्ति प्रक्रियामा आए । जनमुक्ति सेना क्यान्टोनमेन्ट गए । ६ वर्षे क्यान्टोनमेन्ट बसाइपछि वाईसीएल नेपालको केन्द्रीय सदस्य र खोटाङ अध्यक्षको भूमिका निर्वाह गरे । एमाले र माओवादी एकतापछि नेकपा बन्यो । पुनः पार्टी विभाजनपछि रामबहादुर थापा ‘बादल’ नेतृत्वमा एमालेमै रहेका उनी नेकपा एमाले कोसी प्रदेश सदस्यको जिम्मेवारीमा छन् ।
दुस्मनको मस्तिष्कमा उनी महिला कमान्डरका रूपमा परिचित थिए । उनका सहपाठी योद्दाहरू भन्छन्, ‘निर्मलको स्वर असाध्यै तीखो र कडा । उनको कासन सुनेपछि धेरै टाढाका दुस्मन पनि (….डी) को छोरी आतंककारी भनेर फलाक्थे ।’ हुन पनि उनको स्वर महिलाको जस्तै थियो । स्वरकै कारण दुस्मनले उनको कासन सुन्दा त्यो आईमाई कमान्डरको कल्पनामा दुस्मन मुखभरि अटीनअटी फोहारी शब्द फलाक्दा उनीहरूलाई आनन्द लागेको हुनुपर्छ ।
जनयुद्ध जारी रहँदा दुधराज तामाङ ‘निर्मल’बारे धेरैले चर्चा गर्थे । अहिले त्यति गरिँदैन । निर्मल श्रीमती, एक छोरीसँगै साकेला गाउँपालिका–३ खिदिमा, खोटाङमा बसोवास गर्छन् । डम्बरमान तामाङ र गुन्टीमाया तामाङको कान्छो छोराका रूपमा संवत् २०३८ पुस २० गते जन्मेका उनी राजनीतिभन्दा टाढा छैनन् ।