अरबी लेखक तथा वैज्ञानिक इबने बतुताको भनाइ छ, ‘मनको भावनात्मक दशा नै सुख–दुःख हो ।’ उल्लिखित भनाइ जोकोही मानिसको जीवनमा मेल खान्छ ।
पंक्तिकारले झेलेका कतिपय घटनाले हृदय चिथोर्छ । अत्यासलाग्दो अतीतले झस्काउँछ । त्यहाँदेखि यहाँसम्मका जीवनयात्रामा घटेका प्रत्येक घटना लेख्ने हो भने कार्ल मार्क्सले लेखेका तीन खण्डको ‘पुँजी’ किताब बन्न सक्छ । मैले भोगेको संकट साहस गरेर अघि बढ्न गरेको संकल्प हो ।
त्यतिबेला म सानै थिएँ । त्यसताकाको विपत्ति सपनाजस्तो लाग्छ । बर्खामास । लामो समयको खडेरी । धान रोप्ने अत्तोपत्तो थिएन । रोपिएका कोदो सुकिसकेको थियो । किसान आत्तिएका थिए । जनजीवन अस्तव्यस्त । पानीका लागि भगवान्सँग पुकारा गरेको सुनिन्थ्यो ।
संवत् २०३९ असार १५ गतेको घटना । दिनभरि घाम लागेको थियो । साँझ बुवाआमाले मेलाबाट जोगाएर ल्याएको खाजा खाएपछि म निदाएछु । बुवाआमाले के खाए ? निदाए कि निदाएनन् ? हेक्का भएन । मध्यरातमा व्युँझँदा मुसलधारे पानी परिरहेको थियोे । त्यतिबेला हाम्रो घर थिएन । हामी गोठमा बस्थ्यौं । अन्नपात, ढिकी, जाँतोलगायत सबै–सबै गोठमै हुन्थ्यो । गोठ कहिले लेक, कहिले बेंसी, कहिले ओल्लो त कहिले पल्लो बारी सारिरहनुपर्थ्यो । त्यही गोठ हाम्रा लागि दरबारसरह थियो ।
गोठले अविरल वर्षा थेग्न हम्मेहम्मे परेको थियो । हाम्रो गोठ कडेङको डीसी (माथिल्लो बारी) मा थियो । ओछ्यानमै भल पस्यो । ६/७ महिनाका माइलो भाइ कोक्रोमा थिए । आमाले भाइलाई घुम ओढाइन् । हाम्रो गोठमा दुई घुम थिए । मेलापात गर्दा बुवा–आमाले त्यही घुम प्रयोग गर्थे । हाम्रो गोठवरिपरि कसैको घर थिएन । जता हेरे पनि अँध्यारोमात्रै ।
अविरल वर्षा रोकिने छाँटकाँट थिएन । खोलाखोल्सी उर्लेको उल्र्यै थियो । ‘यहाँ नबसौं । पहिरो खस्न सक्छ,’ आमाले बुवालाई धेरैपटक सुझाइन्, ‘बकसे ओढारतिर गएर बसौं ।’ घुम ओढेर बुवाले मलाई बोके । आमाले भाइलाई । अँध्यारोमा छामछामछुमछुम गर्दै सिब्दावाराको बकसे आपोतिर लाग्यौं । म बुवाको पिठ्युँमै निदाएछु । ओढार पुगेपछि व्युँझिएछु । ओढार पुग्दा पारि गोनेसाँघुको डाँडानजिकैको श्रीबुती पाखामा पहिरो खस्यो । तल भद्रावती खोला उर्लेको प्रस्टै सुनिन्थ्यो । राति पहिरो खस्दा पाखैभरि आगोको झिल्को उठ्ने रहेछ । पारि दुरुङतिर मुङ्चा स्योङ, अँधेरी स्योङ र फोसोरोत रातभरि उस्तैगरी उर्लेका थिए । आश्रय लिएको ओढारले छोप्ला कि भन्ने उत्तिकै डर । बुवाले घुम ओछ्याएर मलाई सुताए । आमाले भाइलाई बोकिरहेकी थिइन् । म फेरि निदाएछु । बुवाआमा रातभरि जाग्रामै बसे त होलान् ।
उज्यालो भयो । जता हेरे पनि पहिरो खसेकोमात्रै देखियो । हाम्रो गोठ सग्लो छ कि छैन होला ? पीर मान्दै त्यता लाग्यौं । पहिरोले गोठ पुरेछ । अन्नपात, कुखुरा, बाख्रा, ओढ्ने, ओछ्याउने पुरिएछन् । गाईबस्तु भने दाम्लो चुँडालेर लाखापाखा लागेछन् । बुवाआमाले गाईबस्तु खोजेर ल्याए । गोठबाट ओढारतिर नभागेको भए हामी पुरिने थियौं । धन्न बाँचिएछ । बाँच्न त बाँचियो तर पहिलेको जस्तै गोठ बनाउन धेरै खर्च लाग्थ्यो । हाम्रो परिवारका लागि अर्को समस्याको पहाड ठडियो ।
गोठभन्दा पर दोर्पा भन्ने गाउँ थियो । पहिरोले दोर्पा बगायो भन्ने हल्ला सुनेपछि बुवाआमा त्यतै दौडिए । पहिरोसँगै दोर्पाका ६ घरसहित १२ जना बगे । जताततै कोलाहल, चिच्याहट । मर्ने मरिसके । बाँचेकाहरू छाती पिटीपिटी रोइरहेका थिए । आफन्तको खोजीमा पहिरोपीडितले पहिरो खोस्रिरहेका थिए । एकाध शव भेटिए पनि पहिरोले बगाएका र पुरिएकाहरू भने भेटिएनन् ।
केही दिनपछि आएको हेलिकोप्टर हाम्रो बारीको डिलमा अवतरण भयो । हेलिकोप्टर हेर्न गाउँलेको भीड लाग्यो । हेलिकोप्टर छुन तँछाडमछाड चल्यो । हेलिकोप्टर छुँदा गति पाइन्छ भन्ने जनविश्वास थियो । बुवाआमाले मलाई पनि हेलिकोप्टर छुन लगाए । मैले हेलिकोप्टर छोएँ । आनन्द लाग्यो । रमाएँ पनि । हिजोआज सम्झँदा हाँसो लाग्छ । हेलिकोप्टरमा आएकाले राहत सामग्री बाँडे । पहिरोले पुर्याएको क्षतिबारे बुझे । अनि कता उडे कता !