७८५ पर्ने युरिया मल २ हजारमा बेचेपछि पसल ‘सिल’


 

भोजपुर, ९ जेठ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई अनाधिकृत रूपमा मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले जिल्लाका एक किराना पसल सिल गरेको हो ।

गत बुधबार अरुण गाउँपालिका–६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा अनाधिकृत रूपमा रासायनिक युरिया मल बिक्री भइरहेको खुलेपछि जिप्रकाले किराना पसल सिल गरेको हो ।

प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने युरिया मल २ हजारमा बेचविखन भएको थाहा पाएपछि जिल्ला प्रशासनले यस्तो कदम चालेको हो । भुजेलको स्टोरबाट ४७ बोरा मल सिल गरिए पनि मल कहाँबाट ल्याइएको भन्ने खुल्न नसकेको बताइएको छ । अनाधिकृत खरिद गरेर महँगोमा किसानलाई बेचेको खुलेपछि बाँकी मल जफत गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।

प्रहरी टोलीले अनाधिकृत रूपमा ल्याइएको ६० बोरा मलमध्ये २० बोरा मल बेचिसकेकाले बाँकी मलमात्र सिल गरिएको प्रहरी चौकी जरायोटारका इन्चार्ज भलबहादुर राईले बताए । वास्तविक मूल्यभन्दा १४ सय बढीले बेचिएको मल कहाँबाट ल्याइएको विषयमा अनुसन्धान भइरहेको इन्चार्ज राईले बताए ।

हुलाकका कर्मचारीसमेत रहेका भुजेलले इन्जिनमा समस्या आएपछि रोकिएको ट्रकले मल बोकेको थाहा पाएपछि आफूले प्रतिबोरा १८ सयले खरिद गरेको बताएका छन् । ‘बिग्रेर केही थन्किएको ट्रकका चालकलाई खाद्यान्न सामग्री हो कि भनेर सोध्दा मल बोकेको भनेपछि मलाई बेचे । मैले स्टोर गरें,’ स्थानीयले मल नपाएको गुनासो बढेकाले प्रतिबोरा १८ सय तिरेर २ हजारले बेचेको भुजेलले स्वीकारे । ट्रक चालकले मल बेच्नेबित्तिकै फर्केपछि कहाँबाट ल्याइएको थाहा नभएको उनले सुनाए ।

सिल गरिएको मलमा जनप्रतिनिधिको चासो

प्रहरीले मल सिल गरेको थाहा पाएपछि स्थानीय जनप्रतिनिधिमा पनि चासो बढेको छ । सिल गरिएको मलका विषयमा गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्की, उपाध्यक्ष विनिता ढकाल, जरायोटारका वडाध्यक्ष ज्ञानेन्द्र दाहाल, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटासहितको अनौपचारिक छलफल चलेको बताइएको छ । सिल गरिएको मल किसानलाई आवश्यक परेमा प्रतिबोरा एक हजारमा बिक्री गर्न दिने निर्णय भएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताइन् । तर, प्रशासनले सिल गरेको मलबारे थप अनुसन्धान हुन बाँकी रहेकाले कुनै निर्णय नगर्न भनिएपछि यथावत् राखिएको उनले बताइन् । गैरकानुनी रूपमा मल बेचिएको ठहरेमा आफूहरूको कुनै हस्तक्षेप नहुने उनको भनाइ छ ।

यता, वडाध्यक्ष दाहालका अनुसार खेतीको सिजनमा कृषकलाई मल अभाव भइरहेको बेला सिल गरिएको मल नै सहजीकरणको विकल्प खोजिएको बताएका छन् ।

(नेकपा) अरूणको आरोप : ‘कालोबजारीमा जनप्रतिनिधिकै संलग्नता’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अरूण गाउँपार्टीले मलको कालोबजारीमा जनप्रतिनिधिकै हात रहेको आरोप लगाएको छ । गाउँपार्टीले संकटका बेला किसानलाई ठगी गर्ने गिरोहलाई बचाउन जनप्रतिनिधिकै सक्रियता रहेको आरोप लगाएको छ ।

गाउँपार्टी सचिव नारायण घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस पोस्ट’ गर्दै प्रशासनको आदेशमा सिल गरिएको अवैध रासायनिक मल गाउँपालिकाको नेतृत्वमा बजार मूल्यभन्दा महँगोमा किसानलाई वितरण गर्न लागिएको आरोप लगाएका छन् ।
आधिकारीक सप्लार्यसलाई छैन, कसरी भयो कालोबजारी ?

अरूण गाउँपालिकाले गाउँपालिकाका लागि कृषि रासायनिक मल खरिद गर्न एचपी सप्लार्यसलाई ठेक्का दिएको छ । सप्लायर्सले पारेको ठेक्का अनुसार ५० केजीको दरले १ हजार ३ सय ९५ बोरा डीएपी र २ हजार ६ सय ५ बोरा युरिया मल किसानलाई वितरण गरिने प्रावधान बनाएको छ । जसमध्ये कोटाअनुसार नै डीएपी मल गाउँपालिकाका लागि ल्याइसक्ने सप्लायर्सका प्रोपाइटर निर्मला शेर्पाले बताइन् ।

शेर्पाका अनुसार युरिया मल भने ५ सय २० बोरा मात्रै आफूहरूलाई साल्ड ट्रेडिङले उपलब्ध गराएको र त्यो मल किसानकहाँ पुर्याइसकिएको छ । बाँकी रासायनिक मलका लागि साल्ड ट्रेडिङको डिपोले उपलब्ध नगराएको जनाइएको छ ।

साल्ड ट्रेडिङका प्रतिनिधिले पनि युरिया मल भण्डारण गरिएको गोदामनजिकै क्वारेन्टाइन वार्ड बनाइएकाले ढुवानी गर्न असजिलो भएको भन्दै तत्काल मल उपलब्ध नगराएको शेर्पाको भनाइ छ । लकडाउनको बेला पनि कालोबजारी हुँदा खरिद र ढुवानी गर्ने आधिकारिक सप्लायर्सलाई समेत अप्ठ्यारोमा पारेको शेर्पाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्