सघन वर्षापछि चर्को घाम लाग्न थालेसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । बर्खामा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको बिगबिगी बढेको हो । गत साउनमा मात्रै सर्पदंश उपचार केन्द्र बर्दिवासमा ४० सर्पदंशका घटना घटेका हुन् । विषालु सर्पले डसेर मध्यसाउनयता महोत्तरीमा दुईजनाको मृत्यु भएको छ ।
बर्दिवास–३ गौरीडाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको भीडभाड लागेको छ । गत साउनभरिमै ४० सर्पदंश घटनाका बिरामी उपचारबाट निको भएर घर फर्केका थिए । पछिल्लोपटक जिल्लाकै भंगाहा नगरपालिका–५ राजपुरका मात्रै आठजना उपचारपछि निको भएर घर फर्केका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए ।
भंगाहा–५ मा गत साउनमै एकै दिन १६ जनालाई सर्पले डसेको भए पनि अन्य आठजना सिरहाको बन्दीपुरमा नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा गएका भंगाहा–५ का वडाध्यक्ष शिव महतोले बताए । भंगाहा–५ कै दुईजनाको भने उपचार केन्द्र नपुग्दै गत साउन १५ पछि मृत्यु भएको थियो ।
असार अन्तिम साता र साउन मध्यसम्मको पटक–पटकको मुसलधारे वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस क्षेत्रमा सर्पको बिगबिगी बढेको हो । साउनभरि ४० जना सर्पदंशका बिरामी उपचार गर्न आएकामध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १२ जनाको सफल उपचार भएको केन्द्र अध्यक्ष देवकोटाले सुनाए । अन्य भने भाइबर (सर्पको एक प्रजाति), बिच्छी र खजुराले टोकेका पुष्टि भएको उनको भनाइ छ ।
महोत्तरीको बर्दिवास नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र १४ सर्पको ‘खानी’ नै भएको स्थानीयको आमजनबोली सुन्न पाइन्छ । यसैगरी, जिल्लाका गौशाला, औरही र भंगाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने देवकोटाको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिवासबाहेक अन्यत्र पनि उपचार गर्न जाने हुँदा आफ्नो केन्द्रमा दर्ता भएकाभन्दा निकै बढी घटना हुने गरेका उनले बताए ।
संवत् २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष ६ जना प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएयता एक हजार ४३८ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । तीमध्ये आर्थिक वर्ष २०७६/०७७ मा १६०, आव २०७५/०७६ मा ३१९, आव २०७४/०७५ मा २९६, आव २०७३/०७४ मा २७३, आव २०७२/०७३ मा २७० र आव २०७१/०७२ मा १६५ जना रहेको केन्द्रले जनाएको छ ।
झारफुक गर्ने काम कायमै
सर्पले टोकेका बिरामी हिजोआज पनि अस्पताल पुगेर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ ।
‘सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धामीझाँक्री खोज्ने चलन अझै कायमै रहेको छ,’ केन्द्र अध्यक्ष देवकोटाले भने, ‘महोत्तरीमा ५ प्रतिशत बिरामी पहिला धामीझाँक्री र त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।’ यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले ज्यान गुमाउनुपरेको उहाँको भनाइ छ ।
‘सबै सर्प विषालु हुँदैनन् । महोत्तरीमा ६० प्रतिशतभन्दा बढी ननपोइजनस घटना हुन्छन्,’ उनले भने, ‘ती ६० प्रतिशत बिरामी घरमै बसे पनि मर्दैनन् । यिनै घटनामा धामीझाँक्री र झारफुकको भ्रम पर्छ । विषालु सर्पले टोकेका बिरामीले ज्यान गुमाउँछन् ।’
महोत्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरालगायत विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाप) लगायतका विषालु सर्पले
टोकेका बिरामी धेरै आउने गरेको केन्द्रले जनाएको छ । ‘धेरैजसो घाँस काट्न खेतबारीमा गएका बेला र राति शौचालय जाँदा सर्पले टोकेका घटना धेरै छन्,’ उनले थपे, ‘सावधानी अपनायो भने घटना कम घट्न सक्छन् ।’