हलेसीका १० नागाबाबालाई खाद्यसामग्री वितरण



हलेसी (खोटाङ) । श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले हलेसीमा रहेका नागाबाबालाई खाद्यसामग्री बाँडेको छ ।

हलेसीमा रहेका १० जना नागा बाबालाई खाद्यसामग्री बाँडेको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए ।

हलेसी सूचना केन्द्र प्रमुख राईका अनुसार, उनीहरूलाई प्रतिव्यक्ति पाँच किलोग्राम चामल, एक किलोग्राम दाल र एक किलोग्राम नुन बाँडिएको हो ।

कोरोना महामारीबाट बच्न र बचाउन त्रिधार्मिक स्थल हलेसी बन्द हुँदा नागाबाबाहरूसमेत प्रभावित भएका छन् । ‘खानेकुरा केही नभएको जानकारी गराए,’ उनले थपे, ‘जानकारी पाउनासाथ नागाबाबालाई खाद्यसामग्री उपलब्ध गराएका हौं ।’

सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म ‘लकडाउन’ घोषणा गर्नअघि हलेसी तुवाचुङ नगरपालिका, हलेसी महादेव विकास समिति र श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिबीच छलफल गरी हलेसी बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्