भुमे निकाल्दा तीन धामी ठहरै



हौंचुर (खोटाङ) । वरपर जंगल । रहरलाग्दो खेत । अनि लोभलाग्दो थुम्को । थुम्कोमा सिमलको विशाल रूख । सिमलको फेदमै ऐतिहासिक भुमेथान । भुमेथान भन्नबित्तिकै साकेला नाचको प्रसंग आउँछ । भुमेथानमा किरात राई समुदाय पूजाआजा गर्दै उँभौली र उँधौलीमा साकेला नाच्छन् । तर, रावाबेंसी गाउँपालिका–६, हौंचुरमा रहेको भुमेथानमा भने साकेला नाचिँदैन । वैशाखे पूर्णिमाको दिन पूजाआजामात्रै गरिन्छ । भुमे निकाल्न नाच्नेक्रममा एकपछि अर्को नछुङ (धामी)को निधन भएपछि भुमेथानमा साकेला नाच्न छाडिएको स्थानीय धामी तुलबहादुर राई ‘गैराघरे’ले जानकारी गराए ।

कालो भुमेथान भएकाले साकेला नाच्दा धामीलाई क्षति हुने स्थानीय धामीहरूको विश्वास छ । साकेला नाच्दै जो–जो धामी त्यहाँ पुगे, उनीहरूको तीन/चार महिनाकै अन्तरालमा निधन भएको स्थानीय सुरेन्द्र राई बताउँछन् ।

धामीसहित जालपाली दुमी किरातहरू विशाल नागको मुखमा नाच्दै भुमेथान झर्दै गरेको दम्कुका अर्का धामीले देखे । दम्कुका धामीले अब ती भुमे निकाल्न खोज्ने जालपाली धामी धेरै टिक्दैनन् भनेको थिए । नभन्दै केही समयपछि उनको निधन भयो ।

प्रिमाकोट गढी । तस्बिर : गजेन्द्र खालिङ राई

पूर्वमा लुम्झुखोला र पश्चिममा लोचाखोलाले छेकेको आठ पहरी किरातीले भुमेथानमा भुमे निकाल्न नाच्थे । वैशाख पूर्णिमाका पहिलोपटक खरबारीका बर्मध्वज राईले भुमेथानबाट भुमे निकाले । भुमे निकालेको चार महिनापछि राईको निधन भयो । दोस्रोपटक धामी साँइला भुमे निकाल्न नाचे । साँइला पनि चार महिनापछि बिते । तेस्रोपटक पुर्याउनै पर्छ भनेर धामी साँइलाका भाइ भुमे निकाल्न पुगे । उनकोसमेत चार महिनापछि निधन भएको गैराघरेले बताए ।

संवत् २०१८ सम्म भुमेथानमा भुमे पुजिएको थियो । ‘त्यसपछि तीन वर्षसम्म भुमे पुजिएन,’ गैराघरेले सुनाए, ‘भुमे नपुजेको वर्ष अनिकाल र खडेरी लाग्यो । बाढीपहिरो गयो ।’ तर, भुमे पुजेपछि पानी पर्ने र अन्नबाली सप्रिने स्थानीयको भनाइ छ । राईमात्र होइन, सबै समुदाय भाले, अन्डा, धान र कोदो लिएर भुमे पुज्न भुमेथान पुग्छन् ।

तीन वर्षपछि दम्कुका धामीले भुमे पूजा गरे । भुमेथान र कालो खतरनाक भएकाले आइन्दा पूजाआजा गर्न सक्दिनँ भन्दै हात उठाए । धामी बित्न थालेपछि भुमेथानमा ढोलझ्याम्टा बजाएर पूजाआजा गर्न छाडियो । त्यसको सट्टा स्थानीय भैमान राईले वैशाखे पूर्णिमामा पूजामात्र गर्न थाले । राईपछि हर्कधन राईले पूजाआजाको जिम्मा लिए । उनले तीन वर्ष पूजा गरेपछि उनकै छोरा तुलबहादुर राईले १८ वर्ष अघिदेखि पूजाआजा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्