ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे खोटाङनिवासी जीवन राईको क्यान्सरसँग लड्दा–लड्दै निधन भयो । संवत् २०८० फागुन २१ गते राईले संसार त्यागेको दुःखद खबर सामाजिक सञ्जालमार्फत सार्वजनिकपछि उनीसँग बिताएको पल झलझली सम्झें । ‘जनयुद्धमा बितेका पल’ नामक मेरो पुस्तकमा उनकाबारे थोरै प्रसंग उप्काएको थिएँ । उनकाबारेमा त्यति लेखेर पुग्दैन भनेर स्वास्थ्यकर्मी मित्र नवीन राई र दुबईमा रहेका संस्कृतिप्रेमी नवीन थुलुङसँग जीवन सरबारे जानकारी मागें । दुवै नवीनले सरबारे जानकारी गराए । उनीहरूले जीवन सरकै छोरी रजिना राई (देउराली माध्यमिक विद्यालयकै स्थायी शिक्षिका)सँग सम्पर्क गराए । रजिनाबाट पंक्तिकारलाई चाहिने जानकारी पाएँ ।
जीवन सरबारे लेख्न थालियो भने थुप्रै किताब बन्छ । उनी सतिसालझैं क्रान्तिकारी रसायनले भरिपूर्ण नक्षत्रजस्तै चम्किलो बेदाग व्यक्तित्व थिए । सामाजिक, राजनीतिक इमानदारी कायम राखेर निःस्वार्थ समाजसेवामा मजबुत योगदान दिने महान् योद्धा हुुन् । उनको विकल्पमा झुट, बेइमानहरूले राजनीतिलाई कसरी फोहोर बनाइराखेका छन् ? त्यसबारे भविष्यमा समीक्षा होलान् । यी हरफ लेखिरहँदा रावा र तापखोलाले यसै भनिरहेछ ।
पंक्तिकार तीन वर्षसम्म रावा र तापखोला क्षेत्रमा क्रियाशील थिए । त्यो समय जिल्लाभरि खटिएको सबैभन्दा कम हो । सरसँगको भेट भने प्रचण्ड, वैद्य माओवादी संघर्षको यात्रामा भएको थियो । हामी भेटिँदा जीवन सर अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समिति सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य थिए । सरको सक्रियता र वैचारिक क्षमताको जोडकोणले उँभोखोलामाथि फेदीदेखि तल लामीडाँडा, सल्लेसम्मकै कार्यक्षेत्र सांगठनिक जिम्मेवारी अर्थपूर्ण बन्यो । सक्रिय ढंगले पार्टी संगठनको गतिविधि बढाउँदै लैजानेक्रममै पंक्तिकार ०७१ जेठमा काठमाडौ पसे । सर जिल्लामै क्रियाशील रहे । पंक्तिकार काठमाडौंको धुलोमुलोमै हराउनै लाग्दा सर जिल्लाकै राजनीतिक उन्नयनमा लागिरहे ।
सरसँग बिताएको पल स्मरणीय थियो । हाम्रो सामूहिक जीवन, सामूहिक लक्ष्य, सामूहिक योजना, समाजको उन्नति र उन्मुक्त देश बनाउने लोभमा उन्नत माक्र्सवादी वैचारिक धारमा लामबद्ध भएर उन्नत विचार रोप्दै खोटाङका रावा भेगलाई आधारभूमि बनाएरै छाडेका थियौं । हामी खुबै खटेका थियौं ।
शान्तोदय माध्यमिक विद्यालय ज्यामिरे सल्लेमा ०६९ मा सरसँग भेटघाट भएको थियो । जहाँ नेकपा माओवादी विभाजनपछि मोहन वैद्य नेतृत्वको माओवादीको रावा भेगको प्रथम भेला भएको थियो । सरले भेलापछिको बैठकमा रावाली क्रान्तिकारी सामन्तवाद र दलाल संसदीय व्यवस्थाको पक्षपातीका कारण अलमलमा परेको र यस क्षेत्रको सांगठानिक गति अघि बढाउन रावाली सामन्तवादविरुद्ध संघर्ष चलाउनुपर्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि पार्टी पूरै रावाली सामन्त र दलाल संसदीय शक्तिविरुद्ध क्रान्तिकारीको साथमा संघर्षमा उत्रेको थियो । संगठन बलियो बनाउन रावाली भूसामन्तविरुद्ध हडपिएको जमिन जफत गरी किसानलाई फिर्ता गराउने पहल र क्रान्तिकारी संगठन निर्माण परिचालन गर्ने यावत् कामकारबाहीले तीव्रता पायोे ।
संवत् ०७० को निर्वाचन बहिष्कार गर्न सोलुखुम्बु, ओखलढुंगा र खोटाङको संयुक्त बैठकसमेत रावा क्षेत्रमै गरिएको थियोे । पंक्तिकारले खोटाङको आधा भूगोलको नेतृत्व गर्दा जीवन राईले सानो समर्पण भावसाथ सहयोग गरेका थिएनन् । यो इतिहास मेटिन दिनुहुन्न । सर पार्टी जिम्मेवारीभन्दा माथि उठेर जनताका आवाज बुलन्द बनाउन सक्ने जनताको तत्तत् समस्या पहिचान गरी पार्टीसम्म ल्याउन सशक्त भूमिका निर्वाह गर्न सक्ने कुशल नेता थिए । जनध्रुवीय नेताका रूपमा स्थापित हुँदै गएका थिए । पछिल्लो समय वामपन्थी यात्रामा विभाजित परिस्थितिले हामी सबैलाई चिथोर्यो । जनतालाई ध्रुवीकरण गर्न सर अर्को ढंगले लागे । त्यहाँबाट पनि एक सशक्त, इमानदार सच्चा क्रान्तिकारी योद्धा नेता भइछाडे । साथै पार्टीको ठुल्ठूला अभियानमा अभिभावकीय भूमिकामा अनुहारिए । लगातार एक वर्षको सहकार्य सम्बन्धमा हामीबीच कहिल्यै वैमनस्य भएन । बरु जनताको हितमा निरन्तर लडिरहने प्रतिबद्धतासहित पंक्तिकार पुस्तक प्रकाशन खातिर जिल्ला छाडेर काठमाडौंमै छु ।
मानबहादुर राई र आमा नौरत्न राईको कोखबाट जन्मेका जीवन राईको जन्म २०१९ माघ १० गते ऐसलुखर्क गाउँपालिका–६, ज्यामिरे, काभ्रे खोटाङमा भएको हो । राईका एक दिदी, चार बहिनी र दुई भाइ छन् । ०४८ असार ५ गते ओखलढुंगाकी रत्न राईसँगको प्रेमलाई बिहेमा परिणतपछि जीवन सरका छोरी रजिना राई र छोरा रजिन राईको जन्म भयो ।
जीवन राई अध्ययनमा अब्बल थिए । राई २०३८ मा जीवनज्योति माध्यमिक विद्यालय नेले सोलुखुम्बुबाट एसएलसी दिए । दिएकामध्ये एसएलसी उत्तीर्ण गर्ने उनीमात्रै भए । सरले आदर्श बहुमुखी क्याम्पस मोरङबाट ०४२ मा ऐच्छिक गणित लिएर आईए र पब्लिक कलेज क्षेत्रपाटी काठमाडौंबाट गणितमै बीए उत्तीर्ण भए ।
संवत् ०३९ देखि शिक्षण थालेका जीवन सर पञ्चायती व्यवस्थाविरुद्ध लड्न निम्नमाध्यमिक विद्यालयको स्थायी जागिरसमेत छाडेर वामपन्थी राजनीतिक यात्रामा सामेल भए । त्यतिबेला स्थायी शिक्षणबाट राजीनामा दिएर बहुदलीय व्यवस्था ल्याउन लड्नसम्म लडे । पीपलडाँडा माध्यमिक विद्यालय मंगलटारबाट अध्यापन यात्रा थाले । त्यहाँ वर्ष दिन अध्यापन गरे । लगत्तै छोटो समय सोलुखुम्बु र त्यहाँबाट कुइभीर माध्यमिक विद्यालय ओखलढुंगामा तीन वर्ष अध्यापन गरे । शान्तोदय माध्यमिक विद्यालय ज्यामिरेमा प्रधानाध्यापकको समेत भूमिका निर्वाह गरे । ०६१ देखि ०७६ सम्म देउराली मावि डुम्रे धारापानीमा अध्यापन गराउँदागराउँदै शैक्षिक यात्रा बिट मारे । ०४९ देखि निमावि गणित विषयमा अध्यापन सुरुवात गरेका जीवन सरको स्टाफ शिक्षकले समेत कुशल अभिभावक गुमाएकोमा दुःखी छन् ।
जीवन सर नबिर्सने विगत बनेर गए । समाज रूपान्तरणको जिम्मेवारी हाम्रो काँधमा राखेर लामो समयदेखि क्यान्सरसँग जुधेर बिदा भएका जीवन सरप्रति सच्चा श्रद्धाञ्जली ।