यसकारण पीपल हुर्काउन कठिन !


तस्बिर : दीपेन्द्र राई/तुवाचुङ साप्ताहिक

विषय प्रवेश :

‘छोरा हुर्काउनु साह्रै गाह्रो के,’ हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, खोटाङकी किरात राई समुदायका एक आमा भनाइ हो । ‘हाम्रो ज्योति (छोरी) सजिलै हुर्कियो । धामीमा खासै लग्युङ्ना (लगेनौं) । डाक्ढर (अहेब, एचए) कहाँ पनि गयुङ्ना (गएनौं) । सूर्य (छोरा) जन्मेपछि कति रात त आँखा झिमिक गर्नु पायुङ्ना (पाएनौं) । छादेको छादेकै (बान्ता गरेको गरेकै), छेरेको छेरेकै (झाडापखाला लागेको लागेकै) गर्ने,’ हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, खोटाङकी धेरै जना छोराछोरीकी आमाले सुनाइन्, ‘रुने, तर्सिने, खानै नखाने, आमाको दुध नखाने, झगडा गर्ने, मूच्र्छा पर्ने, पेट दुख्ने, के–के हो, के–के हुने । धामी, डाक्ढरमा कुदाइहाल्नुपर्ने । यसले (छोरालाई औंल्याउँदै) साह्रै दःख दियो । पाँच वर्ष पुगेर छेवर (बिहेअघि मामाले कपाल काटेर टोपी लगाइदिने चूडाकर्म) गरेपछि बल्ल बिरामीले छोड्यो । चार छोरी हुर्काउन सजिलै भयो । तर, तीन छोरा हुर्काउन साह्रै कठिन ।’

यस विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन अनुसन्धान भएको त पाइएको छैन तर सामाजिक र सांस्कृतिक हिसाबमा केही मान्यता प्रचलित छ । जसमा छोरा वा छोरीमात्रै जन्माएका आमाहरूमा यो अनुभव नहुन सक्छ । छोरी हुर्काउन किन सजिलो होला भन्ने प्रश्नमा आमाहरूको वैज्ञानिक उत्तर नआए पनि ओंठे जवाफ आउँछ, ‘अरूको घर गएर काम गर्नुपर्ने हुन्छ । त्यही भएर होला छोरीहरू छिटो र सजिलो हुर्केका !’

पीपल धार्मिक, सांस्कृतिक र वातावरणीय हिसाबले महत्वपूर्ण रुख हो । आमसञ्चार तथा पत्रकारिताका अध्यापक यमबहादुर दुरा लेख्छन्, ‘नेपाली लोकजीवनको शास्त्र र मौखिक परम्परा दुवैमा बर–पीपलको गाथा–गरिमा बग्रेल्ती भेटिन्छन् । धार्मिक अनुष्ठान र शुभकार्यमा बर–पीपलका पात अनिवार्यजस्तै मानिन्छन् । गौतम बुद्धले पनि पीपलकै फेदमा बुद्धत्व प्राप्त गरेको इतिहासले बताउँछ ।’
वरपीपलका धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा चिकित्सकीय आयाम पनि छन् । (हिमालखबर, २०८० वैशाख २३) ।

इतिहास र संस्कृतिका ज्ञाता डा. गौतमवज्र वज्राचार्यका अनुसार हिन्दु र बौद्ध धर्मका अनुयायीले पीपललाई देवताका रूपमा पूजा गर्छन् । साथै वैदिक समयभन्दा प्राचीन मानिएको सिन्धु सभ्यताको कलाकृतिमा पीपलको चित्र जताततै भेटिएको पनि वज्राचार्यले चर्चा गरेका छन् (अन्नपूर्ण पोस्ट दैनिक, २०७८ असार २६) ।

प्रेम खत्री र पेसल दाहालकृत पुस्तक आधुनिक नेपालको सामाजिक इतिहास (२०५३) मा हिन्दु अनुयायीले तुलसी र पीपललाई विष्णुको रूप मानेर पूजा–अर्चना गर्नुका साथै बाटो–चौबाटोमा पीपल रोप्ने तथा पानी चढाउने चलन रहेको बताउँछन् । (खत्री र दाहाल, २०५३, पृ. १२५)

किरात राई समुदायमा समेत पीपलको धार्मिक, सांस्कृतिक र परम्परागत महत्व रहेको पाइन्छ । प्रकृतिपूजक उनीहरूका धार्मिक परम्परामा पीपलसहित विभिन्न रुख–बिरुवाको आफ्नै भूमिका हुन्छ ।

पीपलको स्थलगत कुरा :

खोटाङको हलेसी भेगमा हेर्दै जाँदा अधिकांश बरको जोडी पीपल नभएको, मर्न लागेको, सानोमात्रै होइन, कुच्रुक्क परेको देखिन्छन् वा भेटिन्छन् । दुर्छिम साल्तेम्मानिवासी उत्रसेर राई जीवित रहँदा भन्थे, ‘ओको खिडा देम्रा पीपल लुइदुइनाखै लेटे, स्याख्याटे, पोरे, स्याख्याटे । अर्थात् यो ठाउँमा जति पीपल रोपे पनि मरिजान्छ । जाग्छ । सर्छ । बढ्छ । फेरि मरिजान्छ ।’ प्रायः बरको तुलनामा पीपल हुर्काउन गाह्रो देखिन्छ ।

हिन्दु धर्मको मान्यताअनुसार पीपलको महत्व र सर्न गाह्रो हुने कारण

–पीपलमा त्रिदेव (ब्रह्मा, विष्णु, महेश) को वास हुने विश्वास छ ।

–विशेषतः भगवान् विष्णु पीपलमा वास गर्छन् भन्ने मान्यता छ ।

–यस्तो देवताको वासस्थानलाई ‘स्थान परिवर्तन गर्नुहुन्न’ भन्ने धार्मिक सोचले गर्दा मानिस पीपल सार्न डराउँछन् । यदि सारियो भने पनि बाँच्दैन भन्ने गहिरो विश्वास छ ।

–पीपललाई ‘अचल’ (नहिल्ने, नहटाउने) वस्तु मानिन्छ । यसैले कतिपय ठाउँमा यसको पूजा गरी यो जहाँ छ, त्यहीं रहने विश्वास गरिन्छ ।

–यदि यसलाई सारियो भने पवित्रता भंग हुन्छ भन्ने डर हुन्छ । त्यसैले ‘बाँच्दैन’ भन्ने जनविश्वास छ ।

किरात राई समुदायमा पीपलको महत्व र सर्न गाह्रो हुने कारण

किरात धर्मले प्रकृति (सूर्य, चन्द्र, रुख, पानी, आकाश आदि) लाई देवताजस्तै मान्छन् । पीपललाई पनि जीवनदायी रुखका रूपमा पूजा गरिन्छ ।

–पीपलको छायाँ, अक्सिजन दिने क्षमता र लामो आयुका कारण पुजनीय मानिन्छ ।

–राई समुदायको मुन्दुम (पवित्र मौखिक ग्रन्थ वा कथा) अनुसार केही धार्मिक कार्य वा पूजाविधि र ग्रह कटाउँदा पीपलको पात, डाला वा जरा प्रयोग गरिन्छ ।

–पूर्वजको आत्मालाई सम्झनाका लागि विभिन्न पूजामा पीपलसँग सम्बन्धित सामग्री प्रयोग गरिन्छ ।

–केही गाउँ वा बस्तीमा पीपललाई देवस्थलका रूपमा मानिन्छ । जहाँ मेला, पूजा वा धार्मिक बैठक हुन्छन् । यो ठाउँलाई ‘थान’ वा ‘थान थलो’ भनिन्छ ।

–पीपलको छायाँमा गाउँका वृद्धले जमघट गर्ने, कथा सुनाउने वा सामूहिक निर्णय लिने प्रथा पनि राई समुदायका कतिपय भागमा प्रचलित छन् ।

–केही किरात परम्परा वा ग्रामीण जनविश्वासअनुसार, पीपल पूर्वजको आत्मा बस्ने ठाउँ हो ।

–त्यसैले यसको स्थान परिवर्तन गर्नु पूर्वजप्रति अनादर ठानिन्छ । र, त्यसको परिणामस्वरूप बिरुवा बाँच्दैन भन्ने मानसिकता बनाइएको छ ।

तस्बिर : दीपेन्द्र राई/तुवाचुङ साप्ताहिक

सामान्यतः कारण

–पीपलको जरा धेरै गहिरो र चौडाइमा फैलिएको हुन्छ ।

–बिरुवा सार्दा जराको ठूलो भाग काटिन सक्छ वा क्षति पुग्छ, जसले पानी र पोषणको अवशोषण गर्न सक्दैन ।

–सार्नेक्रममा जरालाई अत्यधिक सुक्न दिनु, चोट पुर्याउनु वा जरालाई खुला राख्दा बिरुवाले झट्टै पानी सोस्न सक्दैन ।

–जरावरिपरि पर्याप्त माटो नसमेट्दा बिरुवामा तनाव आउँछ ।

–बिरुवा सार्न वर्षायाम (मनसुन सुरु हुनुअघि वा सुरुवातमा) सबैभन्दा उपयुक्त समय हो ।

–अन्य समयमा सार्दा बिरुवाले आवश्यक चिस्यान र उपयुक्त वातावरण नपाउँदा मर्छ ।

–पीपल ढुंगायुक्त, निकासयुक्त र अलिकति सुक्खा माटोमा राम्रो हुन्छ । पानी जम्ने ठाउँ वा धेरै भारी माटोमा जरा कुहिन्छ ।

–अत्यधिक घाम वा धेरै छायाँ भएको ठाउँ पनि अनुकूल हुँदैन ।

–रोपिएका बिरुवा सुरुवाती दिनमा नियमित पानी, मल र छायाँ व्यवस्थापन आवश्यक हुन्छ ।

–बिरुवा छायाँमा हुर्किएको भए सिधै घाममा राख्दा झन् मर्ने सम्भावना हुन्छ ।

–धेरै सानो वा धेरै ठूलो बिरुवा सार्दा मर्ने जोखिम बढी हुन्छ ।

–एक/दुई फिटको स्वस्थ बिरुवा उपयुक्त हुन्छ, जसको जरा सजिलैसँग केही माटोसहित सार्न सकिन्छ ।

–माटोसहित जरा निकाल्ने, धेरै माटोसहित जरा निकाल्दा झट्का कम हुन्छ ।

–जरा काट्नुपरेमा टोक्ट्याउने औषधि (रुट हर्मोन) प्रयोग गर्न सकिन्छ ।

–सार्ने बेला हल्का चिसो मौसम रोज्ने, जस्तो कि बिहानको समय वा बदली भएको दिन ।

–सारेपछि दुई/तीन साता नियमित पानी हाल्ने र प्रत्यक्ष घामबाट जोगाउन सकिन्छ ।

–यदि बिरुवा सार्ने तयारी गर्दै गरेकाले उपयुक्त उमेरको बिरुवा छान्नुपर्छ, जरालाई सकेसम्म चोट नपुर्याउने प्रयास गर्नुपर्छ । सकेसम्म मनसुनको सुरुवाततिर सार्नुपर्छ ।

–पीपल हुर्कन राम्रो निकास भएको, जैविक पदार्थयुक्त माटो आवश्यक हुन्छ । भारी माटो वा पानी जम्ने ठाउँमा हुर्कन गाह्रो हुन्छ ।

–पीपलको प्रारम्भिक वृद्धि गति निकै ढिलो हुन्छ । धेरैले सोच्ने गर्छन् कि बिरुवा मरेको होला तर वास्तवमा त्यो बिस्तारै हुर्किरहेको हुन्छ ।

जनविश्वास एवम् किंवदन्ती

कसैले पीपल सारे भने र धार्मिक विधि नपुर्याई सारेको खण्डमा पाप लाग्छ । दोष पनि लाग्छ भन्ने सामाजिक चेतावनीका रूपमा बाँच्दैन भन्ने जनविश्वास छ । यो विश्वासले डराएर मानिसले पीपल सार्न रोक्ने भूमिका खेलेको देखिन्छ । पीपल सार्दा गाह्रो हुनुमा जैविक कारण प्रमुख भए पनि धार्मिक विश्वासले अझ रहस्यमय, पुज्य र ‘नछुने’ वस्तु बनाएका छन् । पीपललाई देवता वा आत्माको वासस्थान मानेर त्यसको स्थान परिवर्तनलाई अशुभ ठानिँदै आएको छ । जसकारण मानिस विश्वास गर्छन् कि पीपल सरेपछि बाँच्दैन किनभने त्यो स्थानको पवित्रता हटाइयो ।

‘रातको १२ बजेपछि पीपलमा शक्तिशाली बोक्सी बन्न साधकले साधना पूजा–आराधना गरी पीपलको बोट उखलेर, बोकेर काशी पुर्याइन्छ,’ हलेसी भेगका बूढापाका यसो भन्छन्,
‘बिहान पहिलो प्रहरको भाले बास्नुअघि सोही ठाउँमा ल्याई पीपल रोप्ने अभ्यास गर्नाले यो कुनै पनि बेला मर्न सक्छ ।’

कुन समयमा कुन व्यक्तिले कस्तो बिरुवा रोपे त भन्ने कामकुराले पीपल बाँच्ने नबाँच्ने हुन्छ । कुनै व्यक्तिले रोपेको बिरुवा वा रुख अपवादबाहेक सबै सर्ने र बाँच्ने गर्छ । तर, कोही व्यक्तिले रोपेको बिरुवाअपवादबाहेक नसर्ने र मर्छ । यस बिषयमा पनि अध्ययनको खाँचो छ ।

बाटोको डिल (छेउमा) रोप्ने चलनले चिस्यान कमीका कारण र पीपल आफैं अक्सिजनको स्रोत भएकाले माटोभित्रको तत्वसँग मेल नखाएका कारण बाँच्ने सम्भावना कम भएको हुन सक्छ ।

अन्त्यमा :

पीपल केवल वनस्पतिमात्रै नभई, किरात राई समुदायले सांस्कृतिक, धार्मिक र सामाजिक दृष्टिले अति महत्वपूर्ण मान्छन् । किरात धर्मावलम्बीले प्रकृतिलाई पुजनीय मान्ने भएकाले पीपललाई जीवन, पूर्वज र शक्तिको प्रतीकस्वरूप सम्मान गर्छन् । पीपल सार्दा प्रायः मर्ने प्रमुख कारण प्राकृतिक, जैविक र प्राविधिक त्रुटिसँग सम्बन्धित हुन्छन् । पीपल गहिरो जरावाला रुख हो । त्यसलाई सार्दा जरामा क्षति पुग्यो भने बाँच्न कठिन हुन्छ ।

हिन्दु धर्मअनुसार वरलाई दुलाहा र पीपललाई दुलहीका रूपमा हेरिन्छ । तर, मानिसमा छोरी हुर्काउन सजिलो भएझैं पीपल हुर्काउन सजिलो छैन । त्यसैले पीपललाई वधुका रूपमा अर्थ लगाउन सान्दर्भिक देखिएन । छोरा र पीपल हुर्काउन गाह्रो हुनुमा भौतिक वातावरण, सांस्कृतिक मान्यता र धार्मिक विश्वास समग्रमा प्रकृति, संस्कृति र प्रविधिका कारण हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्