श्रीमान् प्रकाशक/सम्पादकज्यू
तुवाचुङ डटकम/तुवाचुङ साप्ताहिक
संवाददातापीडित भनेर एगिन्द्र राईले लेखेको पत्रमा तीनबुँदे आरोप लगाइएको छ । एगिन्द्रले संवाददाता भनेर म नवीन चाम्लिङ राईलाई आरोप लगाएका हुन् । उनले संवाददाता भनेर म नवीन चाम्लिङ राईलाई लगाएको तीनबुँदे आरोपबारे प्रस्टीकरण लेख्न बाध्य भएको हुँ ।
आरोप नम्बर १ को प्रस्टीकरण
हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी ऐंसेलुखर्कमा खामाखा खार्चुङ समाज आउनुभन्दा अगाडि चोमोलोङ्मा संस्था जन्मिएको हो । त्यसको कोषाध्यक्षमा म थिएँ । त्यो संस्था दर्ता नभई, समितिका केही साथीहरूले २०७० सालको रामनवमी बजार (हलेसी)मा चोमोलोङ्मा सेवा समाजको आयोजनामा कन्सर्ट गरेका थिए । त्यसबेला म गाउँमा नभएकाले सबै कुरा थाहा भएन । समितिका धेरैजनालाई जानकारी नगराई, कन्सर्ट गरिएको मैले सुनें ।
त्यसबेला हलेसी बजार निरीक्षण गर्न दिक्तेलबाट डीएसपीको टोली झर्दा कन्सर्ट भएको देखेपछि दर्ता नभएको संस्थाले कार्यक्रम गर्दा समितिका अध्यक्ष सूर्य राईलाई प्रहरीले नियन्त्रणमा लिई हलेसी चौकीमा राखेको कुरा सबैलाई थाहा छ ।
त्यसबेला संस्था बेरुजुमा गयो । बेरुजुमा गएपछि संस्थामा भएको पैसा खोजी हुन थाल्यो । मैले सबै कुरा नबुझी कार्यक्रम किन गरेको भनेर प्रश्न गरें । समितिका सबैलाई जानकारी नगराई कन्सर्ट गरिएकाले मैले कोषको पैसा आफैंले राखेको हुँ ।
एगिन्द्र राईले १५ हजार हिनामिना गरेको कुरा उठाएका छन् । १५ हजार रुपैयाँ पनि देउसीमा उठाइएको हो । १५ हजारमध्ये देउसीको खर्च कटाएर जम्मा ९ हजार ३५० रहेको थियो । त्यसबेला भएको खर्च विवरण अहिले पनि हेर्न सकिन्छ ।
बाँकी रहेको ९ हजार ३५० रुपैयाँ सबैको सहमतमा खामाखा खार्चुङ समाजलाई प्रदान गरिएको थियो । उक्त कुरा खाखास परिवारका जोकोहीसँग सजिलै बुझ्न सकिन्छ ।
आरोप नम्बर २ को प्रस्टीकरण
एगिन्द्र राईले कुम्भराजको घडी पचाएको प्रसंग जोडेका छन् । एक समय म व्यावसायिक हिसाबले (घडी, मोबाइल, रेडियो र कम्प्युटर) मर्मत गरेर हलेसीमा बसेको थिएँ । त्यसबेला बनाउन ल्याइएका घडी, मोबाइल, रेडियोलगायतका बनेको नबनेको सामान अहिले पनि मसँग छँदै छन् ।
मैले व्यवसाय छाडे पनि बनाउन ल्याइएका सामान हलेसीमा सुरक्षित राखेको छु । सम्झनेले आफ्नो सामान अहिले पनि लिएर जान सक्छन् । तर, बनाउन ल्याएर पचायो भन्नु कतिसम्मको कुरा हो ?
आरोप नम्बर ३ को प्रस्टीकरण
एगिन्द्र राईले तेस्रो बुँदामा सहकारीको १ लाख लिएर पाँच वर्षदेखि फिर्ता नगरेको आरोप लगाएका छन् । पहिलो कुरा म त्यो सहकारीको सेयर होल्डर हुँ । सहकारीमा समस्या आएको छ । सेयर होल्डरले प्रश्न गर्न थालेका छन् । त्यस विषयमा एगिन्द्रभन्दा हामी सेयर होल्डर चिन्तित छौं ।