
फाक्टाङ (खोटाङ) । कम्प्युटरमा टाइप अथवा डिजाइन गरिएका सामग्री प्रिन्ट गर्ने प्रिन्टरमा समेत क्रान्तिकारी विकास भएको छ । ठुल्ठूलादेखि स–साना आकारका प्रिन्टर बजारमा उपलब्ध छन् ।
उल्लिखित प्रिन्टर झोलामा बोकेर सजिलैसँग एकबाट अर्को ठाउँमा लगेर प्रिन्ट गर्न सकिनेखालका छैनन् । त्यसैले प्रिन्ट गर्नुप¥यो भने दुई कुराको समस्या आउँछ । पहिलो, जहाँ पायो त्यहाँ प्रिन्टर पाइँदैन, बोकेर लैजान पनि सम्भव हुँदैन । दोस्रो, प्रिन्ट गर्नका लागि जताततै बिजुली पनि हुँदैन ।
गाउँघरमा त झन् कुनै पनि हालतमा सजिलै प्रिन्ट गर्न सम्भव छैन । यी सबै समस्या समाधान गरिदिएका छन्– सु–इन किम र ताइ–जिन किमले । उनीहरूले डिजाइन गरेको प्रिन्टर कलमजत्रो आकारको छ । यो झोला होइन, गोजीमा बोक्न सकिन्छ ।
यसलाई मसी धेरै चाहिँदैन । महँगो मसीको धुलो पनि चाहिँदैन । थोरै मसी भरेर प्रिन्ट गर्न सकिन्छ । अर्को कुरा, मोबाइल अथवा ल्यापटपमा युएसबी तारले जोडेर प्रिन्ट गर्न सकिन्छ । भएन त कमाल ?



