स्वीट्जरल्यान्ड घुम्ने पूर्वमन्त्रीको रहर


काठमाडौं । ‘मौका मिल्यो भने स्वीट्जरल्यान्ड घुम्न पाए हुन्थ्यो भन्ने लागेको छ,’ तात्कालिक १ नम्बर प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राईले रहर व्यक्त गरे, ‘नेपाल र स्वीट्जरल्यान्डको तुलनात्मक अध्ययन गर्ने उत्कट अभिलाषा छ ।’

भन्न त नेपाललाई एसियाको स्वीट्जरल्यान्ड भनिन्छ । ‘तर, स्वीट्जरल्यान्ड नेपालजत्तिको छैन भन्ने मेरो तर्क छ । स्वीट्जरल्यान्डभन्दा नेपालको जनसंख्यामा तीन गुना बढी,’ पूर्वमन्त्री राईले सुनाए, ‘र, भूगोलमा तीन गुना नै बढी हो । संसारमा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल छन् । त्यसमध्ये आठवटा हिमाल नेपालमै पर्छन् । तालतलैया त्यहाँ धेरै होलान् तर राराताल, फेवाताल र से–फोक्सुन्डो ताल स्वीट्जरल्यान्डमा छैन ।’

स्वीट्जरल्यान्डको प्रतिव्यक्ति आम्दानीको स्रोत लगभग ९० प्रतिशत पर्यटनबाट आउँछ । त्यहाँका ५० प्रतिशतभन्दा बढीले पर्यटनबाट रोजगारी पाएका छन् । ‘हामीले किन पाउन सकेनौं ?

स्वीट्जरल्यान्डको कुल गार्हस्थको ९० प्रतिशत पर्यटनबाट आउँछ भने त्यहाँभन्दा राम्रा र अग्ला हिमाल हामीसँग छ,’ उनको भनाइ छ, ‘हामीसँग एक घन्टा पैदल हिँड्दा नुनथलामा चिसो र नुनथलामुनि अर्को एक घन्टा हिँड्दा रावाखोलामा भतभती पोल्ने ठाउँ पाइन्छ ।’

‘तसर्थ दृश्य हेर्न होइन, तुलनात्मक अध्ययनका लागि स्वीट्जरल्यान्ड पुग्ने रहर हो,’ उनले पुछारमा थपे, ‘उसले पर्यटनबाट त्यतिविघ्न आयआर्जन कसरी गर्न सक्यो होला ? नेपालले पर्यटनका कच्चा पदार्थ विदेशबाट ल्याउन पर्दैन । तर, भनेजस्तो पर्यटन प्रवद्र्धन किन सर्न सकिएन ?’

प्रतिक्रिया दिनुहोस्