संवत् २०६६ चैत । तात्कालिक एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारले नागरिक सर्वोच्चता कुल्चिरहेको थियो । एनेकपा माओवादीघटक सबै जनवर्गीय संगठनको उपस्थितिमा काठमाडौंका विभिन्न स्थानमा ६ दिनसम्म सडकमै जुलुस, धर्नामा बितायौं । म त्यतिबेला दोस्रोपटक काठमाडौं आएको थिएँ । आन्दोलन फिर्ता लिनुपर्ने स्थिति भएपछि हाम्रा पार्टी नेताहरूले अब हामीले सत्ता सडकबाट लिने डरले भारतीय सैनिक हस्तक्षेप गर्ने खतरा देखाएर आन्दोलन सामसुम पारियो । त्यसताका म भने थप सैन्य प्रतिरोध गर्न तयारी गर्ने भनेर पार्टी निर्देशनमा काठमाडौं रहने टिमको सदस्य भएर रहें । ४५ दिन काठमाडौंवरपरका आफन्त, नरनाता र साथीहरूसँग घुमें ।
त्यतिबेला गाउँ त के सहरमा पनि स्मार्ट फोन प्रयोगकर्ता कमै देखिन्थे । म भने सामाजिक सञ्जाल फेसबुक चलाउन साइबर धाउँथें । त्यही सिलसिलामा कोटेश्वर काठमाडौंको एक साइबरमा फेसबुक खोलेर अनलाइनमा बस्दा पश्चिमतिरका एक मित्रले सूचना पठाएका रहेछन् । सूचनामा लेखिएको थियो, ‘डा. भोला रिजालको उपस्थितिमा एग्रिकल्चरबाट पैसा कसरी कमाउने भन्नेबारे तीन घन्टाको प्रशिक्षण छ ।’
सोही सूचनाका आधारमा सिनामंगलमा रहेको एक होटलमा देशैभरिका १८/२० जना सहभागी थियौं । डा. रिजालले हामीसँग अन्तर्क्रिया गर्न चाहे । परिचय आदान–प्रदान भयो । हामी डाक्टर सापको सूचनाका आधारमा भेला भयौं । कृषिबाट सजिलै पैसा कमाउन कसरी सम्भव छ ? हामीले सोध्यौं । उनले कृषिबाट सजिलै पैसा कमाउने तरिका दुई घन्टासम्म सुनाए ।
–खर्बुजा र भुइँस्याउ खेती ।
–दुवै फलबाट रक्सी उत्पादन गर्ने ।
–बजार बनाउन राष्ट्रिय संगठन र गीताको कसम ।
–वाटर मेलान (खर्बुजा) को खेती गर्मीमा हुन्छ । विशेषतः पहाडका नदीकिनार र मधेसमा यसको खेती असाध्यै हुन्छ । ग्राउन्ड एप्पल (भुइँस्याउ) लाई अफ्रिकी मुलुकमा ‘याकुब याकोन’ भनिन्छ । याकोन सामान्यतया स्वादिलो हुन्छ । यसको सेवन गर्दा मधुमेह रोगी लाभान्वित हुन्छन् । याकोन सिरपले रगतमा चिनीको मात्रा कम गर्न मद्दत गर्छ ।
डा. रिजालले भुइँस्याउका प्राकृतिक फाइदाबारे त्यत्तिकै फाइदा रहेको बताए । त्यतिबेला जलवायु परिवर्तनबारे गम्भीर छलफल चलिरहेकै थियो । याकुब खेती भएमा अन्य बिरुवाभन्दा सात गुना बढी अक्सिजन उत्पादन हुने र जलवायु परिवर्तनमा क्रान्ति गर्न सघाउ पुग्ने उनले लोभलाग्दो तर्क पेस गरे ।
बगरमा समेत खर्बुजा उत्पादन गर्न सकिन्छ । यसको बिरुवा डाक्टर सापले उपलब्ध गराउने भएकाले उत्साहित थिएँ । खोटाङमा यसको खेती गर्ने नेतृत्व म गर्न सक्छु भन्ने पंक्तिकारको हिम्मत बढ्यो ।
अर्गानिक खर्बुजाबाट अर्गानिक रक्सी उत्पादन गरी ‘ब्रान्डेड’ रक्सी बनाउन सकिन्छ । त्यतिबेला खर्बुजाको रक्सी प्रतिलिटर १४ हजार र भुइँस्याउको रक्सी प्रतिलिटर ९० देखि ९९ हजारसम्म पर्थ्यो । दुवै फलको रक्सीबाट क्यान्सरजन्य रोग निदान गर्न सकिने भएकाले यसको उत्पादनमा सरकारबाट चाँडै वैधानिकता लिई ओखतीका रूपमा देशैभर र विदेशमा समेत बजार विस्तार गरेर मालामाल हुन सकिने डा. रिजालको दाबी थियोे ।
एग्रोफार्ममा संगठित हुन र संगठनको नीति पालना गर्न गीता छोएर कसम खान सहमत हुनेलाई खर्बुजा र भुइँस्याउको बिरुवा उपलब्ध गराइने डाक्टर सापले उद्घोष गरे । डाक्टरको उद्घोषले सबैभन्दा धेरै पंक्तिकारलाई घोचेको थियो । यस्तो संगठनमा रहन नसकिने बताउँदै पंक्तिकारले सिनामंगलको बैठकबाट बाहिरिए ।