भित्तेपात्रो नहुँदा नयाँ वर्ष आएजस्तो लागेन


 

 

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट बच्न जारी बन्दाबन्दीबीच नयाँ वर्ष २०७७ सुरु हुँदा समेत धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चांग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी सुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन । बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोना त्रासले प्रभाव पारेको थियो । चीनको वुहानमा पुसमै सुरु कोरोनाको प्रभावसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको थियो ।

अध्ययनका लागि चीन गएका नेपाली विद्यार्थीलाई स्वदेश ल्याएपछि धेरै नेपालीमा त्रास फैलिएको थियो । यो त्रास र सबै काम अन्तिममा गर्ने हाम्रो बानीका कारण पनि धेरै नेपालीले बजारबाट पात्रो किनेका थिएनन् । चैतको मसान्तसम्म किन्ने सोचमा रहेकालाई चैत ११ गतेदेखि सुरु बन्दाबन्दी चैत मसान्तसम्म नखुल्दा किन्ने अवसर जुटेन ।

कागेश्वरी मनोहरा नगरपालिका–५ का विदुर सापकोटा आफ्नो घरमा पात्रो भए पनि भित्तेपात्रो नहुँदा नयाँ वर्ष आए पनि नआएजस्तो लागेको बताए । गते, बारलगायत विषय हेर्न प्रयोग गरिने पात्रो भित्तामा नहुँदा हेर्न असहज भएको सापकोटाको अनुभव छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले प्रत्येक महिनाको संक्रान्तिका दिन गुरु पुरोहितबाट मास फल सुन्ने गर्छन् । घरमा पात्रो नभएको र बन्दाबन्दीका कारण गुरु पुरोहित आउन नसकेकाले वैशाख संक्रान्तिमा यो परम्परामा समेत प्रभाव पर्यो । सौर मासअनुसार वर्षका १२ संक्रान्तिलाई चाडका रूपमा मनाउने शास्त्रीय विधि छ ।

वैशाख, साउन र माघको संक्रान्ति त अझ विशेष मानिन्छ । वैशाखमा सूर्य मेष राशिबाट भ्रमण सुरु गर्ने दिन अर्थात् विक्रम संवत्अनुसार नयाँ वर्ष, साउन संक्रान्तिदेखि दक्षिणायन र माघ संक्रान्तिदेखि उत्तरायण सुरु हुने भएकाले तीन संक्रान्तिलाई विशेष रूपमा मनाउने प्रचलन प्राचीनकालदेखि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

वैशाख १ गतेलाई वर्षकै पहिलोका साथै जेठो दिनका रूपमा पनि लिइन्छ । यति महत्व भएको दिन संक्रान्ति फल सुन्न नपाउँदा गोकर्णेश्वर नगरपालिका–६ का ध्रुवप्रसाद बराललाई नरमाइलो लाग्यो । घरमा पात्रो नभएको र बन्दाबन्दीका कारण गुरु पुरोहित पनि आउन नसकेका कारण बरालले त्यो अवसर गुमाए ।

कति नेपालीले भने प्रविधि उपयोग गरेर भए पनि यो अवसर गुम्न दिएनन् । पात्रोमा रहेको मासिक फलको तस्बिर खिची सामाजिक सञ्जालमार्फत आफन्तबाट मगाएर पनि धेरैले संक्रान्ति फल सुन्न सकिएको सुनाए । बन्दाबन्दीले गर्दा यस वर्ष प्रविधि उपयोग गरी मासिक फल सुन्न सकिएको शंकरापुर नगरपालिका सुनटोलका रामप्रसाद पौडेलले बताए । भित्तामा झुन्ड्याउने पात्रो नहुँदा पौडेललाई पनि नयाँ वर्ष आएजस्तो लागेको छैन ।

नेपालमा प्रकाशित भइरहेका पात्रोमध्ये सबैभन्दा पुरानो तोयनाथ पन्तको पञ्चांगका सम्पादक सूर्यनाथ पन्तले सामाजिक सञ्जालमा भित्तेपात्रो तयार भएर घर एवम् प्रेसमा थुप्रिए पनि बजारमा पठाउन नसकिएको भन्दै सामाजिक सञ्जालमा दुःख प्रकट गरे । पन्तले चतुर्भज प्रकाशनमार्फत पात्रो, सजिलोका लागि दुईथरि भित्तेपात्रो र गोजीपात्रो पनि प्रकाशन गर्दै आएका छन् ।

संवत् १९४७ मा तोयनाथ पन्तले सुरु गरेका पात्रोलाई उनका चौथो पुस्ताले भित्तेपात्रो, गोजीपात्रोसहित निरन्तरता दिएका हुन् । यस वर्ष तयार भएको भित्तेपात्रो उपभोक्ताका पुर्याउन नसकेकामा पन्त परिवारलाई नरमाइलो लागेको छ ।

सामाजिक सञ्जालमार्फत क्षमा माग्दै उनले चिनजानका मानिसलाई आफूले वैशाखको भित्तेपात्रोको पेज सामाजिक सञ्जालको म्यासेन्जरमार्फत ग्राहकलाई दिएको बताए । पन्तलाई धेरै मानिसले फोन गरी पात्रो पहिले लिए पनि भित्तेपात्रो नपाएकामा गुनासो गरे । फोनबाटै माफी माग्दै बन्दाबन्दी खुल्नेबित्तिकै सेवा उपलब्ध हुने प्रतिबद्धता आफूले जनाएको उनले बताए ।

सूचना विभागबाट प्रकाशन हुने वर्षभरको बिदालगायतको आधिकारिक विवरण हुने भित्तेपात्रो यस वर्ष पाउन नसकिएको धेरैको गुनासो छ । नेपाल पञ्चांग निर्णायक समितिसँगको सहकार्यमा विभागले तिथि, मिति चाडबाडलगायतको आधिकारिक जानकारी पनि दिने गरेको छ ।
समितिबाट स्वीकृत भई पात्रो प्रकाशन भएर बजारमा गएपछि त्यसैका आधारमा धेरै सरकारी कार्यालय, संघ संस्था, बैंक, सहकारीलगायत वित्तीय संस्थाले प्रकाशन गर्ने गरेका भित्तेपात्रो समेत यस वर्ष प्रभावित भएका छन् । देश संघीयतामा गएसँगै प्रदेश सरकार र स्थानीय तहले पनि भित्तेपात्रो प्रकाशन गर्न थालेका थिए । चैतको अन्तिममा पात्रो एवम् भित्तेपात्रो किन्नेले भने यस वर्ष बन्दाबन्दी हुँदा सेवा पाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्