खोला तर्न पनि ३०० रुपैयाँ !


कञ्चनपुर । जिल्लाको वेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणकार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् ।

पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाका बासिन्दा बल्मा नदीमा दैनिक आवतजावत गर्दै आएका छन् । दैजीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणी क्षेत्र जान यो बाटो छोटो दूरीको छ । अहिले यस क्षेत्रमा हुलाकी राजगमार्ग निर्माण भइरहेको छ । बल्मा खोलामा चार वर्षअघि पुल निर्माणका लागि ठेक्का लागे पनि अहिलेसम्म निर्माण सकिएको छैन ।

खोला बढेर तर्न नसकेपछि अहिले सर्वसाधारणले शुल्क तिरी खोला वारपार गर्दै आएका छन् । मानिस, सवारीसाधन र सामान तार्न १०० देखि ३०० सम्म तिर्नुपर्ने अवस्था छ । बेलडाँडीका स्थानीय बासिन्दा जगत चौधरीले खोला तर्न पनि शुल्क तिर्नुपर्ने बाध्यता अझै हट्न नसकेको बताए । लामो दूरी तय गरेर खोलासम्म पुग्दा बाढीको पानी नघट्दा घर फिर्ता हुनुपर्ने अवस्थासमेत बेहोरेकोस्थानीय सियाराम रानाले बताए ।

चार वर्षअघि एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसँग २०७४ पुस २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । त्यसपछि दुई वर्ष म्याद थप गरिए पनि पूरा भएको छैन । महेन्द्रनगरबाट दक्षिण क्षेत्र जाने सवारीसाधन पनि बाढीको समयमा किनारमा थन्किएर राख्ने गरिएको छ । ती सवारीसाधन पानीको सतह घटेपछि मात्रै गन्तव्यतर्फ जाने गरेका छन् ।

कुल ९७ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि ६ करोड ८० लाखमा ठेक्का दिइएको छ । बल्मा खोलाले वेदकोट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्