सजिलै र शान्तिपूर्ण तरिकाले जनअधिकार प्राप्त नहुने भएपछि जनयुद्धमा लाम लाग्नेको कमी थिएन । राजतन्त्र अन्त्य हुनु र गणतन्त्र ल्याउन उनीजस्ताको त्यागले सम्भव भएको थियो । उनी जनमुक्ति सेनाका ब्रिगेड कमान्डर थिए । झन्डै एक हजार जनसेनाको कमान्ड सम्हालेका, दर्जनौं युद्धमा घाइते भएका एक अथक युद्धनायक अर्थात् डम्बर थामी ‘अनुपम’को युद्धकथा कस्तो होला ? आममानिसलाई चासो लाग्नु स्वाभाविकै हो ।
संवत् २०५४ असोज २५ गते डम्बर थामी माओवादी पार्टीको ‘होलटाइमर’ बने । त्यही दिन उनले ‘अनुपम’ उपनाम पाए । यो भूमिगत नाम थियोे । बुवा चुनबहादुर थामी र आमा पम्फावती थामीका तीन छोरामध्ये उनी जेठा हुन् । एक बहिनीसहित ६ जनाको सपरिवार जनयुद्धमा सामेल भए ।
चुनबहादुर थामी थामी राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष तथा पार्टीको क्षेत्रीय ब्युरो सदस्यको जिम्मेवारीमा थिए भने ०६४ को पहिलो संविधानसभा निर्वाचनपछि पार्टीको तर्फबाट समानुपातिक संविधानसभा सदस्य बने ।
अनुपमका माइला भाइ कमरेड ‘उज्ज्वल’ वर्षमान पुन ‘अनन्त’को स्टाफ भएर लामो समय फौजी हेडक्वार्टरको जिम्मेवारी सम्हाले । पछिल्लो समय पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्टाफसमेत थिए । कान्छा भाइ साजन र बहिनी सुधाले सामना परिवारको जनकलाकारको भूमिका पाए । सपरिवार सशस्त्र जनयुद्धमा सामेल भएर गणतन्त्र ल्याउन थामी परिवारको योगदानलाई कम आँक्न मिल्दै मिल्दैन । यो गौरवशाली परिवार मानिन्छ । दोलखाली अल्पसंख्यक समुदायको सो योगदानले कीर्तिमानी कायम गरेको छ ।
जनसेना भएपछि ०५५ असार ५ गते दोलखाको नयाँपुलस्थित ‘किलोसेरा टु’ अप्रेसनमा निस्केका पुलिससँग पहिलोपटक भिडन्त भयो । त्यो नै पहिलो युद्ध थियो ।
दोस्रो मोर्चा काभ्रेको भीमखोरी इलाका प्रहरी कार्यालयमाथिको हमला थियो । सो हमलामा धर्म र भीष्म सहिद हुँदा तीन जनसेना घाइते भए । जनसेनाले प्रहरीका चार थान थ्रीनट थ्री राइफल कब्जा गरे । सहिदको रगतको टीका लगाएर बदला लिन्छौं भन्ने प्रतिबद्धता जनाउँदै जनसेना अघि बढे ।
‘दोलखाको मेलुङ इलाका प्रहरी कार्यालयमाथि हमला गर्यौं । त्यहाँ आंशिक सफल भयौं,’ डम्बर थामी ‘अनुपम’ले विगत सुनाए, ‘तर, एसल्ट कमान्डर उत्तरबहादुर मगर र कमल चौलागाईंलाई गुमायौं ।’
त्यसपछि सोलुखुम्बुको जुनबेंसी प्रहरी चौकी आक्रमण गरे । त्यहाँबाट फर्केपछि दोलाखाकै किरातीछापमा प्रहरीसँग घमासान युद्ध भयो । त्यस युद्धमा पनि सफल हुन नसकेको अनुपमले बिर्सेका छैनन् ।
‘त्यसपछि सिन्धुपाल्चोक थोकर्पा मोर्चामा भने पाँच दुस्मन ढाल्यौं,’ उनले खुसी व्यक्त गरे, ‘त्यतिमात्रै होइन, नौ थान थ्री नट थ्री र एक थान सर्ट गन कब्जामा लियौं ।’ पूर्वमा भएको माओवादी फौजी आक्रमणको त्यो उपलब्धिलाई ठूलो सफलताका रूपमा खुसी साटासाट गर्नु स्वाभाविकै थियो ।
‘रामेछापको दोरम्बामा इन्सपेक्टर दिलिप राई नेतृत्वको सबै प्रहरीले आत्मसमर्पण गरे,’ उनले सम्झे, ‘एक हवल्दारको ज्यान गयो । उनीहरूसँग भएको १९ थान थ्रीनट थ्री राइफल र हजारौं गोली तथा युद्धसामग्री कब्जा गर्यौं ।’
‘संवत् ०५७ चैत १९ गते दोलखाको मैनापोखरी इलाका प्रहरी कार्यालय हमला गर्दा दुस्मनको थ्रीनट थ्री राइफलको गोली पेटमा लागेर पिठ्युँबाट निस्क्यो,’ उनको भनाइ छ, ‘गोलीले आन्द्रामा तीन ठाउँ प्वाल पार्यो । काम नलाग्ने भएपछि तीन फिटबराबरको प्लास्टिकको आन्द्रा जोडेर उपचार गरेपछि नयाँ जीवन पाएँ ।’ उपचारपछि उनले झन्डै दुई वर्ष सैन्य फाँटमा काम गरेनन् । उनी घाइते भएको मोर्चामा भने जनसेनाको पीएलसीको जिम्मेवारीमा सेकेन्ड एसल्ट कमान्डर थिए । सो मोर्चामा अनुपमलगायत पाँचजना घाइते भए । त्यो युद्ध मोर्चाले पहिलोपटक स्ट्रयाकिङ बेसमा प्रहरी चौकीमाथि आक्रमण गरेको थियो । जनसेनाले त्यहाँबाट आठ थान थ्रीनट थ्री र युद्ध एमुनेसन कब्जा गरे । तर विडम्बना सेक्सन कमान्डरद्वय भीमलाल थामी ‘जितेन्द्र’ र कमरेड धर्मेन्द्र गुमाउनुपरेको थियो ।
‘मेरो उपचार सफल भएपछि जिल्ला पार्टी सम्पर्कमा रहेर एरिया सेक्रेटरी हुँदै वर्ष दिनजति दोलखा जिल्ला जनसरकार उपप्रमुखको जिम्मेवारी सम्हालें,’ उनले जानकारी गराए, ‘पूर्ण रूपमा फौजी काममा लाग्न सक्ने भएपछि भकुन्डेंबेसीको मोर्चामा सहभागी भएँ । त्यसपछि ०६० जेठबाट बेथान स्मृति ब्रिगेडको १४औं ‘ए’ कम्पनी कमिसारको भूमिकाबाट पुनः सैन्य फर्मेसनमा सरिक भएँ ।’
त्यसपछि ?
‘बयलबास सर्लाहीमा दिउँसै सफलतापूर्वक कमान्डो आक्रमण सम्पन्न गर्यौं,’ उनले थपे, ‘त्यहाँ चार थान थ्रीनट थ्री राइफल कब्जामा लियौं ।’
रामेछापको बाहुनचुरा सैलुङमा सामान्य भिडन्तपछि तात्कालिक शाही सेना भागे । दुवै पक्ष मानवीय क्षति भएन ।
त्यसपछि धनुषाको यदुकुवा (नेपाल–भारत सीमा) नजिक युद्धमा सहभागी हुन पर्यो । त्यहाँ कम्पनी कमान्डर अभिषेकलगायत ६ जना गुमाउँदा १२ थान थ्रीनट थ्री राइफल कब्जा गर्न सफल भए ।
मैनापोखरीको च्यामेमा शाही सेनासँग भीषण भिडन्त भयो । त्यहाँ पाँच हजार राउन्ड गोली र नौ थान इन्सास हतियारसहित इन्सासकै एलएमजीसमेत कब्जा गर्न सफल भए । ‘त्यो युद्ध डम्बर थामी ‘अनुपम’को जीवनकै भयंकर थियो ।
यसैगरी दोलखाको चिलिङ्खा भिडन्तमा कलाकार वैशाली तामाङ ‘नियुक्ति’लाई शाही सेनाले अपहरण गरे । कमरेड ‘नियुक्ति’लाई छुटाउन सकेनौं । सामूहिक बलात्कारपछि उनको हत्या गरियो ।
अनुपमले जनयुद्धक्रममा ठाडी देउलाङ जंगलमा हवाई तथा इन्फेन्ट्री दुवैतर्फको युद्ध झेले । सिन्धुपाल्चोकको चेहेरेमा फायरिङ एम्बुससहितको शाही सेनासँगको युद्ध आँखैअगाडि देखे । ‘त्यसपछि हामी तराईकेन्द्रित युद्धमा होमियौं । बाराको अमलेखगन्जमा शाही सेनासँग फायरिङ एम्बुस युद्ध भयो,’ उनले बताए, ‘यो पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्छ । त्यहाँ पाँच थान इन्सास र दुई थान एसएमजी कब्जा गर्यौं ।’
०६१ मा मकवानपुरको कुवापानीमा शाही सेनासँग फेरि भिडन्त भयो । त्यहाँ दुवै पक्षले क्षति बेहोर्न परेन ।
०६२ जेठ ३० मा काभ्रेको घर्तीछापमा लडे । लडाइँ उपलब्धिमूलक बन्यो । शाही सेनाले तीन थान इन्सास राइफल र एक थान एलएमजी गुमाए ।
‘०६२ माघ ४ गते काभ्रे सदरमुकाम धुलिखेल आक्रमण तयारी पूरा गर्न रेकी गर्न गएको थिएँ । रेकी गर्दागर्दै गिरफ्तारीमा परें,’ उनले भने, ‘मलाई महिना दिनसम्म नजरबन्दमा हिरासतमा राखे । जेल बसेको तीन महिनापछि पार्टी शान्ति प्रक्रियामा आयो । लगत्तै ०६३ जेठ १ गते धुलिखेल कारागारबाट मुक्त भएँ ।’
त्यतिबेला बटालियन कमान्डर अनुपम पुनः फर्मेसन (जनसेनाको पंक्ति)मा आफ्नो पदीय निर्वाह गर्न जोडिए । त्यसपछि क्यान्टोनमेन्ट बसाइमा ब्रिगेड भीसीको जिम्मेवारी पूरा गरे । बेथान स्मृति ब्रिगेड, दिनेश–रामजी स्मृति ब्रिगेड र वासु स्मृति डिभिजनमा रहेर सेना समायोजन विशेष समितिको जिम्मेवारीसमेत पूरा गरे । आफूले पाएको मेजरको समायोजन पद त्यागेर डम्बर थामी ‘अनुपम’ वैदेशिक रोजगारीमा गए ।
डम्बर थामी ‘अनुपम’ साहित्यका विविध विधामा कलम चलाउँछन् । अनुपमका थुप्रै मुक्तक प्रकाशित छन् । उनका जनयुद्धकालीन संस्मरणात्मक निबन्धसंग्रह र मुक्तकसंग्रह प्रकाशन तयारीमा रहेको छ ।